मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार शुरु भएको छ । नगर प्रमुख टोकबहादुर वाइबाले आज शुक्रवार विधिवत रुपमा शुभारम्भ गरेपछि हाट बजार शुरु भएको हो ।

मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा लाइएको सो हाटबजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुनेछ ।

प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल ब्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन बृद्धिमा सहयोग गर्न आग्रह गरे । बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउन नगरप्रमुख वाइबाले अनुरोध समेत गरे ।

‘नगरकोटका होटलले यहाँकै किसानले फलाएको तरकारी किनिदिनुपर्छ । सबै होटललाई त नपुग्ला तर जति उत्पादन हुन्छ र पुग्छ । त्यो यहाँकै होटलले खपत गरिदिने हो भने उत्पादनपछि किसानलाई बजारको चिन्ता हुँदैन् ।’ वाइबाले भने, ‘यो मेरो अघिल्लो कार्यकालदेखिकै योजना हो । अहिले आएर शुरुवात भएको छ । यसलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने छौँ । म यहाँका होटल ब्यवसायीलाई आग्रह गर्न चाहान्छु स्थानीय उत्पादन खुवाउनुहोस् ।’

नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रमा सितभण्डारण निर्माण गर्न आवश्यक रहेको बताए । ‘तरकारी भनेको छिट्टै कुहिने चिज हो । शुक्रबारको हाट बजारमा बिक्री नभएका तरकारी त्यो रात यहीँ राख्न सकियो भने किसानलाई दुःख कम हुन्छ ।’ उनले भने, ‘त्यसका लागि सितभण्डारण आवश्यक छ । त्यो निर्माणका लागि नगरपालिकाले विभिन्न संघसंस्थासँग साझेदारी गर्छ ।’

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रुपान्तरित नाम महामञ्जुश्री चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा अन्तर्गत काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । यो परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसान आबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगत बहादुर शाहीले जानकारी दिए ।

हाट बजारमा तकारी तर्फ गोलभेँडा, काँक्रो, फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, नास्पाती, रैथान कुखुरा, धनियाँ, कागती, रैथाने बोडी, निउँरो, जिम्बु सुकेको सिमी, प्याज, लसुन राखिएको थियो । त्यसै घ्यू, मह र विभिन्न जातका फलफूलका विरुवा समेत बिक्रीका लागि किसानले राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।