रोशी– काभ्रेको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाका उत्कृष्ट तीन जना विद्यार्थीहरुलाई नगद प्रदान गरेको छ । गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने तीन जनालाई सोमबार ५० हजार रुपैयाँ नगदले पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेमा रोशी गाउँपालिका वडा नं. ६ स्थित हरिसिद्धि माविमाको प्रशान्त तामाङ (३.७० जीपीए) र वडा नम्बर ११ को पोक्रा माविका छात्राहरू हिमानी तामाङ र संगीता राय (३.५५ जीपीए) रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनेश लामाले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

पालिकाभित्र उत्कृष्ट ३ जना विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप पालिकाले ५० हजार रुपैयाँबाट पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । यो कार्यले विद्यार्थीहरुलाई पढ्नका लागि प्रोत्साहन मिल्ने समेत उनको दावी रहेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य मिमबहादुर वाइबा, ७ नं. वडा अध्यक्ष अशोक गौतम, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामा लगायतका सहभागी थियो ।

शैक्षिक सत्र २०७९।८० मा यस गाउँपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयबाट विद्यार्थीहरुले एसइई परिक्षा दिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।