१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्त्वः

सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ ।

जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा सामाजिक प्रक्रियामा निर्भर हुन्छ । मार्क्सवादी समाजविज्ञानले जुन सामाजिक समष्टिअन्तर्गत शिक्षा विकसित हुन्छ तथा यसले जसको सेवा गर्छ, त्यससँग पूर्णतः मेल खान्छ भन्ने कुरा प्रमाणित गर्छ ।

तर हामी मार्क्सवादीहरूका लागि समाजविज्ञान केवल त्यस्तो वस्तुगत आगमनात्मक विज्ञान मात्र होइन, जसले एकीकारक सिद्धान्तको सहायताद्वारा प्राप्त सामग्रीहरूका बारेमा प्रकाश पार्छ । हामी मार्क्सवादीहरूका लागि त सैद्धान्तिक समाजविज्ञान एउटा अनिवार्य औजार हो, एउटा यस्तो आधार हो, जसमाथि उभिएर हाम्रा व्यावहारिक समाजविज्ञान निर्माण हुन्छ । अन्य क्षेत्रहरूमा भन्दा यस क्षेत्रमा मार्क्सले मानिसहरूले संसारको व्याख्या त विभिन्न तरिकाले गरे तर मुख्य कुरा संसारलाई बदल्नु हो भन्ने कुरा बढी महत्त्वपूर्ण छ ।

यस दृष्टिले हामी कुनै पनि परिस्थितिमा शिक्षाको स्थितिको मूल्याङ्कन मात्र गर्ने होइन, न त त्यसको प्राकृतिक जरासम्म मात्र पुग्ने हो । बरु त्यो गहिरो खाडललाई पनि छ्याङ्गसँग देखाइदिनुपर्छ, जुन शासकवर्गहरूको भलाइ तथा इच्छाहरूद्वारा निर्देशित शिक्षा र उत्पीडित जनताको भलाइमा हुने शिक्षाको बिचमा हुन्छ । हामी तपाईँहरूसमक्ष यसभन्दा पनि गहन कार्यभार अघि सार्दछौँ । सर्वहाराहरूको सामान्य कार्यक्रम (समाजवाद, साम्यवाद), हाम्रो सामान्य विचार, त्यस प्रणालीबाट प्राप्त हुने अतुलनीय लाभ हासिल गर्नका लागि सर्वहारावर्ग अघि बढ्ने कोसिस गरिरहेको छ । त्यस उद्देश्यतर्फ सही किसिमले प्रगति गर्दै हाम्रो शैक्षिक सिद्धान्तका बिचमा पूर्णतः सामञ्जस्यता कायम गर्ने कुरालाई हामीले प्रस्थानविन्दु बनाउनुपर्छ । त्यसो गरेर हामी सर्वहारा वर्गहरूले तयार पारेको नयाँ शिक्षाशास्त्र पुरानो शिक्षाशास्त्रमाथिको जितुवा हो, जसले सर्वहारावर्गको मात्र भलाइ गर्दैन, सम्पूर्ण मानवजातिकै विकासका भलाइमा छ ।

सामान्य मानव–उद्देश्यसँग वर्ग–उद्देश्यको यो अत्यन्त महत्त्वपूर्ण सामञ्जस्यता कायम गर्ने बारेमा मार्क्स र लासालजस्ता हाम्रा महान् गुरुहरूमध्ये लासालले धेरै कुरा स्पष्ट पारेका छन् । यो कुरा शिक्षाशास्त्रीय दृष्टिकोणले प्राध्यापकहरूका लागि ज्यादै महत्त्वपूर्ण छ । हरेक परिस्थितिमा एउटा क्रान्तिकारी मार्क्सवादीले बुर्जुवा शिक्षाशास्त्रले सिर्जना गरेका समस्याहरूको स्वाभाविक व्याख्या –विश्लेषण मात्र गर्ने होइन, त्यसको आलोचना गर्दै समाजवादी सिद्धान्तमा आधारित शिक्षाशास्त्रको खाका पनि प्रस्तुत गर्नुपर्छ । यो कुरा सत्ता प्राप्त गरिसकेपछि कम्युनिस्टहरूको अनिवार्य कार्यभार बन्न जान्छ । स्वाभाविक छ कि सत्तारुढ समाजवैज्ञानिक एउटा गतिलो राजनीतिज्ञ पनि हुनेछ, पुराना मूल्य मान्यताहरूको विनाशक र नयाँ मूल्य मान्यताहरूको निर्माता पनि हुनेछ र ऊ एउटा योद्धा र स्रष्टा पनि हुनेछ । यसरी हाम्रो शिक्षाशास्त्रीय समाज विज्ञानले गहकिलो व्यावहारिक स्वरूप ग्रहण गर्छ । त्यस सामान्य सिद्धान्तको प्रस्थापनालाई व्यवहारमा कार्यान्वयन गर्न तीव्रतापूर्वक अघि बढ्नुपर्छ र त्यसो गर्दा आइलाग्ने कठिनाइहरूलाई पनि हामीले ध्यान दिनुपर्छ । हामीले के कुरा राम्ररी ख्याल पुर्‍याउनुपर्छ भने शैक्षिक प्रणालीलाई तुरुन्ता तुरुन्तै कायापलट गर्न सकिँदैन । त्यसका साथै, विभिन्न शैक्षिक र वैज्ञानिक संस्थाहरू यस सङ्क्रमणकालीन चरणमा नफसून् तर समाजवादी विकासको सामान्य विकास सँगसँगै अघि बढून् भन्ने कुरामा पनि हामीले सावधानी अपनाउनुपर्छ ।

