मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रण अभियान शुरु भएको छ । सोमवार नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा सो अभियान शुरु भएको हो ।
डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य प्रारम्भ गरेको नगरपालिकाले जनाएको छ । फेदीबाट शूरु भएको अभियान सिपाघाटमा पुगेर समापन गरिएको थियो । आज फेदी, मकैटार, नर्बन्दा, रानीटार, सिउँडेनीटार, कुन्ताबेसी, हिँगुवापाटी, सिपाघाटको तल्लो र माथिल्लो बजार क्षेत्रमा ‘खोज तथा नष्ट गर’ कार्य सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक कुमार घिमिरेले जानकारी दिए ।
‘खोज तथा नष्ट गर’ कार्यको प्रारम्भ गर्दै नगरप्रमुख टोक बहादुर वाईबाले डेंगीबाट जोगिन नागरिक स्वयम सजग हुनेपर्नेमा जोड दिए । ‘आज सूरुवात भएको छ । यो एउटा सांकेतिक मात्रै हो । हामीले यसलाई घर तहसम्म अभियानकै रुपमा सञ्चालन गर्नेछौँ ।’ वाइबाले भने, ‘डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले पानी जम्ने ठाउँ र भाडा प्रति विशेष सावधानी अपनाउनु होला ।’
त्यसैगरि उपप्रमुख विष्णुमणी नेपालले लामखुट्टेको टोकाइलाई सामान्य रुपमा नलिन आग्रह गरे । ‘लामखुट्टेको टोकाइलाई सामान्य अर्थमा नबुझौँ । यसको टोकाईबाट मानव शरीरमा पुग्ने क्षति निकै डर लाग्दो छ ।’ नेपालले भने, ‘त्यही भएर आफ्नो घर वरपर सधै सफा राखौँ । सफा राख्नु भनेको केबल लामखुट्टेको टोकाइबाज जागिनु मात्रै होइन्, फोहोर जन्य रोगबाट सुरक्षित रहनुपनि हो ।’
नगरपालिकाले आधारभूत अस्पतालमै डेंगी रोगको जाँच गर्न सकिने ब्यवस्था मिलाएको छ । ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरपालिकाले आफ्नो नागरिकलाई आग्रह गरेको छ । अभियानको पहिलोदिन वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका लगायत सहभागि थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।