देशले लोडसेडिङको चर्को मार खेपिरहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत सेवा लिएको अर्बौँ प्रिमियम महसुल तिर्न आनाकानी गरिरहेका उद्योगीको प्रतिरक्षामा प्रधानमन्त्री नै उभिएका छन् । आइतबार संसद्मा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी ओलीले उद्योगीलाई बिलसमेत नबुझाई विद्युत् प्राधिकरणले मनपरी रकम असुल्न खोजेको आरोप लगाए ।

आजकाे नयाँ पत्रिका दैनिकमा लेखिएको छ, ६१ उद्योगले विद्युत् महसुलको आठ अर्ब २६ करोड तिर्न बाँकी छ ।

‘उद्योगीहरूले बक्यौता तिर्दैनौँ भनेका छैनन् । जति प्रयोग गरेका हौँ, त्यो तिर्छाैँ भन्नुभएको छ । प्रयोग कति गरेको हो, त्यसको बिल त सरकारले दिनुपर्छ,’ संसद्मा प्रधानमन्त्री ओलीले भने, ‘तिमी (उद्योगी) धनी छौ । तिमी (उद्योगी)सँग असुल गर्न मन छ । यति मलाई चाहिन्छ भनेर हुन्छ ?’

प्राधिकरणले उद्योगमा गलत हिसाब पठाएको पनि प्रधानमन्त्रीको दाबी छ । ‘मैले प्राधिकरणका एमडी (कुलमान घिसिङ)सहित ऊर्जामन्त्री, ऊर्जासचिव, मुख्यसचिव र उद्योगीलाई बोलाएर शुक्रबार छलफल गराएँ । उद्योगीले प्राधिकरणले भनेको विद्युत् उपभोग गरेका छैनन्, तर उहाँ (घिसिङ)को जवाफ छैन,’ उनले भने, ‘हिसाब बाँधिसकेँ, महालेखालाई आम्दानी भनेर देखाइसकेँ, अब त्यो कहाँ फेरबदल गर्न मिल्छ ? भनुभयो । गलत हिसाब पठाएर फेरबदल गर्न मिल्दैन भनेर तिर्न नपर्ने विद्युत् महसुल असुल गर्न सकिँदैन होला ।’

ओलीले संसद्मा उल्लेख गरेको शुक्रबारको बैठकमा घिसिङलाई लाइन काटिएका ६ उद्योगमा तत्काल विद्युत् जोड्न निर्देशनसमेत दिएका थिए । तर, घिसिङले गिरीशचन्द्र लाल नेतृत्वको आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्बाट निर्णय भएर आएको निर्देशन कार्यान्वयन गरेकाले मन्त्रिपरिषद्बाटै निर्णय भए कार्यान्वयन हुने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले घिसिङलाई ‘तपाईं निर्णय गर्न सक्नुहुन्न भने तपाईंको विषयमा हामी निर्णय गर्छौँ’ भनेर चेतावनी नै दिएको स्रोतको भनाइ छ ।

संसद्मा प्रधानमन्त्रीले उद्योगीको विद्युत् महसुलको विषयमा फेरि छानबिन आवश्यक रहेको बताएका छन् । जब कि यसअघि सरकारले नै दुईवटा समिति र एउटा आयोग बनाएर सुझाव लिएको थियो । त्यस्तै, संसद्को सार्वजनिक लेखा समिति र महालेखाले पनि उद्योगीहरूबाट बक्यौता उठाउन निर्देशन दिएको थियो । यी सबै निकायहरूको प्रतिवेदन र सुझावका आधारमा नै मन्त्रिपरिषद्ले निर्णय गरेर प्राधिकरणलाई बक्यौता उठाउन निर्देशन दिएको थियो ।

तर, फेरि छानबिन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘उद्योगीले प्रयोग गरेको विद्युत्को महसुल तिर्छाैँ र प्रयोग नगरेको तिर्दैनौँ भन्नुभएको छ । मैले पनि असुलउपर नगर्नु भनेको छैन । असुलउपर गर्नुपर्ने गर्नुपर्छ, तर छानबिन गरेर मात्रै । अब यसमा छानबिन गर्नुपर्ने देखियो,’ उनले भने, ‘किनभने, विद्युत् प्राधिकरण र उद्योगीबीच ठूलो मतान्तर देखियो । त्यसको छानबिन गर्नुपर्ने भयो । उद्योग बन्द गरेर पैसा आउँदैन । उद्योग बन्द गरेर पैसा कहाँबाट ल्याएर तिर्ने ? उद्योग चल्न दिऊँ । उनीहरूसँग लिनुपर्ने बक्यौता असुल गरौँ । मन लागेजति असुल गर्न मिल्दैन । कानुनी राजमा बलजफ्ती गरेर तिमीसँग पैसा छ भनेर पाइँदैन । कानुनी राजमा पाउनुपर्ने पैसा पाइन्छ । सरकारले पनि लिनुपर्ने पैसा लिन्छ, तिराउनुपर्ने पैसा तिराउँछ । तिराउन नपर्ने पैसा तिराउँदैन ।’

प्रधानमन्त्रीले ६ उद्योगमा मात्रै लाइन काटेको विषयमा पनि प्राधिकरणलाई प्रश्न गरेका छन् । ‘यो विवाद आजको होइन । नौ वर्षदेखिको हो । यसमा अहिले विद्युत् महसुल लिनुपर्छ र तिर्नुपर्दैन भन्ने विवाद छ । यसमा अहिले आएर पहिलोपटक उद्योगमा विद्युत् काटिएको पनि होइन । यसभन्दा अघि पनि पटक–पटक काटिएका छन् । फेरि के–के मिलाइए र विद्युत् जोडियो । पटक–पटक काट्ने र जोड्ने काम भयो, यसरी भएन,’ उनले प्रश्न गरे, ‘अहिले ६ उद्योगमा मात्रै लाइन काटेको छ, अरू उद्योगमा किन नकाटेको ?

अर्थमन्त्री विष्णु पौडेलले पनि यसअघि सार्वजनिक रूपमै विद्युत् महसुल नतिर्ने उद्योगीहरूको बचाउ गरेका थिए । गत बुधबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटवार्तामा पौडेलले उद्योगीलाई पठाएको बिल नै गैरकानुनी भएको भन्दै प्राधिकरणमाथि आक्षेप लगाएका थिए ।

देश चरम लोडसेडिङमा फसेको समय ०७२ साउनदेखि ०७५ वैशाखसम्म प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगीहरूलाई २० देखि २४ घण्टासम्म विद्युत् उपलब्ध गराएको थियो । आमसर्वसाधारण मात्रै होइन, संवेदनशील अस्पतालहरूसमेत लोडसेडिङको मारमा पर्दा प्राधिकरणले उद्योगहरूलाई भने विद्युत् दिलाएको थियो । तर, उक्त विद्युत्को महसुल तिर्न उद्योगीले आनाकानी गर्दा विवाद चुलिँदै गएको छ । ६१ उद्योगीले उक्त अवधिमा प्रयोग गरेको विद्युत्को महसुल २२ अर्ब २४ करोड उठेकोमा यसअघि नै मन्त्रिपरिषद् बैठकबाट छुट दिएर आठ अर्ब २६ करोड कायम गरिएको थियो । तर, यो रकम तिर्न पनि उद्योगीहरू आनाकानी गरिरहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।