तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको रणनीतिक सडकहरूमा ‘सडक हेरालु’हरुले काम थालेका छन् । वर्षाको समयमा वडा देखि पालिका जोड्ने सडक बिग्रिएसँगै गाउँपालिकाले ‘सडक हेरालु’ नियुक्ति गरेपछि उनीहरूले काम थालेका हुन् ।
शनिवार गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले उनीहरूलाई नियुक्ति गरेको थियो । गाउँपालिकाले बर्षायममा सडक अवरुद्धलाई मध्य नजर राख्दै मौसमी कामदारहरू (सडक किपर ) नियुक्ति गरेपछि सबै वडाका ‘सडक हेरालु’हरू रणनीतिक सडकहरूमा देखिन्छन् । ‘सडक हेरालु’ राखेपछि बर्सातमा यातायात सुचारु राख्न गाउँपालिका सफल भएको छ ।
गाउँपालिकाले वडा नं. १ देखि ९ सम्मका लागि ९ जना ‘सडक हेरालु’ राखिएको छ । उनीहरूलाई गाउँपालिकाले आवश्यक औजार तथा पोषक सहित काममा खटाएको छ ।
जनप्रतिनिधि पनि सडकमै
गाउँपालिकाले ‘सडक हेरालु’ नियुक्ति गरेर काममा खटाएपछि तेमाल गाउँपालिकाका जनप्रतिनिधि पनि उनीहरूसँगै काममा व्यस्त देखिन्छन् । ‘सडक हेरालु’लाई हौसला दिन जनप्रतिनिधिहरू पनि सडकमा पुगेका हुन् ।
विशेष गरी तेमाल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङको टोली ‘सडक हेरालु’सँगै सडकमा देखिन्छ । कुटो, कोदालो र साबेलका साथमा ‘सडक हेरालु’सँगै वडा अध्यक्ष तामाङलाई सघाउन वडा सदस्य सूर्यमान तामाङ र चेतबहादुर राना सहित स्थानीय जनता पनि सडकमा पुगेका छन् ।
साउन १५ गतेदेखि असोज १५ गतेसम्म सडक सरसफाइमा लाग्ने वडा अध्यक्ष तामाङले बताउँदै यसरी नै ठूलोपर्सेलका जनताहरूको सेवामा समर्पित भएर अगाडि बढ्ने हो भने ठूलोपर्सेलमा विकास र समृद्धिका लागि लामो समय कुर्नु नपर्ने उनको तर्क छ ।
यसैबिच वडा नं. ६ का वडा अध्यक्ष तामाङ सडकमा खटेपछि गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले प्रशंसा समेत गरेका छन् । सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै अध्यक्ष तामाङले उनको प्रशंसा गरेका हुन् ।
हिन्दु नेपालीहरूको महान् पर्व वडा दसैँमा विभिन्न स्थानबाट घर फर्किन सहज बनाउन पनि सडक हेरालुको व्यवस्था गरेको पालिकाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















