नमोबुद्ध– काभ्रे जिल्लाको तीन पालिकाहरुको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साल लामाको अध्यतामा सो बैठक सम्पन्न भएको हो ।
बैठकले तीनै पालिकालाई पायक पर्ने स्थानमा नापी, मालपोत लगायतका कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय गरिएको छ । बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीहरुलाई हाल धुलिखेलमा रहेको नापी कार्यालय, मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावली सम्बन्धी सेवा केन्द्र असहज र टाढा रहेकोले यस क्षेत्रका सेवाग्राहीहरुलाई सहज, छिटो, छरितो र नतिजामुखी सेवा प्रदान गर्नका लागि ती पालिकाहरुलाई पायक पर्ने स्थानमा सो कार्यालयहरु स्थापना गर्न संयुक्त रुपमा अनुरोध र पहल गर्ने निर्णय भएको तेमाल गाउँपालिकाका प्रवक्ता ईन्द्रलाल तामाङले जानकारी दिएका छन् ।
‘ती कार्यालयहरु स्थापना र संवैधानिक अधिकार अनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्त रुपमा अनुरोध र आवश्यक पहल समेत गर्ने निर्णय भएको छ । ‘ प्रवक्ता तामाङले भने, ‘बैठकले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विपद व्यवस्थापन तथा न्युनिकरण, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषिसंग सम्बन्धित नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै संचालन गर्न संयुक्त रुपमा पहल गर्ने समेत निर्णय भएको छ ।’
त्यस्तै तीनवटै स्थानीय तहको फोहोरमैलालाई दिगो रुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको स्थापना गर्नका लागि तिनवटै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
नमोबुद्ध वडा नं ४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालबाट तीन वटै पालिकाका वासिन्दा लाभान्वित हुने गरेकोले सो अस्पतालमा सेवा सुविधा थप व्यवस्थापन गर्न तिनवटै पालिकाको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नुका साथै प्रदेश सरकार र संघीय सरकारसँग संयुक्त रुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका भित्रका विभिन्न स्थानमा हुन सक्ने प्राकृतिकजन्य तथा स्वास्थ्यजन्य विपद् र अन्य प्रकोपहरुको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणका लागि तिनवटै पालिकाले संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाहरुको व्यवस्थापन, न्यूनीकरण, रोकथाम तथा उद्दार लगायतका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेशिनरी औजार र सवारीसाधनहरुको आपसी समझदारी गरी आवश्यक रुपमा परिचालन तथा सहयोग गर्ने निर्णय गरेको छ ।
नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको भकुण्डे–पोखरीनारायणस्थान–मेच्छे सडकको निर्माणमा भएको ढिलासुस्तीका कारण नागरिकले भोग्दै आएको असहजता र यातायात संचालनमा आएको समस्यालाई यथाशिघ्र समाधान गर्न र सो सडकको निर्माण नियमित रुपमा तोकिएको समय भित्रै सम्पन्न गर्न र नियमित मर्मत सम्भार तथा सरसफाईका लागि मर्मत सम्भारकर्ता (लेन्थवर्कर) राख्नका लागि सम्बन्धित निकायमा सयुक्त रुपमा आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको मुख्य राजमार्गको रुपमा रहेको वी.पी. राजमार्गमा वर्षातको समयमा आउने बाढी र पहिरोबाट हुने राजमार्गको अवरोधको दिगो समाधान गर्नका लागि सम्बन्धित निकायमा सयुक्त रुपमा आवश्यक पहल गर्ने निर्णय भएको छ ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका भित्र विभिन्न सडक, पुल लगायतका भौतिक पूर्वाधारको निर्माण गर्दा तिन वटै पालिका बीच आवश्यक समन्वय, सहकार्य र समझदारी गरी सयुक्त रुपमा बजेट विनियोजन गरी संचालन गर्ने र थप बजेट व्यवस्थापनको लागि समेत प्रदेश सरकार र संघीय सरकारलाई संयुक्त रुपमा पहल गर्ने निर्णय पनि भएको छ ।
रोशी गाउँपालिका वडा नम्बर ०३, वडा नम्बर ०५ र वडा नम्बर ०७ र नमोबुद्ध नगरपालिका वडा नम्बर ०६ स्थित रोशी खोलामा पक्की पुल तथा झोलुङ्गे पुल निर्माण गर्न साथै रोशी गाउँपालिका वडा नम्बर ०९ र तेमाल गाउँपालिकाको वडा नम्बर ०७ स्थित रोशी खोलामा पक्की पुल निर्माण गर्न सम्बन्धित पालिकाले आवश्यक बजेट विनियोजन गर्ने र थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकार र संघीय सरकारलाई संयुक्त रुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।
तीन वटै पालिकाका सिमाना क्षेत्रहरुलाई सडक संजाल मार्फत जोड्न आ–आफ्नो पालिकाबाट आवश्यक कार्य संचालन गर्ने निर्णय पनि भएको छ । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साँध सिमानाका सम्बन्धमा उत्पन्न विवादहरुको पहिचान गरी एक आपसमा पालिका बीच आवश्यक समन्वय, सहकार्य र समझदारीमा समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको साझा प्राकृतिक श्रोतहरुको उपयोग, व्यवस्थापन तथा संरक्षण तिन वटै पालिका बीच आवश्यक समन्वय, सहकार्य र आपसी समझदारीम गर्ने, पालिका क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रवद्र्धन गर्न र आन्तरिक पर्यटक वृद्धि गर्न संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने, रोशी खोला लगायतका नदि तथा खोला कटान क्षेत्रमा पक्की तटबन्ध निर्माण तथा खोलालाई नियन्त्रण गर्न संयुक्त रुपमा संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तिन वटै पालिकाको साझा प्राकृतिक श्रोतको रुपमा रहेको रोशी खोलालाई थप व्यवस्थित, सफा, हरियाली र पर्यटकीय स्थलको रुपमा विकास गर्न ‘रोशी खोला सफाई अभियान’ कार्यतालिका निर्माण गरी संयुक्त रुपमा संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका बीच नियमित अन्तरपालिका समन्वय बैठक चौमासिक रुपमा सञ्चालन गर्ने र अन्तरपालिका पूर्वाधार विकास लगायतका विकास निर्माणका कार्यहरु गर्नका लागि पालिकाका सम्बन्धित वडास्तरमा समेत अन्तरवडा स्तरीय समन्वय बैठक आवश्यकता अनुसार गर्ने निर्णय बैठकले गरेको हो ।
अन्तरपालिका समन्वय बैठकमा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान (डिएम) थोकर, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, रोशीका रामबहादुर तामाङ, तेमालका केदारप्रसाद ढकाल, नमोबुद्ध नगरपालिकाका प्रवक्ता टिकाबहादुर केसी, रोशीका प्रवक्ता बसन्तकुमार तामाङ, तेमाल गाउँपालिकाका वडा नं. ७ का वडा अध्यक्ष तथा प्रवक्ता इन्द्रलाल तामाङ लगायतको उपस्थिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















