खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले गाउँपालिकाको ‘एक–घर, एक–धारा’ अभियान अन्तर्गत खानेपानी उद्घाटन गरेका छन् । आज सो अभियान अन्तर्गत खानीखोला गाउँपालिका वडा नं. ३ र ४ मा १ सय ७८ वटा धारा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा ‘एक–घर, एक–धारा’ निर्माण भएको थियो । ‘दिगो र गुणस्तर युक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ भन्ने नाराका साथ सो आयोजना अगाडी सारेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष थिङले निर्वाचनको क्रममा मत माग्दै गर्दा आफूहरुले वाचा गरेको महत्वपूर्ण योजना २ वर्ष भित्रमै पूरा गरेको बताए । आफूहरुले खानीखोलामा रहेको २४ सय घरधुरीमा नै स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने प्रयत्नमा रहेको उनले बताए । ‘निर्वाचनको क्रममा हामीले तपाईंहरुसँग विद्युत, सडक र खानेपानी लगायतका विषयमा वाचा गरेका थियौं । हामीले एक–एक गरी पूरा गरिरहेका छौं ।’ उनले भने, ‘अब स्वच्छ र सफा खानेपानी यो २ वर्षकै अवधिमा करिब ७ सय घरधुरीमा पुगेको छ । यो खानीखोला गाउँपालिका भित्र २४ सय घरधुरी छ । मेरै कार्यकालभित्र सबै घरधुरीमा खानेपानीको व्यवस्था गर्ने प्रयत्न म गर्ने छु ।’
बाह्रै महिना गाडी चल्ने सडक, विद्युतिकरण, खानेपानी लगायतका विषयमा आफू गम्भिर भएर लागेको बताउँदै उनले निर्वाचनको क्रममा आफूले गरेको वाचा ५० प्रतिशत पूरा भएको दावी गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव दैवलाल घिसिङ, ५ नं. वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तान, ४ नं. वडा अध्यक्ष निशान मोक्तान, ३ नं. वडा अध्यक्ष सागर जिम्बा, नेवा खानेपानीका सिनियर आयोजना निरिक्षक महेश अधिकारी, सिनियर सामाजिक प्राबिधिक हिमाल श्रेष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख राम पुकार यादव, कार्यपालिका सदस्य खड्क बहादुर बिक, वडा सदस्य तिलक मोक्तान लगायतका सहभागी थियो ।
डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा सो कार्यक्रम आयोजना सहजकर्ता जीवन घिसिङले आयोजनाको आयव्यय प्रस्तुत गरेका थिए ।
उनका अनुसार सो आयोजना सम्पन्न गर्नका लागि नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को तर्फबाट १ करोड २५ लाख ८ हजार रुपैयाँ, गाउँपालिकाको तर्फबाट ४९ लाख ८ हजार ९ सय ५७ रुपियाँ, जनश्रमदानबाट २४ लाख ७६ हजार ५ सय ५० गरी जम्मा १ करोड ७६ लाख ८३ हजार ५ सय ३१ रुपैयाँ लागतमा सो कार्य सम्पन्न भएको थियो ।
सो आयोजनाबाट खानेपानीको निक्कै अभाव रहेका वडा नं. ३ का आहाले जुरे, भाङ्टार, सौरे र चित्रे र वडा नं. ४ का डाँडागाउँ, बाँसघारी, सिरुटारका जनता लाभान्वित भएको घिसिङले जानकारी दिए ।
२०४४ सालमा तत्कालीन प्रधानपन्च बुद्धिलाल जिम्बाको पहलमा बागमती जलाधारबाट बजेट माग गरी खानेपानीको ब्यबस्था गरेको थियो । तर निक्कै जिर्ण अबस्थामा पुगेपछि २०७९ सालमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहकार्यमा गाउँपालिकाको साझेदारीमा शुरु भएको थियो । जेष्ठ महिनमै उद्घाटन हुनुपर्ने सो आयोजना तयारी अभावका कारण उद्घाटन गर्न नसकेको आयोजकले बताएको छ । घरघरमा खानेपानी पुगेपछि स्थानीय खुशी भएका छन् ।
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष कान्छो जिम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भिडियाे हेर्नुहाेस्
याे पनि हेर्नुहाेस्ः
तालढुंगामा १ सय ४१ वटा धारा निर्माण सम्पन्न, अध्यक्ष थिङद्वारा उद्घाटन
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।