ककनी – बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजना गरिएको एक महिने थाङ्का लेखन तालिम शनिबारदेखि ककनीमा सुरु भएको छ। आर्थिक वर्ष २०८१/८२ अन्तर्गत आयोजित यस तालिमले थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

थाङ्का चित्रकला बौद्ध धर्मको सांस्कृतिक, धार्मिक, र कलात्मक महत्त्व बोकेको सम्पदा हो। यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिमको आयोजना गरिएको समितिले जनाएको छ। आयोजक संस्थाका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिमले सहभागीहरूलाई प्राचीन कला सिक्नका लागि गहन अवसर प्रदान गर्ने बताए।

उनले भने, “ज्ञान र सीप सिक्न चासो र लगनशीलता आवश्यक छ। यो तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्नका लागि आवश्यक सीप विकास गर्न प्रेरित गर्नेछ।”

तालिममा प्रशिक्षक छेवाङ ग्याल्चन लामाले थाङ्का चित्रकलाको मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नेछन्। सहप्रशिक्षक सोनाम साङ्मोले कला सिक्ने क्रममा नयाँ दृष्टिकोण र विधिहरू सिकाउने जनाइएको छ।

समितिका सदस्यहरुका अनुसार, तालिममा सहभागीहरूले थाङ्का कलाको धार्मिक, सांस्कृतिक र व्यावसायिक महत्त्वबारे जानकारी पाउने छन्।

तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट करिब डेढ दर्जन सहभागीहरू सहभागी भएका छन्। सहभागीहरूलाई थाङ्का चित्रकलाको ज्ञानले व्यावसायिक अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

तालिम आयोजक समितिका संयोजक रामबाबु सापकोटा र म्हारसाङ तामाङका अनुसार, थाङ्का कला केवल चित्रकला मात्र नभएर धार्मिक दर्शन, सांस्कृतिक पहिचान, र आत्मज्ञानको प्रतीक हो। “यो तालिमले विशेष गरी युवा पुस्तालाई यस कलाप्रति आकर्षित गर्नेछ,” संयोजक सापकोटाले बताए।

अध्यक्ष शेर्पाले यसअघि सञ्चालित यस्तै तालिमहरूबाट कलाकारहरूले सीप विकास गरी आर्जनमा प्रगति गरेको स्मरण गर्दै, यसलाई निरन्तरता दिन समितिले विशेष ध्यान दिएको बताए। “यस तालिमले नेपालमा थाङ्का चित्रकलाको विकास र प्रवर्द्धनमा नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ,” उनले थपे।

थाङ्का चित्रकलाको माध्यमबाट सांस्कृतिक सम्पदा र बौद्ध धर्मको महत्वलाई जोगाउँदै, यो तालिम नयाँ पुस्तालाई प्रेरित गर्न र कलालाई व्यावसायिक रूपमा उचाइमा पुर्‍याउन मील का पत्थर सावित हुने अपेक्षा गरिएको छ।

सांस्कृतिक संरक्षण र प्रोत्साहनको यो प्रयास नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।