काठमाडाैं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गरेका छन् ।
४१ औँ बीपी कोइराला स्मृति सप्ताहका सन्दर्भमा मङ्गलबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा मन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममै नेताहरूको सम्पत्ति छानबिन गर्ने भएकाले यसका निम्ति आयोग गठन गर्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्ने सन्दर्भमा काम अघि बढाउन आग्रह गरेको बताए । उनले भने “मन्त्रीको हैसियतले प्रधानमन्त्रीलाई आग्रह गरेको छु। एकपछि अर्को फाइल खोल्दै जाने हो, जो पर्छन् पर्छन्। भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो।”
मन्त्री गुरुङले नीति तथा कार्यक्रममा आएकाले नेपाल सरकारले ढिलो चाँडो उच्च तहका नेताको सम्पत्ति छानबिन आयोग गठन गरेरै छाड्ने बताउनुभयो। साथै उहाँले कांग्रेसभित्रको रूपान्तरणको विषय सिद्धान्त, नीति र व्यवहारबाट हुनुपर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















