काठमाडौँ– गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई कारबाहीको लागि निर्देशन जारी भएको छ । राष्ट्रिय सतर्कता केन्द्रको सचिव स्तरीय बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सो निर्देशन दिएको हो ।
‘गोरखापत्र संस्थान न्युरोड कार्यालयमा कार्यरत कार्यकारी अध्यक्ष श्री विष्णु प्रसाद सुवेदीले न्यूनतम प्रक्रिया समेत नपुर्याई ठाडो तोक आदेशको आधारमा धेरै कर्मचारी करारमा नियुक्ति गरेकाले छानबिन गरी कारबाही गरी पाउँ’ भनी केन्द्रमा उजुरी परेपछि छानबिन गरेको थियो । केन्द्रका अनुसार छानबिन गर्दा गोरखापत्र संस्थानको मिति २०७८।०७।३० को निर्णय बमोजिम सेवा करारमा नियुक्ति पाएका विभिन्न पद र तहका १२ जना कर्मचारीहरूको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०५२ को विनियम ४१ विपरीत रहेको छ ।
‘पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नु पर्नेमा, पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनियम वलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो ।’ केन्द्रले भनिएको छ, ‘सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि भएको हुँदा उक्त नियुक्तिहरू खारेज गरी गराई सो नियुक्ति दिने प्रक्रियामा संलग्न गोरखापत्र संस्थानका कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रूपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई प्रचलित नियम अनुसार कारबाही गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ) र (झ) बमोजिम केन्द्रको मिति २०८०।०४।०३ को (सचिव स्तरीय) निर्णयअनुसार निर्देशन दिइएको ब्यहोरा अनुरोध छ ।’
यी हुन् नियम विपरीत नियुक्ति भएको कर्मचारीहरू
नियम विपरीत नियुक्ति भएका कर्मचारीहरूमा दिनेश लुइँटेल, विनोद न्यौपाने, सूर्य प्रसाद पाण्डे, अशोक अधिकारी, बहादुर कटुवाल, सिर्जना खत्री, गोविन्द रेग्मी, सनम महर्जन, रविराज वसल, युवराज खतिवडा, ध्रुव कुमार सिंह रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















