तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङले आफू विरुद्धको प्रचारबाजी कपोलकल्पित र भ्रामक रहेको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।
आफूले अघिल्लो कार्यकालको जनप्रतिनिधिले ५ वर्षमा गर्न नसकेको काम १ वर्षभित्रै गरेको दावी गर्दै विकास भएको देख्न नचाहने केही राजनीतिक दलका नेता र कार्यकर्ताहरु आफू विरुद्ध सुनियोजित र योजनाबद्ध लागेको तामाङले आरोप लगाएका छन् ।
उनले आफूलाई भ्रष्टाचार गरेको पुष्टि गर्न समेत चुनौती दिदै सम्बन्धित निकायले छानविन गरे आफू सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
वडा अध्यक्ष तामाङले विज्ञप्तिमा भनिएको छ, ‘तेमाल गाउँपालिका वडा न. २ को वडा अध्यक्षको नाम लिएर केहि मिडिया मार्फत तेमाल गाउपालिका वडा नं. २ को रणनीतिक सडक कोटतेमाल लौखानी छापडांडा डांडागाउ सौराडाँडा पाथुम चुखावेशी सडक र कोटतेमाल लौखानि छापडाँडा वडा कार्यालय सडक योजना अन्तर्गत आर्थिक वर्ष २०७९।०८० को वडा स्तरीय, बागमती प्रदेश स्तरीय र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको बजेटको प्राविधिक लागत स्टमेट अनुसार कार्य सम्पन्न भई यस सडकमा बाह्रै महिना सवारीसाधन निर्धक्क आवातजावत गर्न सकिन्छ भनी तेमाल वडा नं. २ लगायत छिमेकी वडाहरुको आम जनसमुदायहरु खुशी हुँदाहुँदै पनि यस सडकलाई राजनैतिक मुद्दा बनाई भ्रामक र कपोलकल्पित प्रचार गरिएकोमा घोर आपत्ति एवं भत्र्सना गर्दछु । अघिल्लो कार्यकालको वडा कार्य समितिले ५ वर्ष भित्रमा गर्न नसकेको विकास योजनाको कामहरु हामीले १ वर्ष भित्रमा गरेर देखाउँदा केही विपक्षी दलका नेता कार्यकर्ताहरु अत्तालिएर मलाई बदनाम गर्ने कोसिस भई रहेको छ । यस योजनामा वडा अध्यक्षले एक पैसा हिनामिना भ्रस्टाचार गरेको प्रमाण सहित पुष्टि गरि दिनको लागि मेरो खुट्टा तान्ने व्यक्तिहरुलाई अनुरोध छ । सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा छानबिनको लागि साथ साहयोग गर्न प्रतिबद्ध छु । धन्यवाद ।’
सुनियोजित प्रचार गरेको आरोप
यसैबीच २०७४ सालमा एमालेले जितेको यस वडामा तामाङ वडा अध्यक्ष भएपछि विकास निर्माणले निक्कै गति लिएको स्थानीयहरुले बताएका छन् । सत्ता गठबन्धन दल एकीकृत समाजवादीका कार्यकर्ताहरुलाई प्रयोग गरेर एमाले कार्यकर्ताहरु झुट्टा प्रचारमा लागेको स्थानीय बताउँछन् ।
गएको स्थानीय निर्वाचनमा पराजित भएपछि एमाले र एकीकृत समाजवादीका केही कार्यकर्ताहरुले योजनाबद्ध रुपमा विकास निर्माणका विरुद्ध लागेको बताएकाछन् ।
वडा अध्यक्ष तामाङ माथि तीन वटा योजनाको एउटै भुक्तानी दिएको एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरुको आरोप छ । पूर्वाधार विकास कार्यालयमा दिएको निवेदन दर्ता भएपनि अख्तियार दुरुपयोग आयोगमा दर्ता भएको भनिएको पत्र भने कम्प्युटरमा टाइप गर्दागर्दैको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएको देखिएको छ ।
एकैसाथ दुई पत्र र एमालेको विज्ञप्तिले उनीहरु योजनाबद्ध नै लागेको पुष्टि भएको स्थानीयले बताएका छन् ।
एमाले तेमाल गाउँ कमिटीका अध्यक्ष इन्द्रमान तामाङले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै छानविन गर्न माग गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















