पनौती– काभ्रे जिल्लाको पनौती नगरपालिको नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको अवरोध पछि स्थगित भएको छ । नगरसभा सञ्चालन सम्बन्धी नीतिलाई समेत ‘बेवास्त गर्दै’ नगर उपप्रमुख गीता बञ्जाराले अमर्यादित व्यवबहार देखाएपछि नगरसभा नै स्थगित हुन पुगेको हो ।

नगर प्रमुख रामशरण भण्डारीले नगरसभामा नगर विकास नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा उपप्रमुख बञ्जाराले माइक नै खोस्न पुगेका थिए । ‘मेरो केही कुरा छ’ भन्दै बञ्जाराले माइक तिर झम्टिन पुगेपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु जरकजुरुक उठेर बञ्जारालाई साथ दिएका थिए ।

नगर सभाको मर्यादा अनुसार सभाध्यक्षसँग समय मागेर उचित समयमा बोल्नुपर्ने मान्यता रहेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोको छलफलको क्रममा मात्र सभाध्यक्षसँग अनुमति मागेर बोल्नुपर्ने हुन्छ । तर उपप्रमुख बञ्जाराले भने त्यो मान्यतालाई लत्याइएको आरोप छ ।
माइक खोसेपछि केही नबोली नगरसभा बहिस्कार गरेको थियो । त्यसपछि उनीहरु बैठक स्थल छोडेर बाहिरिएका थिए ।

बैठक बहिस्कार गरेपछि नगर प्रमुख भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि नगरसभा स्थगित गरेका छन् ।

शपथ ग्राहण कार्यक्रमदेखि नै एमालबाट निर्वाचित जनप्रतिनिधिले ‘बहुमत’ भएको पार्टीलाई औपचारिक छलफल र सल्लाह नगरी कार्यक्रम गरिएको भन्दै सपथग्रहण नै बहिष्कार गरेको थियो ।

एमाले जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि नगर प्रमुख भण्डारीले लोकतन्त्र र विधिको शासनमा संकल्प गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरवासीहरु र सभाका सदस्यहरुलाई आव्हान गरेका छन् । असहमतिकोबारेमा छलफल गरेर निकास निकाल्ने भणडारीले बताए ।

‘किन सभा चल्न दिनुभएन भन्ने त्यो उहाँहरुले जान्ने कुरा भयो, कर्मचारीको संगठन संरचना, वृति विकासको बारेमा उहाँहरुले कार्यपालिका बैठकमा नै विमती राख्नुभएको थियो ।,’ उनले भने, ‘सोही कारण बैठक चल्न नदिएको हो भने ती असहमतिका बारेमा हामीले छलफल गरेर निकास निकाल्छौं ।’

नगर प्रमुख भण्डारीले पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृद्ध नगरका रूपमा विकास गर्न चाहेका भन्दै लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु जडिबुटि, धार्मिक स्थल र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहेको बताए ।

युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको भन्दै उनले एक वर्षको अवधिमा कहिले पनि कसैसँग सम्झौता नगरेको, नगरवासीको शीरलाई कहिले पनि झुक्न नदिएको र नदिने बताए । चुनौतीहरुको सामना र अवसरहरुको सदुयोग गर्दै पनौती नगरलाई समृद्ध नगरका रूपमा रुपान्तरण गर्ने अठोट व्यक्त गदै उनले नगरका राजनीतिक दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीको साथ र सहयोगको याचना समेत गरेका छन् ।

पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई टोलगत रुपमा कार्यान्वयन गर्दै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरूको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको भन्दै यसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्ने औल्याए ।

प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उनले आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अवरुद्ध गरिएको बताएका छन् । नगरवासीको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एवम् विकास निर्माणलाई उत्पादनसँग जोड्ने अभियानलाई निरन्तर रुपमा छायामा पार्न खोजिएको भन्दै उनले चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु जनप्रतिनिधीको दायित्व भएको औल्याए ।

उपप्रमुख गिता वञ्जाराले आफूले कहिले पनि बहुमतको दम्भ नदेखाएको बताइन् । नगर प्रमुखले बैठक बोलाए पछि आफू उपस्थित हुने उनले बताइन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।