नेपालको समकालीन राजनीतिमा जनताको आस्था, आक्रोश र अपेक्षाले विभिन्न स्वरूप लिएका छन् । कहिले गीतमा, कहिले कार्टुनमा, कहिले सडकमा त कहिले टेलिभिजन स्क्रिनमा जनभावना प्रकट भएको देखिन्छ । सत्ताको आलोचना गर्नु अहिले नेपाली समाजमा केवल अधिकार नभएर नागरिक चेतनाको प्रतीक बनेको छ । जिम्मेवारी,कर्म र स्तर अनुसार आलोचना सबै नेताको हुन्छ । पछिल्ला केही वर्षमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जनताले प्रश्न उठाउने तरिका परिवर्तन भएको छ–अब उनी गीतका शब्द होइन, कमेडी शोका पात्र बनेका छन् । ५ बर्ष अगि पशुपति शर्माले अनेकन धम्कीहरु झेलिए जस्तै कमेडी शोका निर्माता र निर्देशकले धम्कीहरु सामना गर्नु पर्ने हुनसक्छ । यति बेला हावाले भरिएको बेलुन माथि “उडिरहेको प्रधानमन्त्री प्रति जनताको आक्रोश छ, ब्यङ्ग्य छ, प्रश्नहरु छन् ।
पशुपति शर्माको गीतदेखि कमेडी शोहरुसम्म
केही वर्ष अगाडि पशुपति शर्माको चर्चित गीत “लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै छ छुट” ले सत्तामा बसेकाहरूलाई असहज बनायो । जनताको पीडा,राज्यको उदासीनता र चरित्र गीतमार्फत मुखरित भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गीतमा आपत्ति जनाउँदै सरकारी मिडियामा प्रतिबन्ध नै लगायो । गायक माथि धम्क्याउने थर्काउने सम्म भयो । तर, जनदबाबले त्यो प्रतिबन्ध लामो समय टिक्न सकेन । त्यतिबेला ब्यङ्ग्य गीत मार्फत सरकारको चर्काे आलोचना मात्र भएन,चरित्र उदाङगो भयो । अहिले दृश्य माध्यमको ‘कमेडी शो’हरूले सोही आलोचना थप तिखो ढंगले गरिरहेका छन् ।
आजकल कमेडी दरबार, कमेडी नाइट लगायतका ठूला टेलिभिजन शोहरू तथा युट्युब च्यानलहरूले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमाथि तीव्र व्यङ्ग्य प्रहार गरिरहेका छन् । ती कार्यक्रमहरूमा ओलीलाई भ्रष्टाचारका संरक्षक,गफाडी शासकको रूपमा देखाइन्छ ।
यो व्यङ्ग्य मनोरञ्जनको लागि जस्तो देखिए पनि, एक सामाजिक संवाद हो । नागरिकहरूले जब प्रत्यक्ष प्रश्न सोध्न सक्दैनन्, तब हास्य कमेडीको माध्यम बनाउँछ । हास्य कमेडी प्रतिरोधको औजार पनि हो । हुन पनि “मरिजको बढेमाको रुख हुन्छ”,“पाकिस्तान र भारतको युद्ध मैले रोकि दिए”,“नेपालले ‘सुपरकम्प्युटर’ बनाउँदैछ, विश्व अचम्मित भइरहेको छ ।” भन्ने केपी शर्मा ओलीको भाषणका यी शब्दहरुमा हाँसो नउठ्ने को होला ।
जनताको मनोविज्ञानमा कुशल नेताको खोजी
