आज आमाको देहावसान भएको लगभग तीन महिना पुरा हुना लगिरहेको छ। विगत तीन महिना देखि म आमा बिहिनतको समय व्यतीत गरिरहेको छु। टुहुरो भएको महसुस भएको छु । आमा जीवित रहदा आमाले देखाउनु भएका माया,ममता र स्नेहले भरिएका सुन्दर क्षण अनि आमाको अतुलनीय मायाको अभाव महसुस गरिरहेको छु।त्यही अनुभूतिलाई लिएर मैले यसरी केही शब्द आमाप्रति समर्पित गरेर लेख्ने प्रयास गरिरहेको छु ।
हामी दाजुभाइहरु मध्येको जेठा दाईको पहिलो सन्तानको रुपमा जन्मेकी दाजुभाइ मध्येकै सबैभन्दा जेठी छोरी लक्ष्मीको विवाहको रौनक चलिरहेको थियो । विवाह समारोहमा उपस्थित सबै रमाइरहेका थिए । भोज भतेर र नाचगानमा सबै मस्त थिए । तर यी सबै कुरा हुदाहुदै पनि म भने गम्भीर मुडमा थिए। उपस्थित अतिथि पाहुनाहरुको भिड थियो ।
आ-आफ्नै तालमा ब्यस्त थियो।आमा छेउ कुना कोठाको ढाेका निर लठ्ठीको सहरमा बसिरहनु भएको थियो। त्यो भिडमा म प्रति अंङकित गर्दै इशारा ले मलाई बोलाउनु भयो। आवाजले बोल्न कठिन देखिन्थे । म उहाँको नजिक पुगेपछि आमाको चेहरालाई अध्यन गरे चेहरा मलिन देखे।मलाई नरमाइलो लागे । सदा झै रोगले च्याप्ने बेलामा आमाले जुन कुराहरु गर्नु हुन्थ्यो त्यस बखतमा पनि त्यस्तै अति ह्र्दय स्पर्शी खालका कुराहरू गर्नु भयो। त्यस बेला सम्म घडीको सुईले लगभग एक बजेको संकेत गर्दै थियो।अन्य दाजुभाइहरु र घर परिवारको सदस्यहरु बिबाहित छोरी र जन्तीहरुलाई बिदाइ गर्ने कार्यमा ब्यस्त थियो ।
बिदाइ गर्दा परम्परा अनुसार चल्दै आएको चलन र ख्याल ठट्टा अनि हाँसो र रुवाईको बीचमा करिब दुई बाजे छोरीलाई बिदाइ गरे । त्यस पछि छोरीको बिबाहको भोलि पल्ट छोरीलाई बिदाइ गरेको चौबीस घन्टा नबित्दै आमाले संसार त्याग्नु भयो। एकातिर विवाहको रौनक र खुशी छदै थियो अर्कोतिर ती खुशीहरु परिवारमा एकाएक भाव बिहलमा परिणत भए । भर्खरै मात्र परम्परा कार्य विधि अनुसार उनन्चास दिन सम्म गर्नु पर्ने आमाको अन्तिम संस्कार (घेवा) सम्पन्न भैसकेको छ। आमा बित्नुभन्दा अगाडीका दिनहरुमा आमाले सधै म प्रति चिन्ता व्यक्त गर्नुभएको थियो, ‘आले, मेरा अरू छोराछोरी सन्तानहरू सबैको बन्दोबस्ता भइसके ।
तिम्रो पनि म हुदै यसैगरी बस्दोबस्ता हुन पए हुन्थ्यो भनेर सधै चिन्ता गर्नु हुन्थ्यो। प्रायःजसो मलाई यसै कुराले घोचिरहन्छ ।’ साहित्य र सङ्गीतप्रति मेरो रुचि बाल्यकालदेखिनै थियो । साहित्यमा म कविको रूपमा करिबन स्थपित भइसकेको थिएँ । केही सर्कलमा मलाई कविको रूपमा स्वीकारिसकेका थिए । साहित्य र सङ्गीतप्रति मेरो रुचि छ भनेर आमापनि जानकार हुनुहुन्थ्यो ।कहिलेकाही पत्रिकामा मेरो नाम छापिएर आउँदा आमा दङ्ग पर्नुहुन्थ्यो । मैले गाएको गीत सुनेर उहाँले रमाइलो मान्नुहुन्थ्यो ।
पछिल्लो मेरो ‘ह्यातुङ झरना …’ बोलको गीत मेरो आवाजमा सुनेर त उहाँ मन्त्रमुग्ध नै हुनुभयो । मेरो परिवारमा दुई जना दाइ (टेकबहादुर र माइला), एक जना दिदी (सनी) र एक जना भाइ (कनक) हुनुहुन्छ । म सहित पाँच जना छोराछोरी, मेरा बुबाआमाको । सपरिवारको सङ्ख्या सात । आमाले मेरा दाइ, दिदी र भाइलाई भन्दा बढी माया मलाई नै गर्नुहुन्थ्यो । यति सम्म माया गर्नु हुन्थ्यो कि म घरबाट कतै टाढा जादै गर्दा म डाँडाबाट ओझेल नपरुन्जेल सम्म हेरिरहनु हुन्थ्यो।
