मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले वडा नं. ११ लाई बाख्रा पकेट क्षेत्र घोषणासँगै कार्यान्वयन भएको छ । नगरप्रमुख टोक बहादुर वाइबाले सामूहिक बाख्रा पालनको शुक्रवार एक समारोहका बिच उद्घाटन गरेसँगै बाख्रा पकेट क्षेत्रको कार्यान्वयन सुरु भएको हो ।
सो सामूहिक बाख्रा पालन जय लक्ष्मी महिला विकास कृषि समूहले सुरु गरेको छ ।

कार्यक्रममा नगरप्रमुख वाइबाले मण्डनदेउपुरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र घोषणाले सफल हुनेमा विश्वास व्यक्त गरे । साथै बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना बन्न आग्रह गरे ।

वडा वडामा पशु स्वास्थ्य प्राविधिक रहेको र बेला बेला फार्ममा ल्याएर बाख्राको जाँच गराउन आग्रह गर्दै वाइबाले बाख्रा बस्ने ठाउँ राम्रो बनाउनु पर्नेमा जोड दिए । ‘बाख्रा बस्ने ठाउँ सफा सुग्घर हुनुपर्छ । रोग लाग्न सक्छ ।’ उनले भने, ‘बेला बेला पशु स्वास्थ्य प्राविधिक ल्याएर जाँच गराउनु होला ।’

नगर प्रमुख वाइबाले सामूहिक बाख्रा पालनलाई उदाहरणीय बनाउन किसानहरूलाई अनुरोध गरे । ‘बाख्राको बटकुला, पिसाबको निकास राम्रोसँग गर्नु होला । यो उदाहरणीय बनोस् ।’ उनले भने, ‘अन्य ठाउँका मानिस समेत आएर हेर्ने फार्मका रूपमा विकास गर्नुहोस् ।’

यसैबिच उपप्रमुख विष्णुमणि नेपालले योजनाबद्ध काम गर्न अनुरोध गर्दै जिम्मेवारी विभाजन गरेर काम गर्नु पर्नेमा जोड दिए । ‘राज्यको लगानी खेर जान नदिनुहोस्, बाख्रा राम्रोसँग पाल्नुभयो भने तपाई र नगरपालिका समृद्ध हुन्छ ।’ उपप्रमुख नेपालले भने, ‘राम्रो कामको सुरुवात गर्नु भएको छ, यसलाई राम्रोसँग अघि बढाउनु होस् ।’

वडा अध्यक्ष दीपेन्द्र लामाले बाख्रा पालनका लागि यो स्थान उपयुक्त भएको बताउँदै सामूहिक काममा ईमान्दारिता पूर्वक काम गर्न समूहलाई आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख ध्रुव प्रसाद पराजुलीले यो फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रा पालना भएको बताउँदै स्थानीय बाख्रा र उन्नजातको बोकाको नस्ल मार्फत आयआर्जन बढाउन सकिने बताए । नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रको रूपमा विकास गर्न समेत सामूहिक बाख्रा पालन कार्यले मद्दत पुग्ने शाखा प्रमुख पराजुलीले बताए ।

सामूहिक बाख्रा पालनका लागि स्थानीय ५१ जनाले ६/६ हजार रुपियाँ लगानी गरेका छन् । खोरमा अहिले ४० वटा बाख्रा रहेका छन् । खोर निर्माण गर्नदेखि बाख्रा किन्न समेत नगरपालिकाले यो समूहले आर्थिक सहयोग गरेको छ । सामूहिक बाख्रा पालनको लागि नगरपालिकाले किसानहरूलाई सहयोग गरेपछि स्थानीय किसानहरू खुसी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।