सर्वोच्च अदालतले विगतको स्टेअर्डर खारेज गरेलगत्तै आज ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएर यसअघि छाडिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन मालपोत अधिकृत कलाधर देउजालाई पक्राउ गरेको छ।
आज उनलाई आफ्नै निवास कामठाडौँबाट पक्राउ गरिएको सिआइबरीका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। अन्य आरोपीहरुको समेत खोजी जारी रहेको जनाइएको छ।
सिआइवीका प्रमुख, एआइजी किरण बज्राचार्यले केहीअघि मात्रै थाहाखबरसँगको कुराकानीमा सर्वोच्चको आदेश लगत्तै उनीहरुलाई पक्राउ गर्ने बताएको केही घण्टा नवित्दै देउजा पक्राउ परेका हुन्।
तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १७ जनाले प्रहरीलाई प्रतिवादी बनाएर थुनाबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग लिएर सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले २०७९ साउन १९ गते उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्नेगरी स्टेअर्डर दिएको थियो।
आज न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको थियो। रिट खारेज भएसँगै उनीहरुलाई पक्राउ गरेर ल्याउन सिआईबीको टोली सक्रिय भएको थियो।
त्यही रिटका कारण अघिल्लो महिनामा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन मालपोत अधिकृत कलाधर देउजा (आज पक्राउ परेका), कर्मचारीहरु हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई कागज गराएर छाडिएको थियो। सर्वोच्चले बाटो खुलाइदिएपछि उनीहरु समात्न टोली परिचालन भएको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















