रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिकामा हिजो मध्यरातमा लुटपाटको प्रयत्न भएको छ । रोशी गाउँपालिका वडा नं. ६, डुम्बल स्थित कामी सिं लामाको घरमा लुटपाटको प्रयत्न भएको हो ।

ईलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख ईन्स्पेक्टर पञ्चलाल तामाङका अनुसार घरेलु हतियार प्रयोग गरी घरधनीलाई कुटपिट गरि लुटपाट गर्न खोज्ने २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।

पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ६, नावल बस्ने वर्ष २८ को विजय लामा र रोशी गाउँपालिका वडा नं. ८, खार्पाचोक बस्ने वर्ष २८ को राजन तामाङ रहेको ईन्स्पेक्टर तामाङले जानकारी दिए ।

लुटपाटमा संलग्नहरुले घरधनी लामा र उनको श्रीमती मोतीमाया तामाङ माथि घरेलु हतियार र रडले आक्रमण गरेको थियो । घरधनी लामाको टाउकोमा रड प्रहार गरी घाइते बनाएको छ । श्रीमती तामाङ भने सामान्य घाइते मात्र भएको जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा चलानी गरेको प्रहरीले जानकारी दिएको छ ।

लुटपाटमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत स्थानीयले प्रहरी चौकी कटुन्जेबेसीलाई जिम्मा लगाएको जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिए।

अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

यसैबीच घाइतेहरुको अवस्था बुझ्न गाउँपालिका अध्यक्षा दिनेश लामा धुलिखेल अस्पतालमा पुगेका छन् । उनले घट्ना प्रति दुःख व्यक्त गरेका छन् । ‘हिजो राति रोशी–६ डुमलमा कामी सिं तामाङको घरमा भएको दु:खद तथा आपराधिक घटनाले अत्यन्तै चिन्तित र गम्भीर बनाएको छ । यस्ता आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन र घाइतेहरुको उपचारको लागि गाउँपालिका सक्रियताको साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भने, ‘उपचारको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।