रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११, कालोढुंगामा निर्माणाधिन अवस्थामा रहेको डम्फू जिवन्त संग्रहालयमा निर्माण भएको डम्फूमा चरी नराखेपछि पूर्व वडा अध्यक्ष मिलनकुमार तामाङले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले चिन्ता मात्र व्यक्त गरेका छैनन्, गाउँपालिकालाई जवावदेही बन्न अनुरोध समेत गरेका छन् ।

तत्कालीन गाउँपालिका अध्यक्ष डिबी लामा र ११ नं. वडा अध्यक्ष तामाङको योजना र पहलमा सो संग्रहालयको काम अघि बढेको थियो । विशेष गरि तामाङ समुदायका ऐतिहासिक तथा साँस्कृतिक बाजाको रुपमा परिचित डम्फूले एकातिर इतिहास जिवित रहने र अर्को तिर पर्यटन विकासमा टेवा पुग्ने देखेर यो संग्रहालयको परिकल्पना गरेका थिए ।
हाल निर्माणाधिन अवस्थामा रहेको डम्फूमा चरी नराखेपछि डम्फूको आकृतिले जे अर्थ पनि लगाउन सकिने भन्दै तामाङले चिन्ता व्यक्त गरेका छन् ।
उनले खिचेको फोटो र भिडियो समेत फेसबुकमा पोष्ट गर्दै तामाङले जानीजानी नियतवस चरी छुटाएको उनको दावी छ ।
‘पहिलो चरणको ठेक्कामा यो चरी छुटिएको मेरो बुझाई हो थियो । तर लगातार थप दुई चरणको ठेक्कामा छुटिएको जानाजान नियतवश हो जस्तो लाग्छ । चरी बिना यो आकृतिलाई जे अर्थ पनि वा अरु नै अर्थ पनि लगाउन सकिन्छ । पछिल्लो घटना क्रमले झन संशय थपिएको छ ।’ तामाङले लेखेका छन्, ‘रोशि गाउँपालिका सम्बन्धित निकायलाई तत्काल यो बिषयलाई किन, कसरी ? के कारणवश यो हुँदैछ जवाफदेहिता हुन सक्नु पर्यो । तत्काल यो थप काम यहि आर्थिक बर्ष सँगै सकिने गरि गराउनु हुन अनुरोध गर्दछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















