सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन भएको प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार कार्यविधि निर्माण गरी सो कार्यक्रम कार्यान्वयन गरिने छ । ‘इन्द्रावतीका विभिन्न स्थानमा औषधी र कपडा उत्पादनका लागि गाँजा, सनपार्ट तथा लोक्ता उत्पादन हुने गरेको छ । गाँजा प्रयोगमा पालिकाले प्रत्याहन दिन खोजेको होइन । गाँजाबाट बन्ने कपडा उत्पादनमा वृद्धि गर्न पालिकाले कृषकहरूलाई प्रोत्साहन उपलब्ध गराउने तयारी भएको हो,’ उनले भने ।

इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियत ऋणसँगै उद्योग दर्ता शुल्क समेत मिनाहा गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको प्रशासकीय अधिकृत शर्माले बताए । विदेशबाट फर्किएका युवाहरूलाई शैक्षिक प्रमाण पत्रका आधारमा ५ लाख रुपैयाँसम्म सहुलियत ऋणको दिने व्यवस्था गरिएको उनले बताए । पालिकाले सामूहिक खेती, कृषकहरूलाई उत्पादनमा आधारित भई अनुदान वितरण, दुग्ध उत्पादक कृषकका लागि प्रति लिटर ४ रुपैयाँ अनुदान, एक वडा एक उत्पादन, एक वडा एक नर्सरी, एक वडा एक अग्र्याकिन कृषि फर्म, पशु तथा कृषि बाली बिमा लगायतका कार्यक्रम कार्यान्वयन गर्ने उनको भनाई छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।