२. सोभियत जनवादी सिद्धान्तको प्रतिबिम्बको रूपमा एकीकृत स्कुल

बुर्जुवा वर्गको अधिनायकत्व रहेका देशहरूमा जनशिक्षाले जस्तो स्वरूप ग्रहण गरेको छ, त्यसलाई गम्भीरतापूर्वक नियाल्ने हो भने तलबाट माथितिर जान सकिने खुड्किलाहरूलाई नै सिध्याइएको हुन्छ । यो समाजवादविरोधी त छँदैछ, जनवादविरोधीसमेत छ । घोषित समान राजनीतिक अधिकारको दृष्टिले बुर्जुवा जनवाद कम्तीमा समान योग्यता भएका बालबच्चाहरूलाई समान शिक्षाको समान अधिकार दिन कर्तव्यनिष्ठ हुनुपर्ने हो तर बुर्जुवा जनवाद जसलाई मार्क्सले साह्रै बृहत् रूपमा देखाएका छन् कि काल्पनिक राजनीतिक समानता तथा वास्तविक आर्थिक असमानता बिचको अन्तर्विरोधले सदा क्षयग्रस्त हुन्छ । पश्चिमी युरोपेली देशहरू र अमेरिकाको विद्यालयीय प्रणालीमा आर्थिक असमानता, विद्यालयीय संरचनामा पनि असमानता विद्यमान छ, न्यायिक तथा राजनीतिक असमानता कति गहिरो छ ।

एकीकृत विद्यालयीय सिद्धान्तको घोषणा व्यवहारमा ल्याइँदै गरेको समाजवादको स्वाभाविक सिद्धान्त मात्र होइन, जनवादी सुधारको क्षतिपूर्ति पनि हो । जमिन राष्ट्रियकरण तथा राजनीतिक अधिकारको सम्बन्धमा महिला–पुरुष बिचको समानताजस्तै एकीकृत विद्यालय तथा समान शैक्षिक अवसर बुर्जुवा क्रान्तिको अन्तिम कडी हो भने समाजवादी क्रान्तिको पहिलो कडी पनि हो । हामीलाई भनिन सक्छ कि यस्तो एकीकरण सैद्धान्तिक रूपमा मात्र सम्भव छ । भ्लादिमिर इल्यिच लेनिन बडो तीखो हाँसोसहित भन्न रुचाउनुहुन्थ्यो कि कुनै पनि कुरालाई ‘सैद्धान्तिक रूपमा’ प्राप्त गर्नु या स्वीकार गर्नुको अर्थ त्यसलाई व्यवहारमा लागु गर्न निकै टाढा छौँ भन्ने हो । कुरा सही पनि हो । समानता साम्यवादको एउटा मूलभूत सिद्धान्त हो । लेनिनको परिभाषाअनुसार यो समानताको पूर्ण प्राप्ति हो (समान श्रमका लागि समान ज्याला) तर हामी जो समाजवादतर्फ अघि बढिरहेका छौँ, श्रमको उच्च र कष्टसाध्य यात्राका साथ समाजवादतर्फ अघि बढिरहेका छौँ, अहिले पनि वास्तविक आर्थिक समानताजस्ता बाह्य कुराहरू पूर्णरूपमा हासिल गरिसकेका छैनौँ । हामीकहाँ अहिले कोही करोडपति छैनन्, चर्का शोषकहरू छैनन्, तैपनि सम्पत्ति र त्यसभन्दा अझ बढी आर्थिक जीवनपद्धतिमा अन्तर कायमै छ । जनतालाई विभाजित गर्ने सहर र ग्रामीण क्षेत्रका बिचमा अन्तर विद्यमान छ । ग्रामीण क्षेत्र मूलतः सांस्कृतिक लाभहरू प्राप्त गर्ने दृष्टिले सहर समान हुन निकै टाढा छ ।

