खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण व्यवसायी, डोजर अपरेटर र महिला स्वास्थ्य स्वयंसेविका लगायतका रहेका छन् ।

गाउँपालिकाले एक कार्यक्रमबीच उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थी, आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट काम गर्ने निर्माण व्यवसायी र डोजर अपरेटर तथा ६० वर्ष नाघेका महिला स्वयसेविकालाई नगदसहित सम्मान र विदाइ गरेको हो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले शैक्षिक गुणस्तरमा सुधारसँगै वृद्धि होस्, उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन मिलोस र एसईईको तयारीमा रहेको विद्यार्थीमा हौसला मिलोस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको बताए । उनले विज्ञान, शिक्षा, प्राविधिक जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने सुझाव दिदै सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिए ।

गाउँपालिाका उपाध्यक्ष दोर्जेमान जिम्बाले उत्कृष्ट अंक ल्याउने जनविकास माविकी प्राश्ना तिमसिल्ना, कुमारी माविका पासाङ योञ्जन र शारदा माविका सुजन वि.क.लाई सम्मान गरेका थिए । एसईईमा प्राश्नाले ३.४५ जिपिए ल्याएकी छन् । उनले गाउँपालिकाभरमै उत्कृष्ट नतिजा ल्याएकी हुन् । त्यस्तै पासाङ र सुजनले समान ३.३५ जीपीए ल्याएका छन् । खानीखोला गाउँपालिकामा ८ वटा मावि रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले विद्यार्थीहरु भविष्यका कर्णाधार र नेतृत्व रहेकाले अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका ३ विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रति व्यक्ति ५ हजार रुपैँया प्रदान गरेसँगै आमामी दिनमा समेत आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाइएको छ ।

त्यस्तै गाउँपालिकाले आ.व. २०७९÷०८० मा उत्कृष्ट काम गरेबापत दुई कम्पनीका ठेकेदार सम्मानित भएका छन् । जसमा सम्मानित हुनेमा त्रिवेणी–कोदोखोरीया–देउराली सडक खण्डमा काम गरेका जिडिपी कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी पेमा दोर्जे शेर्पा र ताल्ढुंगा–सक्रेदोभान सडक खण्डमा काम गरेका सुस्मा कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी मुकुन्दप्रसाद गौतम सम्मान गरेको छ ।

त्यसैगरी खानीखोला करिडोर योजनामा उत्कृष्ट काम गरेका अपरेटर अम्मर श्रेष्ठ र रोशन गोले सम्मानित भएका छन् । श्रेष्ठले ताल्ढुंगा–सक्रेदोभान सडक खण्ड र गोलेले स्यार्ते–जन्ते सडक खण्डको अत्यन्तै जटिल भीर रहेको ठाउँमा नयाँ ट्रयाक् खोल्ने काम गरेका थिए । सम्मानित विद्यार्थी, ठेकेदार र अपरेटरलाई गाउँपालिका अध्यक्ष थिङले कदरपत्र, उपाध्यक्ष जिम्बाले दोसल्ला र प्रमुख प्रशासकीय अधिकृत भुजेलले अविर लगाएर सम्मान गरेका थिए ।

गाउँपालिका अध्यक्ष थिङले गाउँपालिकाले लिएको लक्ष्य प्राप्तीमा पालिकाको गौरवको आयोजनाहरुमध्ये उत्कृष्ट काम गर्न सफल रहेबापत ठेकेदार र अपरेटरलाई सम्मान गरेको बताए । उनीहरुले तोकिएको समयसीमाभित्र मापदण्डमा रहेर उत्कृष्ट काम गरेको उनको भनाई छ । उपाध्यक्ष जिम्बाले यस्तो खालको सम्मानले आमागी वर्षहरुमा ठेकेदार र अपरेटरलाई अझ राम्रोसँग काम गर्नु पर्छ भन्ने जिम्मेवारी बोधसँगै हौसला मिल्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णुबहादुर अधिकारीले उच्च शिक्षाको लागि गाउँपालिका बाहिर हुँदा सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका विद्यार्थीको नगदसहितको पदर पत्र आदि उनका अभिभावक तथा विद्यालयका प्रधानध्यापक वा सम्बन्धित वडाको वडा अध्यक्षमार्फत् पु¥याउने गरी हस्तान्तरण गरिएको जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।