ललितपुर बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गरेका छन् । केन्द्रीकृत मानसिकतामा बन्दै आएका संघीय नीतिलाई संघीयताको मर्म र भावना अनुसार अगाडि बढाउन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले संघीय सरकारलाई आग्रह गरेका हुन् ।

सञ्चार रजिष्ट्रार कार्यालयद्धारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधवार बिमोचन गर्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा बिज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताए ।

साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उनले बताए ।

‘त्यसो हुँदा संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यहि संयन्त्र भित्र ल्याउन उपयुक्त हुन्छ । बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित बिषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ ।’ उनले भने, ‘संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछौ । सूचना प्रविधिको बिकास र यसले निम्त्याएका चुनौतीको सामना एक्लै गर्न सकिन्न, प्रदेश,स्थानीय तह र संघ मिलेर नै सामना गर्नु पर्ने हुन्छ । त्यो दिशामा हामी काम गर्नेछौ ।’

कार्यक्रममा आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए ।  ‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् तर यस्ता चुनौतीसँग भागेर अगाडि बढने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन् ।’ सञ्चार रजिष्ट्रार सापकोटाले भने, ‘नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित बिषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो । यो पुस्तकले साइबर सुरक्षाका बारेमा जान्न चाहनेहरुका लागि भोक जगाउँछ, उत्सुकता जगाउँछ । जुनसुकै पेशा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी छ । ̓

साइबर सुरक्षाको चुनौती बढिरहेको वेला सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नागरिकलाई सुसुचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको छ ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताउनुभयो । यस्ता प्रकाशनले प्रादेशिक संरचनालाई बलियो बनाउन मद्दत पुरयाउन सक्ने उनले बताए ।  ।

साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धता जस्ता बिषय पुस्तकको साइबर सुरक्षा खण्डमा रहेको छ ।

साइबर अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमणलाई पुस्तकमा पहिल्याउने कोशिस गरिएको छ । पुस्तकमा साइबर अपराधका बहुआयामिक, प्राविधिक, मानवीय,भौतिक र तेस्रो पक्षको चुनौतीलाई केलाउने प्रयास गरिएको छ ।

सुरक्षाका अवधारणा तथा औजारको रुपमा एन्टिभाइरस, क्लाउड एन्टिभाइरस, सुरक्षा फायरवाल, इन्क्रिप्सन र डिक्रिप्सन, डिजिटल हस्ताक्षर, डिजिटल फोरेन्सिकलाई पुस्तकमा प्रस्तुत गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।