पनौती– काभ्रे जिल्लामा विश्व सांस्कृतिक पदयात्रा आयोजना गरिने भएको छ । आगामी असोज ६ गतेका दिन विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले ‘पनौती–नमोबुद्ध’ पदयात्रा गर्न लागेको हो ।
पदयात्राको बारेमा जानकारी दिनका लागि शनिवार बनेपामा एक पत्रकार सम्मेलन गरेका थियो ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दीपककुमार गौतमले सुन्दर र प्राकृतिक छटाहरूले भरिएको काभ्रे जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरूको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा गर्न लागेको बताए ।
‘काभ्रे जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्लामा भएका सम्भावनाहरूको सँगालो सहितको प्रोफाइल तयार गर्ने तयारीमा छौँ’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले भने– ‘सुन्दर र प्राकृतिक छटाहरूले भरिएको काभ्रेपलान्चोक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरूको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा महत्त्वपूर्ण हुनेछ ।’
काभ्रेमा जन्मिएर काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्नहरूलाई काभ्रेसँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहलसँगै दबाब सिर्जना गर्ने, धार्मिक सर्किटको रूपमा विकास गर्ने, पनौती नमोबुद्ध डेडीकेटेड पदमार्ग निर्माणका लागि पहल गर्न शान्ति पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्ने गौतमले बताए ।
यसैबिच पत्रकार सम्मेलनमा काभ्रे सेवा समाजका अध्यक्ष प्रह्लाद केसीले आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र बौद्ध धर्मालम्वीहरुबीच आपसी सद्भाव विकास गर्ने, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने लगायतका उद्देश्यले ‘पनौती–नमोबुद्ध’ पदयात्रा गर्न लागेको प्रस्ट पारे ।
‘जिल्ला समन्वय समिति काभ्रे र स्थानीय तहहरूको अगुवाइमा विभिन्न सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा सरोकारवाला क्षेत्रका व्यक्तिहरूको सहभागितामा आगामी असोज ६ गते पनौतीबाट नमोबुद्धसम्म पदयात्रा आयोजना गरिएको छ ।’ अध्यक्ष केसीले भने, ‘विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र बौद्ध धर्मालम्वीहरुबीच आपसी सद्भाव विकास गर्ने, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो ।’
यसरी हुने छ पदयात्रा
पदयात्रा पनौतीमा रहेको राजकुमार महाेत्सवको दरबार हुँदै पनौती बजार, त्रिवेणी घाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी र नमोबुद्ध पुग्नेछ । ९.८ किमी लामो पदयात्राका लागि साढे ३ घण्टा लाग्नेछ । पनौती र नमोबुद्धको पहिचान र परिचयलाई अझ उच्च बनाउनका लागि शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकहरूले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















