तेमाल– प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले तेमाल गाउँपालिकामा युवाहरु नेतृत्वमा आएपछि तेमाल समृद्धिको दिशा तिर गएको दावी गरेका छन् । विहिबार तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को गाउँसभाको १३ औं गाउँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद दोङले यस्तो दावी गरेका हुन् ।

सहकार्य र सहमतिको बाटोमा सधैं अघि बढ्न तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै दोङले सहमतिले मात्र समृद्धि सम्भव रहेको बताए ।

उनले तेमालको रणनीतिक योजनाको रुपमा विद्युतिकरणको कार्य सम्पन्न भएको बताउँदै बृहत खानेपानी योजना पनि अन्तिम चरणमा पुगेको बताए । अर्को रणनीतिक योजना भकुण्डे–मेच्छे सडक पनि अब पिचको प्रक्रियामा अघि बढेको बताए ।

यी सबै योजनाहरु सबै दल र जनता मिलेर सम्भव भएको उनले बताए ।

सांसद दोङले सुनकोशी तेस्रो जलविद्युत बन्ने पक्का भएको बताउँदै निर्माण भएपछि तेमालमा विकासको ठूलो फड्को मार्ने बताए ।

सांसद दोङले तेमालमा अलपत्र परेको भ्यु टावर, बन्दै गरेको तामाङ संग्रहालय, अघि सार्दै गरेको अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र निर्माणमा संघ सरकारबाट सहयोग रहने प्रतिवद्धता जनाए ।

कार्यक्रम पछि दोङले तामाङ संग्रहालय, प्रदेश स्तरीय रंगशाला लगायतका निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।