सिन्धुली– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठले प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताएका छन् । शनिवार सिन्धुलीमा आयोजित सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहहरूको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने बताए ।

‘रासायनिक मलले वातावरण बिग्रने, उत्पादन नहुने र भोकमरी कै अवस्था हुने खतरा बढ्दै गएको छ । यसर्थ रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ । स्थानीय तहहरूसँग समन्वय गरेर आर्थिक वर्ष २०८०–०८१ मै प्राङ्गारिक मल कारखाना बनाउने छौँ ’ मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले वातावरण संरक्षणको लागि प्रत्येक नागरिक सचेत भई आफ्नो घर, टोलको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। बिपी राजमार्गको सुन्दरता जोगाई राख्न राजमार्गमा यात्रा गर्ने यात्रुहरूले प्रयोग गर्ने प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा कडाइ गर्नुपर्ने श्रेष्ठले बताए । ‘बिपी राजमार्गमा बेलाबेलामा सरसफाइ गरेर मात्रै हुँदैन । राजमार्ग सफा राख्न राजमार्गमा गुड्ने गाडी र यात्रुलाई सचेत गराउनु पर्छ । फोहोर गाडीमै सङ्कलन गरेर निश्चित ठाउँमा विसर्जन गर्ने कार्यलाई कडाइका साथ लागु गर्नुपर्छ’मन्त्री श्रेष्ठले भने।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सफा र स्वच्छ नगर बनाउन सबै नगरवासी नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो घर,टोल आफैले सफा गर्ने बानीको विकास गर्नुपर्ने बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिमाई मन्दिर परिसर देखि सिलामे सम्म सडक सरसफाइ गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, नगरप्रमुख पोखरेल, प्रहरी प्रमुख राजकुमार सिलवाल सहित सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, राजनीतिज्ञ, स्थानीय नागरिक, पत्रकार लगायतको उपस्थितिमा सडक सरसफाइ गरिएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।