यी सबको परिणाम हुन जान्छ – सैद्धान्तिक रूपमा एकीकृत विद्यालय र समान शैक्षिक अवसर (कम्तीमा समान योग्यतावाला बच्चाहरूका लागि) स्विकारिन्छ तर व्यवहारमा सहरबजारका बच्चाहरूले ग्रामीण क्षेत्रका बालबच्चाहरूभन्दा बढी फाइदा लिन पाउँछन् । सहरका बालबच्चाहरूलाई गाउँका बालबच्चाहरूको तुलनामा चारवर्षीय, सातवर्षीय या नौवर्षीय शिक्षा पूरा गर्न अलिक बढी सजिलो हुन्छ । हामीलाई यो कुरा पनि प्रस्ट थाहा छ कि सहर र ग्रामीण क्षेत्रमा यस अवस्थासम्म पनि गरिब र धनीका बिचको शैक्षिक अवसरमा समानता कायम गरिसकेका हुँदैनौँ । व्यवहारमा ग्रामीण क्षेत्रका गरिबहरूका बालबच्चाहरूले प्राथमिक विद्यालयहरूको चारवर्षीय शिक्षा पूरा गर्न असमर्थ नै छन्, व्यवहारमा अहिले पनि गरिबहरूले बिरलै रूपमा आफ्ना बच्चाहरूलाई दोस्रो चरण अर्थात् निम्न माध्यमिक विद्यालय उत्तीर्ण गराउँछन् । यति हुँदाहुँदै पनि उच्च शैक्षिक संस्थाहरूमा मजदुर–किसानहरूका छोराछोरीहरू कुल विद्यार्थीहरूमध्ये तीनचौथाइ पुगेका छन्, हाम्रो देशको निर्धनता तथा त्यसबाट उत्पन्न आर्थिक असमानताका बाबजुद पनि प्राविधिक कलेज तथा दोस्रो चरणका विद्यालयहरूमा पहिलेको तुलनामा वर्ग प्रतिनिधित्व बढेको छ । त्यसले जनसाधारणहरूको पहुँचमा शिक्षा पुर्‍याउने दिशामा प्रगति भइरहेको देखाउँछ ।

शिक्षाका सबै तहमा समान योग्यतावाला विद्यार्थीहरूलाई समान अधिकारको व्यवस्था भन्ने एकीकृत विद्यालयको मानक हाम्रो विकासको कार्यक्रमको पनि मानक हुनुपर्छ । त्यो देश जो आर्थिक रूपमा यस्तो विद्यालय सञ्चालन गर्न समर्थ छ तर पाखण्डवश त्यसो गरिरहेको छैन, त्यस्तो देशलाई जनवादी पनि भन्न सकिन्न । केही जनवादीहरू, अरूभन्दा प्रगतिशील र चतुरहरूले यो कुरा बुझेका छन् र त एर्रिओले संसद्मा एकीकृत विद्यालयसम्बन्धी प्रस्तावित विधेयक दुई–दुई पटक पेस गरे । मसँग भएको कुराकानीमा एर्रिओले उनी यस सुधारलाई जनवादी व्यवस्थाको स्वाभाविक अङ्ग मान्छु भन्थे तर बुर्जुवा वर्ग यो कुरा सुन्नसम्म तयार थिएन किनभने यसले उसको एउटा विशेषाधिकार अर्थात् पूर्ण शिक्षा प्राप्त गर्ने विशेषाधिकार खोसिन्थ्यो ।

३. मार्क्सवादीहरूको दृष्टिमा श्रम स्कुल

जनवादी सामाजिक जीवनको क्षेत्रमा जुन चीज समान रूपमा पुर्‍याउँछ, त्यसलाई हामी श्रम स्कुल भन्छौँ । श्रम स्कुलको सिद्धान्त समाजवैज्ञानिक दृष्टिले एकीकृत विद्यालयभन्दा बढी सर्वहारासँग सम्बद्ध छ । प्रथम अन्तर्राष्ट्रियमा श्रम स्कुलको सिद्धान्तबारेको आफ्नो सुप्रसिद्ध संस्थापन व्याख्यामा कार्ल मार्क्सले यस्तो श्रम-स्कुल मजदुरवर्गको विजयपछि मात्र स्थापना गर्न सकिन्छ भनेका थिएनन् । उनको विचारमा पुँजीवादी समाजभित्रै आठघन्टे काम, महिला र पुरुषलाई समान कामको समान ज्यालाजस्ता मागहरू पूरा गरेजस्तै यस्ता श्रम स्कुलहरू पूर्णरूपमा स्थापना गर्न सकिन्छ । सबैलाई थाहा भएकै कुरा हो कि कार्ल मार्क्सको विचार सारभूत रूपमा उत्पादनस्थलहरूमा औद्योगिक कामका लागि उचित रूपमा सङ्गठित अप्रेन्टिससिप जनशिक्षाको आदर्श रूप हो । सोझै बुझिन्छ कि जनशिक्षाको यस्तो रूप कारखाना, मिल आदिसँग जोडिएको छ । मार्क्सवादी श्रम स्कुलको सिद्धान्तलाई कृषि स्कुलमा पनि लागु गर्ने हो भने त्यतिबेला सम्भव हुन्छ जब कृषि स्कुल यान्त्रीकृत कृषिभित्र स्थापित गरिएको होस् अर्थात् औद्योगिक कृषिको वातावरण होस् । मार्क्सले भनेको श्रम स्कुल औद्योगिक स्कुल हो । हाम्रो देशको औद्योगीकीकरणसँगसँगै स्वाभाविक रूपमा मार्क्सद्वारा निदिष्ट श्रम स्कुलहरूको स्थापनाका लागि उपयुक्त वातावरण बढीभन्दा बढी प्राप्त हुन्छ ।

