तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले गाउँपालिकाको रणनीतिक सडकहरूमा सडक हेरालु (मौसमी कामदार) नियुक्ति गरेको छ । गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङका अनुसार शुक्रवार प्रत्येक वडामा १÷१ जना सडक हेरालु नियुक्ति गरिएको हो ।

गाउँपालिकाले प्रत्येक वडाबाट गाउँपालिका केन्द्र जोड्ने मुख्य सडकलाई रणनीतिक सडकको रूपमा अगाडी बढाएको छ । सोही सडकको लागि गत आर्थिक वर्षमा सबै वडाका सडकहरूलाई ५० लाखका दरले बजेट व्यवस्था गरेको थियो भने चालु आर्थिक वर्षमा समेत यो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले नियुक्ति भएका ‘हेरालु’हरूलाई नियुक्ति पत्र, आवश्यक औजार र पोषक वितरण गरेका छन् ।

‘रणनीतिक सडकका रूपमा अगाडि बढाएको सडकहरूको नाली, सडक किनाराहरू सरसफाइ गर्न र वर्षा यामबाट हुने सडक अवरुद्धलाई कम गर्नका लागि प्रत्येक वडामा सडक हेरालुको नियुक्ति गरिएको छ ।’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘अब यसबाट सडक सञ्चालनमा आएको समस्याहरू न्यूनीकरण हुनेछ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, वडा नं. ५ का वडा अध्यक्ष हजारसिंह लामा लगायतका सहभागी थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।