सर्बप्रथम ! दोरम्बाको रक्तरञ्जित धरतीमा र इतिहासको पानामा अमिट छाप छोडी अमर भएका महान् शहीदहरूप्रति अनन्त सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
युद्ध हो ! पलपलले बाँचेका धेरै उदाहरण छन् । ती दिनहरू मानसपटलमा अझै नाचिरहेकै छ । एच.क्यु. टिम, जिल्ला इञ्चार्ज, सेक्रेटरी, जनसरकार प्रमुख, मिलिसिया इञ्चार्ज,लगायतका एउटा जम्बो टिम धेरै दिनदेखि हामी सँगै थियौं ।
म अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला अध्यक्ष भएकाले एच.क्यु. टिमसँगै थिएँ । २०६० साउन ३२ गते दोरम्बा इलाकाको बैठक थियो । युद्घ बिराम र सरकार संग बार्ता चलिरहेकाले सुरक्षाको कुनै असजता थिएन । त्यस इलाकामा जिल्ला कोषाध्यक्ष हर्क घिसिङ भएकाले बैठकमा मेरो अनिवार्य उपस्थिति त थिएन, तर यसपटक बैठकमा पुग्ने गरी एच.क्यु टिमसँगै थिएँ । तर २९ गते खबर आयो, ३१ गते अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय, पुतलीसडकमा पुग्नुपर्ने । म हिंडेँ । टोकरपुरबाट टिमसँग छुटेँ । बाटोमा कमरेड सोम सेन्टी बसी रहनु भएको थियो । हात मिलाए छुटेँ ।
३२ गते अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय पुगेँ, त्यहीँ हिमाल शर्माबाट खबर सुनेँ, रामेछाप पूरै सखाप भयो । सञ्चार माध्यम अहिले जस्तो व्यवस्थित थिएन । रेडियो, टिभीकै भर थियो ।
उता दाङको हापुरेमा वार्ता चलिरहेको थियो । कृष्णबहादुर महराको टोली र सरकारी वार्ता टोलीबीच संवाद चल्दै थियो ।
दुई दिनअघि दह्रो हात मिलाएर छुटेका साथीहरू कोही जीवित थिएनन् । जनसरकार प्रमुख बाबुराम योन्जन, जनमिलिसिया कमान्डर का. रक्तिम सहित २२ जना साथीहरूको सहादतको खबर आयो ।
मन भतभती पोलिरह्यो । भोक, तिर्खा, निद्रा लाग्ने कुरै भएन । शहरमा पनि कुन बेला के हुने हो,कुनै ठेगान थिएन । सबै ठाउँमा सबैले सतर्क अपनाउन सर्कुलर नै आयो ।
बैठक र आबश्यक कामहरु सकेर शहरबाट छिटो निस्कनुको विकल्प थिएन । रामेछापका लागि छुट्याइएको सामग्री भूपू श्रमराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको गाडीमा ड्राइभरलाई जिम्मा लगाएर पठाइयो । उपत्यकाका साथीहरूको सल्लाह अनुसार म काठमाडौंबाट रामेछापका लागि बस प्रयोग नगर्ने पैतल हिडेर जाने निधो गरेँ ।
साथीहरूकै साथमा रहेर काठमाडौं, भक्तपुर, बनेपा, पाँचखाल हुँदै ५ दिनमा कोशीपारी पुगेँ । रामेछापको सिमाना पुग्दा ड्राइभर इन्द्र सकुशल सामग्रीहरु पु¥याएर फर्किरहेको थियो । धन्यबाद भने । म आफ्नो कार्यक्षेत्र पुगेँ ।
“युद्धविराम र वार्ता चलिरहेकै समयमा २२ जनाको हत्या गरेर राज्यपक्षले वार्ता र शान्ति होइन, युद्ध नै चाहन्छ भन्ने कुरा संसारभर प्रष्ट भयो । एकपक्षीय युद्धविराम भंग भइसकेको थियो । सेना फेरि ब्यारेकहरूबाट निस्केर आतंक मच्चाउँदै गाउँ–गाउँ पसिसकेको थियो ।”
जीवित रहेका साथीहरूसँग भेट भयो । फेरि एकपल्ट शहीदहरूको सपना पूरा गर्ने दृढ सङ्कल्प गर्यौं । बगेको रगतको जगमा आज संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त त भएको छ, तर त्यो पनि आधारभूत वर्गको हातमा छैन । दलाल संसदीय पुँजीपतिहरूको हातमा सीमित छ ।
शहीदहरूले देखाएको सपना आज अलपत्र छ, ठिक दिशा पक्रिरहेको छैन । दोरम्बा हत्याकाण्ड जस्तै सयौं हत्याकाण्डमा सहादत प्राप्त गर्ने हजारौं शहीदहरूको रगतले नेताहरूलाई फेरि क्रान्तिकारी बनाओस् । आधारभूत वर्ग नभुलून । समाजवादको बाटो नबिर्सिउन् ।
देशलाई समुन्नत र समृद्ध बनाउन,महान शहीदहरूलाई लाल सलाम ! दोरम्बाको रक्तरञ्जित धरतीमा र इतिहासको पानामा अमिट छाप छोडी अमर भएका महान् शहीदहरूप्रति अनन्त सम्मान सहित र भावपूर्ण श्रद्धाञ्जली !
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।