पनौती– छविरमण गौतम काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.को गणित शिक्षक तथा सहायक प्रधानाध्यापक । यतिले मात्र उनको परिचय पूरा भने हुँदैन । मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थायी घर भएका उनी नेकपा एमाले निकट शिक्षक संगठनको पूर्व जिल्ला सचिव हुन् ।

साथै एमाले नेता गोकुल बाँस्कोटाको आशिर्वाद पाएका उनी अपराधको श्रृंखलाबद्ध कार्य गरेबापत प्रोत्साहन र पुरस्कार स्वरुप भुम्लु गाउँपालिकामा रहेको प्रकाश क्याम्पस देखि कुशादेवी माविसम्म आइपुग्दा उनको अपराध छोप्न एमाले पार्टी नै कम्मर कसेर लागेको खुलेको छ ।

एमाले निकट शिक्षक संगठनको वलमा कुशादेवी माविमा ससम्मान पुगेका गौतमले त्यहाँ पुगेर पनि आफ्नो अपराधको श्रृंखला कहाँ रोके त ? सो विद्यालयका छात्राहरु माथि यौनजन्य क्रियाकलाप गरेपछि छवि सरको कालो छवि अझ फराकिलाो भएको छ । तर स्थानीयले एमालेलाई सोधिरहेका छन् ‘छवि सरलाई बचाउन एमाले किन लागेका हुन् ?’

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा एमाले नेता तथा पनौती नगरपालिकाका पूर्व मेयरका ज्वाइँ तथा एमालेका युवा नेता हुन् । विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद भुजु एमाले पनौती नगर कमिटीका सचिवालय सदस्य हुन् । विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका वडा अध्यक्ष पुरुषोत्तम अधिकारी पनि एमालेबाटै निर्वाचित भएका हुन् । छवि सर एमालेको संगठित सदस्य तथा शिक्षक संगठनको पूर्व जिल्ला सचिव हुन् । गत शुक्रवार नै छवि सरको गिद्दे नजारमा परेका छात्राहरुले विब्यस र वडा कार्यालयमा लिखित जानकारी दिँदा समेत आजसम्म पनि दोषि माथी कार्वाही हुन नसक्नुमा एमाले नेता गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा छवि सरलाई बचाउने कोशिस भएको स्थानीय अभिभावकहरुको आरोप छ ।

विद्यार्थी र अभिभावकको मनोवल गिराउँदै विद्यालय प्रशासन

विद्यार्थीको उजुरी पछि विब्यस अध्यक्ष थापा र प्रअ भुजुले विद्यार्थी र अभिभावकलाई बोलाएर उनीहरुको मनोवल गिराउने कार्य गर्दै आएको खुलेको छ । कहिले छवि सरलाई हाजिर नगराउने बाहेक अरु कार्वाही विद्यालयले गर्न नसक्ने तर्क गरेको र कहिले ‘यस्तो कुरा बाहिर गयो भने ईज्जत जान्छ, विद्यार्थीले आत्महत्या गर्न पनि सक्छ’ भन्ने तर्क पेश गरेको एक अभिभावकले बताए । विवद्यालयको यो कार्य विद्यार्थी र अभिभावकको मनोवल कमजोर बनाउने कदमको रुपमा हेर्न सकिन्छ । वालबालिका माथि भएको यौनजन्य अपराध जस्तो गम्भिर विषयमा विब्यस र विद्यालय प्रशासनले किटानी जाहेरी दिन सकारात्मक वातावरण बनाउनुपर्नेमा उल्टै विद्यालयको प्रतिष्ठामा आँच आउँछ भन्दै टार्न खोजिएको बुझ्न सकिन्छ ।

एमाले युवाको आक्रामक शैली

छात्रामाथीको यौनजन्य हिंसाको घटनाको विषयमा आयोजना भएको आज मंगलबार भएको भेलामा एमालेका युवाहरु निक्कै आक्रमक देखिए । सामाजिक सञ्जालमा आएको विभिन्न क्रिया प्रतिक्रियालाई निउ बनाएर विषयान्तर गर्न खोजेको थिए ।

‘छवि सर’लाई कार्वाही गर्नु भन्दा पनि ‘छवि सर’को विरुद्ध सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर उनीहरु आक्रमक देखिएका थिए । युवा संघको ३ नं वडा अध्यक्ष राजेश घिमिरेको नेतृत्वमा आएका एमाले युवाहरुको एक समूहले झगडा सिर्जना गर्न खोजेका थिए । उनीहरुले स्थानीय काँग्रेस समर्थक युवा अनिश सापकोटा र आफूलाई स्वतन्त्र भनिएका  जम्बुदीप हुमागाईंलाई प्रयोग गरेका थिए ।

अन्ततः जाहेरी दिन तैयार

‘छवि सर’ बचाउन तल्लिन रहेका विब्यस अध्यक्ष थापा, प्रधानाध्यापक भुजु र एमाले कार्यकर्ताहरु अन्ततः किटानी जाहेरी दिन तैयार भएका छन् । मंगलवार अभिभावक, स्थानिय, नागरिक समाज, बुद्धिजिवीहरु लगायतले विद्यालय प्रशासन माथि चौतर्फी दवाव दिएपछि जाहेरी दिन तैयार भएका हुन् ।

