डिलबहादुर थाेकर
तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको १३ औं गाउँ अधिवेशन आइतबारबाट शुरु भएको छ । वागमती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाले गाउँ अधिवेशनको आज एक समारोहका बीच उद्घाटन गरेका थिए ।
उद्घाटन सत्र सकेपछि गाउँसभा शुरु भएको थियो । गाउँसभा शुरु भएपछि गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मत पारित समेत गरेको थियो । गाउँपालिकाकाे बजेट भने फेरि १४ गते हुने गाउँसभाकाे बैठकमा प्रस्तुत गरिने उपाध्यक्ष दलमान थाेकरले जानकारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष तामाङले नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रलाई समेटेका छन् ।
यस्तो छ शिक्षा क्षेत्रमा लिएका नीति
अध्यक्ष तामाङले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको ब्यवस्था मिलाइने उल्लेख छ ।
त्यसैगरि विद्यालय बाहिर रहेका र बिच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिने नीति रहेको छ ।
‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी तथा निजी क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने अध्यक्ष तामाङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममा अध्यक्ष तामाङले बहुसाँसकृतिक संग्राहलयको विकास गर्ने नीति लिएको छ । ‘गाउँपालिका लाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता कथmदय िहरु निर्माण गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।’
यसैबीच गाउँपालिका भित्र आयोजना हुने कार्यक्रहरुमा विविध जातीय भेषभुषा, कला साहित्य, संगित लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइने भएको छ ।
त्यस्तै तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकले तामाङ समुदायको पहिचान झल्किने गरी सर्वजानिक, निजि तथा समुदायको सझेदारीमा एक अन्तराष्ट्रिय तामाङ साँस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य तथा नीति लिइएको छ ।
स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
अध्यक्ष तामाङले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेका छन् । तामाङले स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँ गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनस्र्थापन सेवालाई सहज र नियमित बनाइने नीति राखेका छन् ।
तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाइने, गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उलब्ध गराउने, नसर्ने रोग नियन्त्रणका लागि परिक्षण र उपचारको व्यवस्थालाई निरन्तरता दिइने, नागरिकहरुलाई मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
भौतिक पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम
अध्यक्ष तामाङले गाउँपालिका तथा वडा कार्यालयहरु जोड्ने रणनीतिक सडकहरु निर्माणमा निरन्तरता दिने भएको छ । आर्थिक वर्ष २०७९।०८० मा ९ वटै वडाबाट पालिका जोड्ने सडकहरुलाई रणनीतिक सडकको रुपमा अघि बढाएर बजेटको व्यवस्था गरेको थियो ।
त्यसैगरि पूर्वाधार निर्माणका आयोजनाहरु संचालन गर्दा लागत(लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामुलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी “आयोजना बैंक” तयार गरिने र सो बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिका को भूउपयोग क्षेत्र निर्धारण गरी वस्ति विकास योजना सहित भौतिक विकास गुरूयोजना तयार गरी आवास तथा वस्ति विकास, भवन तथा सार्वजनिक निर्माण लगायत पूर्वाधार निर्माण कार्य ब्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिनेछ ।
यसैबीच नीति तथा कार्यक्रममा आवासीय भवनमा ‘एक घर एक विरुवा नीति’ लाई निरन्तरता दिइएको छ ।
सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिने उल्लेख गर्दै विज्ञापन तथा सूचनामा स्थानीय सञ्चार संस्थाहरुलाई प्राथमिकता दिने उल्लेख छ । ‘स्थानीय सञ्चार गृहहरुको सुदृढिकरण गर्दै संचार संस्था र गाउँपालिका को सहकार्यमा जनहितकारी सूचनाहरु सम्प्रेषण गर्ने, गाउँपालिकाका निर्णय तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिइनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विज्ञापन तथा सूचनामा स्थानीय संचार संस्थाहरुलाई प्राथमिकता दिइनेछ ।’
कृषि तथा पशुपंक्षी सम्बन्धी नीति तथा कार्यक्रम
अध्यक्ष तामाङले कृषि तथा पशुपंक्षी क्षेत्रको विकासको लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेका छन् ।
गाउँपालिकाले उच्च मुल्यका फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा ब्यावसायिक कृषि कार्यक्रम संचालन गरिने, रैथाने बालीहरुको विउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने, गाउँपालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकारको ब्राण्डको रुपमा त्यस्तो खाना उपलब्ध गराइने लगायतका नीति लिएको छ ।
त्यसैगरि कृषि उपजको आयात प्रतिस्थापनको नीति लिई कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउदै व्यवसायीकरण गरिने, गाउँपालिका भित्रका कृषकहरुको खण्डिकृत र वर्गिकृत एवं विस्तृत तथ्यांक आधार निर्माण गरिने, उत्पादन लागत, थोक तथा खुद्रा मुल्य विश्लेशण गर्दै विचौलियाबाट उत्पादकमाथि हुने ठगी तथा शोषण नियन्त्रणका लागि मुख्य कृषि उपजको गाउँपालिका भित्र समर्थन मुल्य निर्धारण गरिने, बजारमा हुने मागको जोखिमलाइ न्यूनीकरण गर्न ब्यावसायिक कृषकका लागि तोकिएको मुल्यमा बजार व्यवस्थापन गर्न सहयोग गरिने, व्यावसायिक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजार, सित भण्डार तथा गोदाम घरहरुको पूर्वाधार निर्माण गरिने, मासु पसलहरुको पूर्वाधार स्तरोन्नती गरी स्वास्थ्य मापदण्डमा आधारित तुल्याइने लगायतका नीति बनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















