धुलिखेल– गत शुक्रबार र शनिबारको बाढीपहिरोमा ‘इपिसेन्टर’ काभ्रे बनेको छ । गृह मन्त्रालयका अनुसार सबैभन्दा ठुलो जनधनको क्षति काभ्रेपलाञ्चोक जिल्लामा भएको छ । अधिक क्षति काभ्रेमा हुनुमा प्राकृतिक र मानवीय दुवै कारण रहेको विज्ञ बताउँछन् । याे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
मन्त्रालयका अनुसार काभ्रेमा ७२ जनाको मृत्यु हुनुका साथै चारजना अझै बेपत्ता छन् । सयौँ व्यक्तिगत घरदेखि राजमार्ग तथा खानेपानी आयोजनालगायत संरचनामा ठूलो क्षति पुगेको छ । बिपी र अरनिको राजमार्गमा ठुलो क्षति भएको छ । ग्रामीण सडक ध्वस्त भएका छन् ।
गाउँगाउँमा विद्युत्का पोलहरू ढलेका छन् । खानेपानी आयोजनाहरू बगाएको छ । सयौँ घर बाढीपहिरोमा विलीन भएका छन् । काभ्रेकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्का भन्छिन्, ‘यहाँ बाढीपहिरोबाट प्रभावित नभएको गाउँ छैन ।’
सबैभन्दा अधिक क्षति काभ्रेमा किन ? विज्ञहरू भन्छन्– यसमा प्राकृतिक र मानवीय दुवै कारण छन् । रेकर्ड ब्रेक पानी पर्नु, काभ्रेको भूबनोट बाढी र पहिरोको जोखिमपूर्ण हुनु तथा वातावरणीय पक्षको ख्याल नगरी सञ्चालन गरिएका खानीहरू र सडक निर्माण यसको मुख्य कारण भएको विज्ञहरूको प्रारम्भिक विश्लेषण छ ।
यद्यपि, खानी तथा भूगर्भ विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको विस्तृत कारण पत्ता लगाउन छुट्टाछुट्टै अध्ययन गरिरहेका छन् ।
प्राधिकरणका सहसचिव अर्जुनकुमार बम काभ्रेको भूबनोटका कारण पनि धेरै क्षति भएको हुन सक्ने बताउँछन् । ‘४५ डिग्रीभन्दा धेरै भिरालो जमिनमा बाढीपहिरोको धेरै जोखिम हुन्छ,’ उनी भन्छन्, ‘काभ्रेका धेरै भूभाग भिराला छन्, त्यही कारण धेरै पहिरो गएर क्षति गरेको देखिन्छ ।’
अर्काेतर्फ पहाडी खोला भएकाले रोशी खोलाको वेग तीव्र हुने भएकाले नदीकिनारका बस्तीमा अधिक कटान गरेको उनी बताउँछन् । ‘पहाडी खोलामा करेन्ट बढी नै हुन्छ,’ सहसचिव बम भन्छन्, ‘त्यसमा पनि पहिरोको गेग्रान मिसिएपछि थप ध्वंसात्मक हुन पुग्यो भन्ने लाग्छ ।’ उच्च गुणस्तरको ड्रोन क्यामेराको सहयोगमा पहिले र अहिलेको भूगोलको अध्ययन गर्ने तयारी प्राधिकरणको रहेको उनले बताए ।
उता खानी तथा भूगर्भ विभागबाट भने अध्ययन टोली खटिइसकेको छ । विभागकी उपमहानिर्देशक मोनिका झा भूकम्पका कारण काभ्रेको जमिन कमजोर भएकाले अहिलेको भारी वर्षाले पहिरो धेरै गएको हुन सक्ने बताउँछिन् । ‘काभ्रेको भूबनोट कमजोर छ, भूकम्पले पनि असर गरेको थियो । ठूलो वर्षा थेग्न सकेन, त्यही कारण धेरै क्षति भयो जस्तो लाग्छ । जिल्लामा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर पनि ठुलो क्षतिको एउटा कारण हुन सक्छ,’ उनले भनिन्, ‘जभाभावी पहाडमा बाटो खन्दा र जोखिम विश्लेषण नगरी बस्ती विकास गर्दा पनि क्षति बढेको हुन सक्छ । यद्यपि, यसको विषयमा बुझ्न टोली खटिएको छ । विस्तृतचाहिँ अध्ययनविना भन्न सकिन्न ।’
जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम मापदण्डविपरीत सञ्चालन भएका नदीजन्य खानी पनि अहिलेको क्षतिको एउटा कारण भएको बताउँछन् । ‘हामीले एक वर्षअघि नै कुन–कुन खानीहरू मापदण्डविपरीत छन्, कुन–कुन बन्द गर्नुपर्छ भनेर प्रतिवेदन दिएका थियौँ,’ उनी भन्छन्, ‘अहिले जहाँ–जहाँ खानी छन्, त्यहाँ बढी क्षति भएको छ, त्यो प्रतिवेदन कार्यान्वयन गरेको मात्र भए पनि अहिले यस्तो भयावह हुने थिएन ।’ घर–घरमा पुर्याउने गरी बनाइएका सडक र एकीकृत बस्तीको अभाव पनि क्षतिको अर्काे कारण भएको उनको मूल्यांकन छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल हाल आफूहरू उद्धार र राहतमा केन्द्रित भएको र ठुलो क्षतिका कारण पनि खोजिने बताउँछन् । ‘ठुलो क्षतिको कारण खोज्नु पनि एउटा महत्वपूर्ण पाटो छ, त्यसमा हामी निर्मम समीक्षा गरेर, गर्नुपर्ने सुधारका काम गर्छाैँ,’ उनले भने ।
मापन हुन थालेयता काभ्रेमा धेरै पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार काभ्रेको तीन केन्द्रमा वर्षाको रेकर्ड ब्रेक भएको थियो । खोपासीमा शनिबार ३३१.६ मिलिमिटर, पाँचखालमा २३२.५ मिलिमिटर र धुलिखेलमा २२४.६ मिमि वर्षा मापन भएको छ । जुन अहिलेसम्मकै उच्च हो । कमजोर भूगोल र उच्च वर्षालाई नै ठूलो क्षतिको कारण मानिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