हाम्रो अघिल्तिर औद्योगीकृत देशहरू छन्, हाम्रो अघिल्तिर अमेरिका छ, जो बुर्जुवा जनवादका सन्दर्भमा धेरै अगाडि छ तर पनि त्यस देशमा औद्योगिक जनशिक्षा सबैभन्दा पहिले केवल सर्वहाराहरूले मात्र स्थापना गर्न सक्छन् । हामी यो कुरा निर्धक्कसँग भन्छौँ । सबै बालबच्चाहरूको शिक्षालाई चाहे ती मजदुरवर्गका बालबच्चा किन नहोऊन्, ती सबलाई सर्वहाराकृत गर्नका लागि बुर्जुवा सरकारको बुद्धिलाई उछिनेर प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यस अर्थमा मारक्सको श्रम स्कुलको रूप जनवादी औद्योगिक स्कुलको अन्तिम रूप मात्र नभएर सर्वहारा औद्योगिक स्कुल पनि हो । मारक्सले औद्योगिक अप्रेन्टिससिपलाई यस्तै बुझाइ र यस्तै सङ्गठनको आधारमा शिक्षित सर्वहाराको कुरा गरेका हुन्‌, जो ज्यादै छिट्टै माध्यमिक स्कुल र कलेजहरूमा शिक्षित बुर्जुवावर्गका बालबच्चाहरूभन्दा अघि पुग्न सक्षम हुन्छन् ।

अत्यन्तै पिछडिएको कृषिसँग तुलनात्मक रूपमा कमजोर औद्योगीकृत हाम्रो देशमा माक्र्सले निर्दिष्ट गरेजस्तो स्कुलहरू खासगरी फ्याक्ट्री अप्रेन्टिस स्कुलको रूपमा प्रयोगमा ल्याउन सक्छौँ । यस्तो प्रयोग पनि हामी सामान्य र राजनीतिक शिक्षा अथवा व्यायाम–प्रशिक्षणसँग सम्बन्धित साधन स्रोतहरूमा धेरै कटौती गर्नु नपर्ने हदसम्म मात्र लागु गर्छौं । यी सब कुरालाई मार्क्सले ज्यादै महत्त्व दिएका छन् । आज स्कुलसँग सम्बन्धित कतिपय व्यक्तिहरूका बिचमा विद्यमान कारखाना अप्रेन्टिस स्कुलहरूलाई वर्तमान आवश्यकताको दृष्टिले मात्र हेर्ने प्रवृत्तिले हाम्रा स्कुलका अग्रगामी दस्ताहरूलाई अमेरिकी पाराको अप्रेन्टिस प्रशिक्षणको स्तरभन्दा पछि धकेलिदिएको छ ।

अन्य खालका स्कुलहरू जस्तो कि गैरसर्वहारा सहरी बालबच्चाहरूका स्कुलका लागि, ग्रामीण भेगका स्कुलहरू चाहे ती प्राथमिक स्कुल हुन् या किसान युवाहरूका स्कुल हुन्, हामी औद्योगिक श्रमलाई स्थापना गर्न बाध्य छौँ अर्थात् दस्तकारी वा कृषि अर्थव्यवस्थामा आधारित श्रम या ठुला औद्योगिक या औद्योगीकृत कृषि क्षेत्रतर्फको यात्रा गर्न या उपयुक्त ढङ्गले लेखिएको यस्तो पाठ्यपुस्तक या पाठ्यक्रम प्रयोगमा ल्याउन बाध्य छौँ । जुन जीवन्त यथार्थमा आधारित होस्, जसको उद्देश्य मौखिक तथा दृश्य-उपकरणको सहायताले गहिरो खाडल पुर्ने होस्, जुन हाम्रो श्रमकौशलको आधारभूत तहबाट पैदा भएको होस् । देशमा श्रम नै उन्नत स्तरमा पुगेको छैन भने श्रम स्कुलहरूलाई आवश्यक उच्च स्तरमा पुर्‍याउन सकिँदैन । यी कुराहरूबाट के स्पष्ट हुन्छ भने समाजवैज्ञानिक दृष्टिले हामी हाम्रा स्कुलहरूलाई त्यस हदसम्म एकीकृत र श्रम स्कुल भन्न सक्छौँ तथा त्यसका लागि त्यति मात्रामै प्रयास गर्न बाध्य छौँ, जुन हदसम्म हाम्रो अर्थव्यवस्थालाई समाजवादी अर्थव्यवस्था भन्न सक्छौँ तथा त्यति मात्रामा यसलाई पूर्णतः समाजवादी दिशामा अघि बढाउने प्रयास गर्नुपर्छ ।

