तेमाल– असार १५ गते मुलुकभरि धान दिवस मनाउँदै आएको छ । आज पनि देशैभरि २० औं धान दिवस उल्लासपूर्ण ढंगले मनाए ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पनि आज धान दिवस मनाएको छ । वडा नं. ९, भण्डारीबेसीका किसानहरुसँग गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले रोपाईं गरेर धान दिवस मनाएका छन् ।

‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पानमा बृद्धि’ भन्ने मूल नाराका साथ गाउँपालिका कृषि शाखाले आयोजना र श्री छारह्युल कृषि सहकारी संस्थाकाे व्यवस्थापनमा भएकाे साे कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले नेतृत्व गरेका थिए ।

अध्यक्ष तामाङको साथमा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, जिल्ला समन्वय समिति सदस्य रस्मिता भण्डारी, कृषि शाखा प्रमुख कुलदीप पहाडी, लेखा शाखा प्रमुख सूर्य त्रिपाठी, प्राविधिक शाख प्रमुख ई. रामप्रसाद पौडेल, श्री छारह्युल कृषि सहकारी संस्था अध्यक्ष सूर्यबहादुर तामाङ, सचिव ङेमादाेर्जे थाेकर, व्यवस्थापक पासाङदाेर्जे थाेकर लगायत पत्रकारहरु समेत पुगेका थिए ।

रोपाईं कार्यक्रममा अध्यक्ष तामाङले किसानहरुलाई हौसला दिन र किसानहरुको वास्तविक समस्या बुझ्न धान दिवसले आफूहरुलाई टेवा पुगेको बताए । नयाँ आर्थिक वर्षको लागि किसानमुखी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको तामाङले जानकारी दिए ।

यसैबीच उपाध्यक्ष थोकरले कृषिलाई आधुनिकिरण, यान्त्रीकरण र व्यवसायी करणमा गाउँपालिकाले जोड दिएको बताए । हालै मात्र हाते ट्याक्टर लगायतका सामाग्रीहरु किसानहरुलाई अनुदानमा वितरण गरेको स्मरण गराउँदै अब तेमालमा उत्पादन बढाउन गाउँपालिकाले बजेटको समेत व्यवस्था गरेको बताए ।

रोपाईंमा स्थानीय जनताको समेत उत्साहपूर्ण सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















