मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा १५ बेडको अस्पताल बन्ने सुनिश्चित भएको छ । शुक्रवार सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र पठाएपछि अस्पताल निर्माण सुनिश्चित भएको हो ।
नगर प्रमुख वाइबाको स सचिवालयले एक प्रेस नोट जारी गर्दै अब नगरमा यस अघि निर्माण सम्पन्न भएको ५ बेड सहित २० बेडको अस्पताल निर्माण हुने जानकारी दिएको छ । मन्त्रालयले स्रोत सुनिश्चित गरेको प्रतिबद्धता पत्र नगर प्रमुख वाइबाले मन्त्रालयमै पुगेर बुझेका थिए ।
वडा नं. ७ मा निर्माण हुन लागेकाे साे अस्पतालका लागि नगरपालिकाको १३ औँ अधिवेशनबाट लागत साझेदारीका लागि चालु आव २०८०।०८१ मा ४ करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको सचिवालयले जनाएको छ ।
‘यस नगरपालिकामा १५ बेडको अस्पताल निर्माण हुने पक्का भएको छ । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र मिति २०८०।०४।१२ गतेका दिन नगरप्रमुख श्री टोक बहादुर वाइबा स्वयं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उपस्थित भई बुझिलिनुभएको छ ।’ सचिवालयले भनिएका छ,
‘नगरपालिकाको १३ औँ अधिवेशन (नगर सभा) बाट लागत साझेदारीका लागि चालु आव २०८०।०८१ मा ४ करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ ।’
यसअघि केही व्यक्तिहरूले सार्वजनिक खरिद ऐन अनुसार लागिसकेको ठेक्का समेत रद्द गर्नका दबाब दिएको गुनासो गर्दै नगर प्रमुख वाइबाको सचिवालयले अनेकन् बाधा र व्यवधानका बिच नगरप्रमुखको विशेष अग्रसरतामा सङ्घ र नगरपालिकाको लागत साझेदारीमा १५ बेडको नयाँ अस्पताल निर्माण कार्यका लागि सम्झौता भई कार्यादेश समेत दिई भवन निर्माणको काम सुचारु भैसकेको जनाएको छ ।
अस्पताल सञ्चालनमा आएपछि यस नगरपालिकाका नगरवासीसँगै काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकासँग जोडिएको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाङपाल गाउँपालिकाका नागरिकलाई समेत सेवा प्रदान गर्न सकिनेछ ।
त्यसैगरि भौतिक संरचना निर्माणसँगै नगरको ध्यान आवश्यक उपकरण र विशेषज्ञ सेवा प्रदान गर्न तर्फ हुने सचिवालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