४. सामाजिक जीवनमा स्कुल

सामाजिक जीवन तथा सामाजिक रूपले उपयोगी श्रममा स्कुलले भाग लिने विचार अत्यन्त महत्त्वपूर्ण छ । यो एउटा त्यस्तो विचार हो, जसमाथि लेनिनले दृढतापूर्वक जोड दिएका थिए, जसको श्रम स्कुलसँग ज्यादै निकट सम्बन्ध छ । साँच्चै नढाँटीकन भन्ने हो भने बुर्जुवा जनवादी देशहरूमा पनि विद्यार्थीहरूलाई पाण्डित्यपूर्ण विद्यालयीय अध्ययनसम्म सीमित गर्ने कुनै कारण छैन तर सुप्रसिद्ध शिक्षाशास्त्री जोन ड्युइ, जो श्रम स्कुल खास गरीकन सामाजिक जीवनमा भाग लिने स्कुलका समर्थक हुन्, उनी आफ्ना पुस्तक ‘भविष्यको स्कुल’ मा उल्लेख गर्छन् – यहाँसम्म कि अमेरिकामा पनि यस्ता यस्ता विद्यालयहरू मुस्किलले आठ–नौवटा मात्र रहेका छन् । यसलाई पनि सन्तोषजनक नै मान्नुपर्छ।

हाम्रो समाजको तीव्र र हलचलयुक्त जीवनमा युवाहरूलाई चाँडोभन्दा चाँडो सहभागी गराउन विद्यालय र त्यस वरपरको वातावरण बिचको सम्बन्धको ठुलो महत्त्व हुन्छ । म यसका बारेमा यहाँ विस्तारपूर्वक बोलिरहेको छैन । म के कुरा मात्रै उल्लेख गर्न चाहन्छु भने यसको अर्थ बहिर्स्कुली जीवनको पछिपछि लुरुलुरु लगाउने हो त ? अहँ त्यसो होइन, हाम्रो विचारमा ग्रामीण क्षेत्र, पछाडि परेको ठाउँ र ठुला सहरहरूमा बस्ने पछौटे जनताहरूको बिचमा स्वास्थ्य शिक्षा, आर्थिक ज्ञान र केही हदसम्म राजनीतिक ज्ञानमा रहेको न्यून चेतनालाई ध्यानमा राख्दै सुरुदेखि नै स्कुलहरूले सामाजिक क्रियाकलापहरूलाई प्रोत्साहित गर्नेछन् । त्यसमा आफ्नो योगदान दिनेछन् । केही वर्ष पहिले अमेरिकाको यात्रा गरेका प्रोफेसर तुलाइकोबले लेखेअनुसार अमेरिकी विद्यालयहरूले पहिलेदेखि नै कृषि क्षेत्रमा काम गरिराखेका छन् तर त्यसका लागि हामीले अमेरिकाको मुख ताक्नुपर्ने आवश्यकता छैन । हामीले अहिले किसान युवायुवतीहरू पढ्ने संसाधनहीन विद्यालयहरूतर्फ नजर लगाउने हो । भौतिक संसाधनका दृष्टिले गरिब भए पनि यी विद्यालयहरूले युवायुवतीहरूलाई गिर्दो कृषि अर्थव्यवस्थालाई समृद्ध बनाउन असाधारण प्यास जगाइदिएको छ । किसान युवायुवतीहरू पढ्ने यी विद्यालयहरूले सर्वत्र कृषि शिक्षाको केन्द्रको हैसियत प्राप्त गरिरहेका छन् । कालुगा प्रान्तमा शिक्षा कमिसारअन्तर्गतको प्रायोगिक केन्द्रको आसपासका गाउँहरूमा खेतीकिसानीको आंशिक सुधारहरूका साथै स्वास्थ्य तथा सफाइको क्षेत्रमा गुणात्मक सुधार ल्याउन विद्यालयहरूले गरेको सफल प्रयास र त्यहाँ राजनीतिक चेतनाको विकासमा गरेको योगदानतर्फ म यहाँहरूको ध्यान खिँच्न चाहन्छु ।