संसार यति धेरै नजिक छ कि दुनिया भरको सूचना,समाचार छिन भरमै हात हातको मोबाईलमा श्रब्य दृश्य सहित आईपुग्छ । हरेक नेपाली युवाको हातमा मोबाईल नहुने कुरै भएन । युवाहरुले कुर्सीमा र्याल चुहाउदै गरेका,कमेडी भाषण गर्दै गरेका हाम्रा नेताहरु मात्र हेर्दैनन् । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोका ३४बर्षे राष्ट्रपति ईब्राहिम त्राओर फ्रान्सेली साम्राज्यवाद बिरुद्ध गर्जिरहेको,अमेरिकाको नाकैमा मादुरोको गर्जन,८०बर्ष देखि अमेरिकी नाकाबन्दी बिज क्युबाको बिकास,संसार भरिमा एक्लो देश उत्तर कोरियाको नेता ४०बर्षे किम जोङ ऊनको हुंकार,अमेरिकाले थिलो थिलो बनाएका भियतनाम समाजबादीका नेता तथा बिश्वको गरिब राष्ट्रपति होचिमिन्ह र ४०लाख जनसंख्या भएको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका गरिब राष्ट्रपति गुरिल्ला नेता होसे मुहिका कमरेड पेपे सम्मलाई सजिलै पढ्ने गर्दछ । नेपालका नागरिक, विशेषतः युवा पुस्ता, अब भाषण होइन, कार्यमा विश्वास गर्छन् । यस्तै शाहसी र आटिला नेताको उदय होस भन्ने अपेक्षा राख्छन् ।
झिल्कोको रुपमा लोकतन्त्रको सुन्दर फुलबारीमा फक्रिएका बालेन शाह, हर्क साम्पाङ, भरत थापा, गोपी हमालजस्ता मेयरहरू जनताबीच लोकप्रिय छन्, किनभने उनीहरूले आफ्नो व्यवहार, इमान्दारी र कामबाट केही उदाहरण प्रस्तुत गरेका छन् । जनताले आशा र भरोषा पनि गरेका छन् । तर प्रधानमन्त्री ओली लगातार आफ्ना भाषणमार्फत ती केही सफल नेतृत्वहरूप्रति विष वमन गरिरहेका छन् । परिणामस्वरूप, नागरिक मात्र होइन, हास्य–व्यङ्ग्यका कार्यक्रमहरूले समेत उनलाई ‘गफाडी’, ‘अहंकारी’ र ‘भ्रष्टाचारी संरक्षक’ ‘भ्रष्टाचारी’ पात्रको रूपमा चित्रण गर्न थालेका छन् ।
आलोचनाको कारणः भ्रष्टाचार र असहिष्णुता
केपी ओली नेतृत्वको सरकारमाथि भ्रष्टाचारका अनेक आरोपहरू छन्, सूची लामै छ । कुलमान घिसिङजस्ता कुशल र जनप्रिय व्यक्तिलाई बर्खास्त गर्दा जनताको आक्रोश चुलियो । पछिल्लो समय ‘भिजिट भिसा काण्ड’ मा प्रधानमन्त्रीको नाम जोडिनु, गृहमन्त्री रमेश लेखकको संलग्नता, र सहकारी घोटालामा एमाले–कांग्रेस नेताहरूको उन्मुक्ति– यिनले जनताबीच सरकारप्रतिको अविश्वास गहिरो बनाइरहेको छ । जब रवि लामिछाने मात्रलाई आरोपित गरिन्छ र ठूला नेताहरू बचाइन्छन्, तब सरकारको नीयतप्रति गम्भीर प्रश्न उठ्छ । “म भ्रष्टाचार गर्दिन,अरुलाइ पनि गर्न दिन्न, भ्रष्टाचारीको अनुहार पनि हेर्दिन” भनेर नथाक्ने प्रधानमन्त्री केपी ओलीको यो शब्द यति बेला गतिलो ब्याङ्ग्य वाण साबित भएको छ ।
निष्कर्षः उही शैली, फरक माध्यम
एक समयमा गीतले प्रधानमन्त्रीको यथार्थ देखायो, अहिले ‘कमेडी शो’हरूले त्यसलाई रंगमञ्चमा उतारिरहेका छन् । दुवै माध्यम जनताका आवाज हुन् ब्यङ्ग्य र व्यथा मिसिएको । फरक यति हो, पहिला प्रतिबन्ध लगाइन्थ्यो, अहिले उपहास सहिन्छ । प्रतिबन्धको चुनौति पनि आउन सक्छ । केपी ओली अहिले गीतका शब्द होइनन्, व्यङ्ग्यको पात्र बनेका छन् । तर जनआवाज दबाएर होइन,धैर्यता पुर्बक सुनेर आगामी यात्रा तय गर्दा नेताको चरित्र उँचो हुनेछ । देशले पनि एउटा खोजेको नेता पाउने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।