म अलिक भावुक प्रकृतिको छु । साहित्यमा रुचि, सानैदेखि । सङ्गीतमा रुचि, सानैदेखि । आमाको देहावसान पछि लगातार दुई दिनसम्म आमालाई सम्झेर रोइरहेँ । पछिल्लो समयमा आमाले आफ्नो जीवनको अन्तिम समय उपचारको सिलसिलामा काठमाडौमा मसँग बिताउनुभयो । त्यस समयमा आमालाई चौबीसै घन्टा जस्तो स्याहार सुसर र सेवा गर्न अवसर मिल्यो । जसले मनभित्र आनन्द तुल्याउथ्यो।अनि मेरो काखमै उहाँले आफ्नो प्राण त्याग्नुभयो । आफू बित्नुभन्दा केही दिनअगाडिसम्म आमाले टेलिभिजनमा तामाङ गीत, तामाङ चलचित्र, लोकदोहोरी र धार्मिक च्यानलहरु रुचिका साथ हेर्नुहुन्थ्यो ।
आफूलाई भुलाउनुहुन्थ्यो । दमको पीडालाई केही समयका लागि भए पनि भुल्नुहुन्थ्यो ।श्वासप्रश्वास सम्बन्धि (दम)को रोग, आमाको लागि दीर्घरोग थियो । करिब तेह्रबर्स अगाडि देखि नियमित रुपमा दमको औसधि सेवन गर्दै आउनु भएको थियो। त्यसमाथि पछिल्लो समयमा उहाँको शरीरमा अक्सिजनको स्तर सामान्य रहन सकेनँ। जस्ले आमाको लागि थप पिडादायी बन्यो। त्यही समयमा मैले गाएको एकमात्र गीत ‘ह्यातुङ झरना …’ लाई उहाँले प्रेमपूर्वक सुन्नुभयो र मलाई हौसला दिनुभयो । उहाँको हौसलालाई मैले आशीर्वादको रुपमा लिँदै आएको छु ।
आमाका हरेक वचनहरु मेरा लागि मार्गदर्शन सावित भइदियो । म आमा बालाई जीवित रहुञ्जेल श्रद्धा र सेवा गर्नु पर्छ भन्ने बिचरबाट प्रेरित छु। मैले आमालाई केही कुरामा कमी हुन दिएन भन्ने लाग्छ। आमाका हरेक आवश्यकताहरुलाई मेरो हैसियतले भेटे सम्म सकेको पूर्ति गर्दै आइरहेँ । मैले बालखैदेखि आमाको लत्ताकपडा धुँदै आएँ । दुबै अँखाको अप्रेसन पछि चुलोमा बस्न नमिल्ने अवस्थामा उहाँको अवस्थालाई बुझ्ने कोशिश गरे । उहाँको अशक्ततालाई महसुस गरेर आमालाई नुहाउँदै आएँ । मेरो दिन उहाँलाई स्याहादै बित्थ्यो । मैले सकेको उहाँलाई सहायता गर्दै आएँ । उहाँले चाहेको कुरा पूर्ति गर्दै आएँ ।
कुनै कुरामा उहाँलाई मैले कमी हुन दिइनँ । बास्तबमा, आमा मृत्युसँग भयभीत हुनुहुन्थ्यो । तर मृत्यु शास्वत सत्य थियो। केहि समय सम्म बाच्न पाए हुन्थ्यो भन्ने किसिमको भावनाहरु व्यक्त गर्नु हुन्थ्यो। मृत्यु पश्चात् के हुने होल, चितामा मेरो लाश जल्द सायद मलाई पोल्छ होला, आपाले एक्लै महसुस गर्ने होला, तिमीहरू सबैको भबिस्य के होला भनेर एक्लै टोलाइ रहनु हुन्थ्यो। उहाँले एक दिन भन्नु भयो “अले” म केहि गरि मरिहले भने मैले टीभी हेर्न पाउदैन होला है” विगतमा गीत कविता लेखिसकेपछि मैले पहिले आमालाई सुनाउँथेँ । आमाले पुलकित हुँदै सुन्नुहुन्थ्यो । अनि भन्नु हुन्थ्यो “अले” राम्रो छ ।
अहिलेसम्म पनि मैले आमालाई सपनामा देख्छु। सपनामा कहिले उहाँ रोइरहेको देख्छु भने कहिले चाहिँ उहाँ हाँसिरहेको देख्छु । सपनाबाट ब्युँझेपछि म धेरैबेरसम्म आमालाई सम्झेर बसि रहन्छु । आमा जीवित छँदा कहिलेकाहीँ आमाको आवश्यतालाई मैले पूर्ति गर्न नसकेको खण्डमा भने मलाई धेरै दिनसम्म निद्रा लाग्दैनथ्यो । म दिनरात अनिँदो रहन्थेँ ।
अन्ततः आमाको आवश्यकतालाई पूर्ति गरेरै छाड्थेँ । मप्रति पहिलेदेखि आमाले जुन कुराको चिन्ता लिनुभएको थियो, त्यो कुरा आमा बित्नुभन्दा एक दिन अगाडि मात्रै आमाले प्राप्त गर्नु भएको थियो । जुन कुरालाई उहाँले आफ्नै हातले प्रेम पुर्बक स्पर्श गर्नु भयो। बर्सौ देखिको उहाँको चाहाना जिवित रहदै महसुस गर्नु भयो । उहाँले खुसी हुँदै भन्नूभयो, ‘अब, यसलाई समहालेर हुर्काउनू ।’ आमा बितिसकेपछि म कसैले नदेख्ने गरि आवाज निकालेर रुन मन लाग्थे दैनिकजसो ।
म जत्ति रुँदा पनि आमा फर्केर आउनुहुन्नथ्यो । तर, पनि म आवाज निकालेर रोइरहन्थेँ, एकनासले … । अहिले पनि आमालाई म दिनप्रतिदिन सम्झिरहन्छु । आमाको याद गरिरहन्छु । यदि पुनर्जन्म सम्भव छ भने म आमालाई भन्थेँ– ‘आमा, अर्को जन्ममा पनि म तिम्रै कोखमा जन्मन पाउँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।