यस दवावसँगै विद्यालयले भोली बुधबार यौन हिंसाका आरोपी शिक्षक छवी गौतमविरुद्ध किटानी जाहेरी दिने मंगलबार बसेको सरोकारवालाहरुसँगको बैठकले सहमती गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षतामा बसेको भेलाले नीज दोषी शिक्षकलाई कानुनी दायरामा ल्याउन विद्यालयले बुधाबार पिडितका अभिभावक सहित विद्यालयले सामुहिक किटानी जाहेरी दिने निर्णय भएको छ ।

गत शुक्रबार गणित शिक्षक ‘छवि सर’ले कक्षा १० का छात्राहरुमाथि अवाञ्छित् गतिविधि गरेको भनेर १० जना छात्राहरुले सामुहिक उजुरी दिएको आज ५ दिन बितिसक्दा पनि कानूनी कारवाहीका लागि प्रक्रिया नचालेको भनि स्थानीय अभिभावक आक्रोशित भएका थिए ।

पोखरा घुम्दै ‘छवि सर’

चौतर्फी रुपमा कार्वाहीको लागि दबाव दिन थालेपछि ‘छवि सर’ फरार भएका छन् । स्रोतका अनुसार उनी पोखरामा मस्त गरीरहेका छन् । एमाले नेताहरुकै सुझाव अनुसार उनी पोखरा पुगेको बुझिएको छ ।

पनौती सरकारद्वारा दुःख व्यक्ता

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै नगर प्रमुख भण्डारीले शिक्षा, युवा तथा खेलकुद शाखावाट घटनामा संलग्न शिक्षकलाई विभागीय कारवाहीको प्रक्रिया अघि वढाइ सकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस नगरपालिका अन्तर्गत सञ्चालित श्री कुशादेवी माध्यमिक विद्यालय पनौती २ मा अध्ययनरत कक्षा १० का छात्राहरुले उक्त विद्यालयका शिक्षकले आफूहरुमाथि अभद्र व्यवहार, नराम्रो नियत तथा शरिरका विभिन्न अंगहरुमा छोई मानसिक तनाव श्रृजना हुँदै आएको भनि सम्वन्धित विद्यालयमा जानकारी गराइएको गम्भिर विषय प्रति हाम्रो ध्यानाकर्षण भएको छ । शिक्षण सेवा जस्तो पवित्र संस्थामा कार्यरत शिक्षकवाट वालवालिकाहरुको भावनामा ठेस पुग्नेगरी हुने त्यस्ता कार्यहरु निन्दनिय तथा भर्त्सनायोग्य छन् । वालवालिकाहरुले स्वतन्त्रतापूर्वक, शान्त वातावरणमा अध्ययन कार्यमा संलग्न हुन पाउने वालअधिकारको सुनिश्चितताको लागि हामी सदैव क्रियाशिल रहेका छौं ।

छात्राहरु माथि भएको दुर्व्यवहारको सन्दर्भमा त्यस विद्यालयको मिति २०८०।०४।१५ को पत्र जानकारीका लागि हामीले प्राप्त गर्यौ । विद्यालय व्यवस्थापन समितिवाट उक्त सन्दर्भमा शिक्षकलाई सोधिएको स्पष्टीकरण तथा शिक्षकवाट दिइएको लिखित जवाफ चित्तबुझ्दो नभएको भनी विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णय पश्चात् विषयवस्तु झन् गहन तथा गाम्भिर्यतापूर्ण रहेको प्रति हामी सचेत भएका छौं । विद्यालयमा निर्वाध रुपमा आवतजावत तथा विना डर त्रास सुरक्षित रुपमा अध्ययन अध्यापन कार्य गर्ने वातावरण सिर्जना गर्न यस घटनाले हामी थप जिम्मेवार र गम्भिर भएका छौं ।

विद्यालयरुपी पवित्र मन्दिरमा यसरी समस्या श्रृजना हुनु दुःखद हो । नगरपालिकामा प्राप्त पत्र पश्चात शिक्षा, युवा तथा खेलकुद शाखावाट घटनामा संलग्न शिक्षकलाई विभागीय कारवाहीको प्रक्रिया अघि वढाइ सकिएको छ साथै आवश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा विद्यालयवाट प्राप्त भएको सम्पूर्ण कागजातहरु संलग्न गरी पठाइसकिएको छ । विद्यालयमा भएको संवेदनशिल घटनावाट विद्यार्थी, अभिभावक, समाज, शिक्षक तथा समग्र शिक्षाक्षेत्रमा परेको नकारात्मक प्रभाववाट विचलित नहुन तथा घटनाको सन्दर्भमा सत्य तथ्य पत्ता लगाउन आवश्यक सहयोग जुटाउन सवै नगरवासीमा अनुरोध गर्दछु ।’

यस समाचारकाे ‘एमाले युवाको आक्रामक शैली’ उपशिर्षकमा ‘एमाले निकट युवा जम्बुदीप हुमागाईं’ लेखिएकोमा आफू स्वतन्त्र रहेको जानकारी दिएकोले समाचार सच्याइएको छ । –सम्पादक

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।