लेनिनको नारा छ कि बच्चा हुन् या नौजवान, अध्ययनका क्रममा समाजको रचनात्मक काममा उनीहरू सहभागी हुनुपर्छ, चाहे त्यो सरलभन्दा सरल अथवा सानोभन्दा सानो रूपमा नै किन नहोस् । लेनिनको यो नारा हाम्रो महान् नारा बन्न पुगेको छ । बुर्जुवावर्ग यसबाट परै भाग्छन् किनभने उनीहरूलाई बालबच्चाहरूमा सामाजिक भावनाको विकास हुन्छ भन्ने डर छ । यस्ता सामाजिक भावनाले बुर्जुवावर्गको शासनप्रति आलोचनात्मक विचारको विकास हुन्छ ।

५. श्रम स्कुलको अन्तर्वस्तुको समाजवैज्ञानिक आधार

विद्यालयको कामको अन्तर्वस्तुसम्बन्धी प्रश्नका बारेमा केन्द्रित हुँदा हामीले एउटा परिघटनाका बारेमा ध्यान दिनु जरुरी छ । आर्थिक दृष्टिले उच्चत्तम रूपमा विकसित समाजका प्रभुत्वशाली वर्ग अर्थात् बुर्जुवा वर्गहरूले वैज्ञानिक सिद्धान्त तथा व्यवहारमा वैज्ञानिक र टेक्नोलोजीसम्बन्धी अनेकौँ ठुलाठुला समस्याहरू हल गर्नु थियो । त्यो हल गर्न सक्नु नै पुँजीवादको महान् सफलताको कारण हो ।

बुर्जुवावर्गहरूले गरेको अथवा उसको निर्देशनमा भएको यति विराट वैज्ञानिक तथा टेक्नोलजिकल खोजहरूलाई बेवास्ता गर्नु हाम्रो मूर्खता ठहरिन्छ । त्यही खोज अमेरिकाको बुर्जुवावर्गको शक्ति (अन्य देशका बुर्जुवावर्गको हातमा कम शक्ति छ) बनेको छ । त्यसैले हामीले पश्चिमी बुर्जुवावर्गहरूबाट टेक्नोलजी र यससँग सम्बन्धित ज्ञानका बारेमा व्यापक मात्रामा सिक्नुपर्छ । यस सन्दर्भमा हामी उनीहरूभन्दा पछाडि छौँ ।

तर, बुर्जुवावर्ग वस्तुगत रूपमा त्यसबेलासम्म मात्र साँचो र विजयी विज्ञानमाथि हावी हुनसक्छ, जतिबेलासम्म वैज्ञानिक दृष्टिकोणको जित बुर्जुवावर्गको स्वार्थसँग टकराउँदैन । यही कारणले गर्दाखेरी तथ्यको सही प्रेक्षण तथा त्यसमा आधारित विज्ञानले समाजविज्ञानको क्षेत्रमा प्रवेश पायो, तब बुर्जुवावर्ग साँचो र वैज्ञानिक समाजविज्ञानबाट पछि सरे । साँचो र वैज्ञानिक समाजविज्ञान अर्थात् मार्क्सवादले पुँजीवाद एउटा अस्थायी परिघटना हो भन्ने देखाइसकेको छ, यसले पुँजीवादको मृत्युको भविष्यवाणी र सर्वहारावर्गको विजयको अनिवार्यता तथा त्यस विजयको असाधारण फलदायी परिणामको घोषणा गर्‍यो । बुर्जुवावर्गले यस्तो विज्ञानलाई स्वीकार गरेनन्, उनीहरूले मार्क्सवादलाई इन्कार गरे, उनीहरूले मार्क्सवादमाथि हमला गर्न बिकाउ तथा अर्धबिकाउ प्रोफेसरहरूको झुन्ड तयार पारे, जसको काम साँचोलाई झुठो र झुठोलाई साँचो सावित गर्नु थियो । यसभन्दा पनि अझ अघि बढेर भविष्य जसको हातमा पर्दैछ, त्यही सर्वहारावर्गको विज्ञान बन्न पुगेको नयाँ समाजविज्ञानबाट डरले थरहरि हुँदै बुर्जुवावर्गले जीवविज्ञानका धेरै पक्षहरूमा, ज्ञानसिद्धान्त, सामान्य दर्शनको आधार तथा निष्कर्षहरूलाई संशोधन गर्न सुरु गरे र सर्वत्र विज्ञानको यस सामान्य पक्षहरूलाई व्यापक रूपमा विषाक्त र तोडमरोड गरेर जालसाजी गरे ।

