धुलिखेल– नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले काभ्रे जिल्लामा रहेको काठमाडौं विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन गरेका छन् । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौँ विश्वविद्यालयले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाल आयुर्वेदमा धनी मुलुक भएपनि योग विज्ञान र प्राकृतिक चिकित्सालयको क्षेत्रमा काम गर्न नसकेको बताउँदै नेपालमा उपचार पद्दती धेरै महङ्गो भएको नागरिकहरुले उपचार गराउन सक्ने अवस्था नरहेको बताए ।
मानिसलाई बिरामी नहुनका लागि योग विज्ञान तथा प्राकृतिक चिकित्सा एउटा माध्यम हुने भएकोले आम नागरिक आफु स्वस्थ हुन दैनिक एक घण्टा आफ्नो लागि समय निकालेर व्यायाम गर्नुपर्नेमा बस्नेतले जोड दिए ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै केयूका उपकुलपति प्रा.डा. भोला थापाले योग तथा प्राकृतिक चिकित्सालय सुरु गरेसँगै विश्वविद्यालयले अन्तर्राष्ट्रियकरणका लागि अर्को एउटा पाइला अघि बढाएको दावी गरे । पूर्वीय दर्शनको स्वास्थ्य पद्धतिका आधारमा योग तथा प्राकृतिक चिकित्साको प्राज्ञिक उन्नयनका साथै प्राप्त शिक्षालाई प्रयोगात्मक एवं अनुसन्धानात्मक रूपमा अध्यापन गराउन प्राकृतिक चिकित्सालयले अहम् भूमिका खेल्ने थापाले बताए ।
उनले विश्वविद्यालयले बुद्धिस्ट स्टडिज विषयको अध्यापन सुरु गरेपछि विश्वका विभिन्न मुलुकबाट त्यस विषयको अध्ययन गर्न नेपालमा आएझैँ योग तथा प्राकृतिक चिकित्सा विषयले पनि विश्वमा राम्रो प्रभाव छाड्ने बताउँदै योग शिक्षा मार्फत पशुपति र तिरुपतिलाई जोड्न तिरुपति स्थित भारतीय संस्थासँग सम्झौता समेत भएको जानकारी दिए ।
विश्वविद्यालयले सञ्चालनमा ल्याएको सा् चिकित्सालय पनौती नगरपालिका–५ चौकोटमा स्थापना गरिएको छ । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा सेवा प्रदान गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















