नमोबुद्ध– काभ्रे जिल्ला नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले १५ सय घरधुरीलाई जाडोमा ओढ्ने कम्बल वितरण गरेका छन् । वडा नं. १ स्थित ठाङ्कु टासी ह्याङ्चे गुम्बाका संस्थापक गुरु ठाङ्कु रेन्पोछेको स्मृतिमा वडा नम्बर १ र ११ का १५ सय घरधुरीलाई कम्बल वितरण गरेका हुन् ।

गुरु रेन्पोछेको शीघ्र पुनर्जन्म होस् भन्ने कामना सहित उनको स्मृतिमा उक्त दान गरिएको गुम्बाका सचिव दोर्जे टासी लामाले जानकारी दिए । गुरु रेन्पोछेको ९१ वर्षको उमेरमा जेठ २१ गते निधन भएको थियो ।

कम्बल वितरण गर्दै प्रमुख कुनसाङ लामाले शोकलाई पनि सामाजिक कार्यमा जोडिएको भन्दै प्रशंसा गरे ।

कम्बल वितरण कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर तामाङ, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वडा नम्बर १ का पूर्व अध्यक्ष कर्मग्याल्वो लामा, वडा नम्बर १ र ११ का वडा सदस्यहरू ठाङ्कु टासी ह्याङ्चे गुम्बाका पदाधिकारी, सहयोगी र स्थानीयको उपस्थिति थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।