बुर्जुवावर्गका प्रगतिशील हिस्सा स्कुलमा ठाडठाडै धार्मिक अन्धविश्वासले विद्यार्थीहरूको चेतना विषाक्त बनाउन हच्किन्छन्, तैपनि यही उद्देश्यपूर्ति गर्नका लागि उनीहरू अर्धधार्मिक, भाववादी, अधिभूतवादी विष खोज्न माहिर छन् । विकासमान समाजवादी स्कुलबाट हामीले ज्ञानको सबै अभौतिकवादी अशुद्धताहरूलाई साफ गरिदिनुपर्छ र पढाइँदै गरेको विज्ञानको अधिकांश भागको रूपमा मानिस तथा समाजको बारेमा सच्चा विज्ञान अर्थात् मार्क्सवादलाई स्थापित गर्नुपर्छ । विद्यालय र वास्तवमा जनशिक्षाको सम्पूर्ण प्रणालीको उद्देश्य केवल उचित ज्ञान दिनु मात्र होइन, मानिसको शिक्षा या ‘पालनपोषण’ पनि हो ।

६. सामाजिक वातावरण र समाजवादी स्कुल

नयाँ पिँढी स्वयं जीवनदेखि, सम्पूर्ण सामाजिक प्रणालीदेखि शिक्षित हुन्छन् भन्ने कुरा विलकुल सही हो । समाजविज्ञानको दृष्टिले यो बिल्कुल सही हो तर हामीले पहिले पनि उल्लेख गरिसकेका छौँ कि मार्क्सवादी समाजविज्ञान प्रत्यक्ष निष्क्रिय दावीलाई स्वीकार गर्दैन– ‘सामाजिक जीवन अमूकखाले छ । त्यसैले यसको परिणाम पनि आम नयाँ पिँढीको प्रकृतिमा अमूक रूपमा प्रकट हुन्छ ।’ क्रान्तिकारी मार्क्सवादले सामाजिक वातावरणको विश्लेषण यथासम्भव सावधानी र वस्तुगततासहित गर्छ तर उसले त्यस वातावरणमाथि शक्तिशाली ढङ्गले प्रभाव पार्न सकियोस् भनेर त्यसो गर्छ ।

समाजवादका लागि गरिने आर्थिक र सांस्कृतिक सङ्घर्षको यस प्रारम्भिक अवधिमा जीवन ज्यादै रङ्गीबिरङ्गी हुन्छ । यसमा प्रगतिशील तत्त्वका साथै संदिग्ध र यहाँसम्म कि खराब तत्त्वहरू पनि सामेल हुन्छन् । सामान्यतः यो स्थिति विद्यार्थीहरूलाई शैक्षिक रूपमा समाजवादको योद्धा बनाउने दिशातिर सिधै लैजाने कुरादेखि निकै टाढा छ, जसको हामी भोका छौँ । त्यसो होइन, जीवन मानौँ बालबच्चाहरूलाई हैरान बनाइरहेको छ, घरि दाँया घरि बाँया, घरि पछि घरि अघि गराइरहेको छ । यसले जीवनको प्रभावलाई अस्तव्यस्त बनाइदिन्छ । यसले पारिवारिक जीवनमा भेटिने विगतका कमजोरीहरू जुन आधा पुरानो जमानाको परिवारको नियमावलीअनुसार, आधा क्रान्तिको तुफानले नष्टभ्रष्ट भएको छ ।

दुर्भाग्य, पुरानो प्रकृतिका शिक्षकहरू, गरिबी र अहिले पनि अर्धविकसित अध्यापन विधिहरूका कारण विद्यालयहरू बाह्य जीवनभन्दा गुणात्मक रूपमा धेरै भिन्न छैनन् तर यस्तो हुनु हुँदैन । राज्यको शैक्षिक संस्थाको रूपमा विद्यालय सामान्य समाजको जीवनको नयाँ भावनाबाट चाँडोभन्दा चाँडो ओतप्रोत हुनुपर्छ, यसलाई दैन्दिनको हतारोभन्दा माथि उठाउनुपर्छ, यसबाट साँच्चै शैक्षिक शक्ति उत्पादन हुनुपर्छ । विद्यालयले जीवनद्वारा बालबच्चाहरूमाथि थोपरिदिएका विकृतिहरूलाई सही बाटोमा ल्याउनुपर्छ ।

