तेमाल– वागमती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले हरेक शिर्षकमा खर्च गर्दा तेमाली जनताको सुख दुःख बुझेर खर्च गर्न आग्रह गरेका छन् । गाउँपालिकाको १३ औं अधिवेशनलाई उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री लामाले यस्तो आग्राह गरेका हुन् ।

५ वर्षको लागि जनताले चुनेर पठाएकोले जनताको मन बुझेर काम गर्न समेत तेमालका जनप्रतिनिधिहरुलाई उनले अनुरोध गरे । ‘तपाईंहरु ५ वर्षको लागि जनताले चुनेर पठाएको छ ।

तेमालको जनताले सराप्ने ठाउँमा पुग्नु नपरोस ।’ मन्त्री लामाले भने, ‘तपाईं एक कप चिया पिउँदा, एक बोतल पानी पिउँदा, गाडीमा तेल हाल्दा किन नहोस्, तेमाली जनताको सुख दुःख बुझेर खर्च गर्नुपर्नेछ । अत्यन्त पारदर्शी ढंगले काम गर्न म अनुरोध गर्दछु ।’

जनप्रतिनिधिहरुले ठूलो अवसर पाएको बताउँदै जनताको जीवनमा केही न केही परिवर्तन हुने काम गर्न सकेन भने इतिहास मधुरो हुने लामाले बताए ।

तेमालको समृद्धिको लागि राजनीतिक यात्रामा भएको हिजोको तिता मिठा कुराहरु विर्सेर अगाडि बढ्न जरुरी बताउँदै मन्त्री लामाले सोच्ने कुराहरुमा फराकिलो बनाउन आग्रह गरे ।
यसैबीच सम्बोधनकै क्रममा लामाले तेमाल गाउँपालिकामा वागमती प्रदेश सरकारले तेमालमा साँढे १७ करोड बजेट विनियोजन गरेको बताए ।

‘वागमती प्रदेश सरकारले यो गाउँपालिकालाई मात्र साँढे १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सिंचाई, खानेपानी, भौतिक पूर्वाधार, सामाजिक विकास या वन सबै मन्त्रालयबाट साँढे १७ करोड बजेट बिनियोजन भएको छ ।’ मन्त्री लामाले भने, ‘साँढे ६ करोड सिंचाईको लागि, लगभग ५ करोड जति खानेपानीको लागि बजेट छुट्याएको छ । २ करोड जति बाटोको लागि छुट्याएको छ ।’

उनले बजेट पर्नु ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन गर्नु ठूलो कुरा भएको र पारदर्शी ढंगले कार्यान्वयन गर्नु आफूहरुको दायित्व भएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।