चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले लम्पी स्कीन सङ्क्रमणबाट मरेका चौपायाको किसानहरूलाई राहत स्वरूप १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । पछिल्लो समय ‘लम्पी स्कीन’ सङ्क्रमण महामारीको रूपमा फैलिएपछि गाउँपालिकाले किसानलाई राहत दिएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले जानकारी दिए ।

गएको आर्थिक वर्षमा १० जना किसानहरूलाई राहत स्वरूप १० हजार रुपैयाँका दरले वितरण गरेको अध्यक्ष चौंलागाईले बताए । ‘हाम्रो गाउँपालिकामा लम्की स्कीन सङ्क्रमण सुरु भएदेखि नै उच्च सतर्कता अपनाउन थालेका थियौँ, तयारी गर्दा गर्दै सङ्क्रमणले व्यापकता पाइसकेको रहेछ ।’ चौंलागाईले भने, ‘जुन किसानको लम्की स्कीन रोग सङ्क्रमणबाट गाई गोरु मरेको छ, उहाँहरूलाई राहत स्वरूप १० हजार रुपैयाँ गत आर्थिक वर्षमा हामीले वितरण गरिसकेका छौ ।’ चालु आर्थिक वर्षमा समेत सो राहत वितरण गर्न बजेटको व्यवस्था गरिएको उनले तेमाल अनलाइनलाई बताए ।

कुन वडामा कति चौपाया मरे ?

गाउँपालिकाका पशु शाखा प्रमुख मनमोहन विकका अनुसार गाउँपालिका भरिमा गएको आर्थिक वर्षमा लम्की स्कीन सङ्क्रमणबाट ३ नं. वडामा ५ वटा, ४ नं. वडामा ३ वटा र ९ नं. वडामा २ गरी वटा ३ वटा गाई र ७ वटा गोरु मरेको छ । लम्की स्कीन सङ्क्रमणबाट मरेपछि किसानलाई १०/१० हजारका दरले राहत वितरण गरिसकेको छ । चालु आर्थिक वर्षमा भने राहत विरतण गर्न बााकी रहेको विकले जानकारी दिए ।

गोठमै पुग्छन् पशु प्राविधिक

पशु शाखा प्रमुख विकका अनुसार चौंरीदेउराली गाउँपालिकामा हालसम्ममा ८ सय ८० चौपाया सङ्क्रमित भएका छन् । गाउँपालिका अध्यक्ष चौंलागाईले लम्की स्कीन सङ्क्रमणले महामारी लिएसँगै पशु प्राविधिकहरू किसानका गोठ–गोठमै पठाएका छन् । साथै गाउँपालिकाले निःशुल्क उपचार गरेको उनले बताए ।

‘हामीले पहिलादेखि नै एक वडा एक पशु प्राविधिकको व्यवस्था गरेका छौँ । सबैलाई किसानको गोठ–गोठमा खटाएका छौँ ।’ उनले भने, ‘औषधि उपचार निःशुल्क गरेका छौँ । हाल धेरै निको भएको छ र संक्रमणदर धेरै कम भएको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।