७. बालआन्दोलन र विद्यालय

अहिले पनि हाम्रो देशमा जनसङ्ख्याको ठुलो हिस्सा निम्न पुँजीवादी बुर्जुवाहरूको छ, अहिले पनि विद्यालयहरूमा घोर गरिबीको छाप छ, यो समाजवादी शिक्षाको एउटा साधन बन्ने दिशामा ज्यादै लोते गतिमा अघि बढिरहेको छ र जीवनले शैक्षिक प्रभावका एउटा अर्को साधन पेस गरेको छ । पार्टीले कोम्सोमोलभित्र आफ्नो लागि युवा कार्यकर्ता तयार गरेर उमेर कम गरिदिएको छ । पार्टीले आफ्नो जरा बालबालिकाहरूको हृदयसँग जोडेको छ, बालबालिकाहरूको जुझारु सङ्गठन ओक्त्याब्रियाता र युवा पायनियर ११ (११ पायनियर १० देखि १५ वर्षका बालबच्चाहरूको सार्वजनिक स्वैच्छिक सङ्गठन हो जुन मे, १९२२ मा स्थापना भएको थियो । सन् १९२३–२४ मा स्थापित ओक्त्याब्रियाता सङ्गठनमा ७ देखि ९ वर्षका विद्यालयका बालबच्चाहरू सहभागी हुन्थे) को स्थापना गरिएको छ । यसमा कुनै शङ्का छैन कि शिक्षाको साधनको रूपमा यसका थुप्रै अपूर्णताहरू रहेका छन् तर पनि यो एउटा ज्यादै शक्तिशाली साधन हो । र, यसमा पनि कुनै शङ्का छैन कि हाम्रा विद्यालयहरू जति उच्च रूपमा विकसित हुँदै जान्छन्, एउटा राजकीय संस्थाको रूपमा विद्यालयका सारा बालबच्चाहरूमाथि उति नै गहन प्रभाव पर्छ । जसले आफ्नो लागि कोम्सोमोलको नेतृत्वमा त्यही कार्यभार पूरा गर्ने उद्देश्य राखेको छ ।

८. शिक्षक र उसको कार्यभार

अन्तमा, शिक्षक समुदाय धेरै हदसम्म परम्पराको लिकबाट बाहिर निस्केका छन्, बिस्तारै–बिस्तारै अक्टोबर क्रान्तिको प्रभावमा पुनर्प्रशिक्षणका लागि काम गरिराखेको कुरा पनि प्रस्ट नै छ । यति हुँदाहुँदै पनि विद्यालयहरूसम्म यसप्रकारको शानदार क्रान्ति भइरहेको कुरा उल्लेख गर्दागर्दै पनि नयाँ शिक्षक समुदायहरूको स्थापनाको प्रक्रिया र त्यसका लागि माध्यमिक तथा उच्च शैक्षिक संस्थाहरूको सही काम र दिशाको महत्त्वको बारेमा विशेष जोड दिनु आवश्यक छ । यस लेखमा म नयाँ मजदुर र किसान बुद्धिजीवी विकसित गर्नेजस्तो विशाल कार्यभारको बारेमा चर्चा गर्दिनँ । उनीहरूलाई हामीले यसरी शिक्षित गर्नुपर्छ कि ज्ञानको दृष्टिले उनीहरू पश्चिमी युरोपका बुद्धिजीवी अर्थात् बुर्जुवा शासकहरूका बफादार चाकरहरूसँग हाराहारीमा पुगून्, त्यसका साथै मजदुर तथा किसानहरूलाई आफ्नो अभिन्न अङ्ग ठानून् । यो हाम्रो निर्माणकार्यको अत्यन्त महत्त्वपूर्ण उद्देश्य हो जसमाथि हाम्रा महान् शिक्षक लेनिनले जोड दिएका थिए ।

मार्क्सवादी अध्यापक सामान्यतः मार्क्सवादी समाजविज्ञानका लागि असाधारण रूपले विशिष्ट व्यक्ति हुन् । मार्क्सवादी अध्यापक समाजवैज्ञानिक शिक्षाबिना, समाजवैज्ञानिक कुराहरूलाई ध्यानमा नराखीकन एक पाइला पनि अघि बढ्न सक्दैन । उसका लागि यी कुराहरूको त्यति नै आवश्यकता पर्छ, जति अध्ययापनविधि आदिका बारेमा जान्न आवश्यक छ । त्यसका साथै मार्क्सवादी अध्यापकले यथार्थका सामु हातखुट्टा पसारेर बस्ने होइन, उसले विद्यालय तथा आफ्नो कामको त्रुटिहरूसहित आफ्ना वरिपरिका विद्यमान कमजोरीहरू यसकारणले गर्दा भएका हुन् भनेर स्पष्ट पारिदिनुपर्छ । उनीहरू कदापि पिछलग्गू हुनु हुँदैन, ‘तपाईं के गर्न सक्नुहुन्छ’, ‘तपाईं कसरी मद्दत गर्न सक्नुहुन्छ’ जस्ता कुराहरू गर्ने होइन । मार्क्सवादी शिक्षक त भविष्यका निर्माता हुन्, उनी भविष्यमा विगत र वर्तमानको उपज मात्र होइन, त्यसको कारक पनि बन्नुपर्छ । शिक्षकहरूले यो कुरा राम्ररी याद गरौँ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला