–राजिव माेक्तान तामाङ

काभ्रे वाङथील क्षेत्र साबिक वाङ्थली गाबिस हो । हाल राजधानी काठमाडौंबाट ७५ किलो मिटर काभ्रेपलान्चोक जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ५० किलो मिटर पुर्बमा रहेको यो चौरीदेउराली गाउपालिका वडा नम्बर १ मा पर्दछ । यो क्षेत्र काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमा क्षेत्र पनि हो । साङास्वाती लेक समुद्री सतहबाट २३५० मिटरको उचाइमा रहेको छ, जुन काभ्रे कोशीपारि क्षेत्रको सबैभन्दा अग्लो स्थान हो । शैलुङको ठिक सामुन्नेमा पर्ने लौरेदेउराली समुद्री सतहबाट २२०० मिटरको उचाइमा रहेको छ ।

“साङस्वोती ल्हा” बाट “साङस्वोती लेक” भएको हो । लौरेदेउराली पुरानो हुलाकी पदमार्गमा पर्ने प्रमुख व्यापारिक केन्द्र हो । तामाङ भाषाको “काठि घ्याल्बा गाङ” को खस करण लौरेदेउराली हो । आजभोली देउराली गाङ बढी प्रचलनमा रहेको छ । सोलुखुम्बु सम्मको यात्रा यहि पद मार्ग हुँदै जाने गर्दथ्यो । यस ठाउँमा यात्रुहरू आराम गर्ने ढाक्रे पाटी,भारी बिसाउने ३००मिटर लामो ढाक्रे चौतारो,पानी पिउने ढाक्रे कुवा,एकै पटक सय चुलो राख्न मिल्ने र खानाको बन्दाबस्ता गर्न सक्ने ब्यबस्थित ढाक्रे चौर थियो । जसको अबशेषहरु अहिले पनि हेर्न सकिन । पुर्ब ६ घ्याङ मध्य ४वटा यसैको वरिपरि पर्दछ ।

यो क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट स्थान हो । पंचायतकाल २०३४ साल सम्म नाग्रेगगर्चे र वाङ्थली क्षेत्र तामाखानी पंचायतको रूपमा परिचित थियो । यहाँ विभिन्न जातीय समुदायहरूको बसोबास रहेको छ, जसमा तामाङ, नेवार, खस क्षेत्री, बाहुन र केही दलित समुदायका परिवारहरू छन् । कुनै बेला गुरुङहरुको बस्ति पनि थियो भन्ने प्रमाणहरु छन् तर हाल गुरुङ समुदाय छैनन् । गुरुमाराङ (गुरुङ म्राङ–गुरुङको बारी) नाम जिबित छ । संगैको नाग्रे बोल्दोङचेमा नेवार समुदायको निकै ठुलो बाक्लो बस्ति छ । नेवार समुदायमा पनि तौथली भाषा बोल्ने प्रधानहरु धेरै छन् । तर यहाँ धिमे बज्दैन,हाकु परासीको चलन खास छैन । १मात्र मल्लकालिन खाँडादेबी मन्दिर आस्थाको केन्द्र हो । तौथली नेवारी भाषाको भने राम्रो संरक्षण छ । हाल मिश्रित बसोबास रहेको यश क्षेत्रमा केही संख्यामा मगरहरु छन् मातृभाषा बोल्दैनन् ।

तामाङ समुदायले करिब ४०% जनसंख्या ओगटेको भए पनि यहाँका भौगोलिक नामहरु ९९ प्रतिशत तामाङ भाषासँग सम्बन्धित छन् । यसले यहाँको इतिहासमा तामाङहरूको सांस्कृतिक जरा गहिरो रहेको संकेत गर्छ । तामाङ समुदायको ऐतिहासिक उपस्थिति र योगदान यहाँका नामावलीहरूमा झल्किन्छ । स्थाननाम, ब्युउत्पति र अपभ्रंसको तालिका हेर्नू अगि तामाङ जातिको बारेमा बिद्वानहरुले के लेखेका छन् हेरौं ।

डा.कमल मादेन “चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती” शिर्षकमा लेख्छन् “संसारभर, अन्तिम हिमयुग करिब ११ हजार ७०० वर्षअघि अन्त्य भयो । त्यसपछि संसारभर खेतीपाती तथा पशुपालन शुरु भयो । यही क्रममा उपत्यकाको उत्तरी पहाडतर्फ तिब्बततिरबाट घुम्दैफिर्दै मानिस आइपुगे । उनीहरू उपत्यकामा सुकेको कतै दलदल भएको ठाउँमा बस्न रुचाएनन् । उनीहरू अग्लै ठाउँमा बसे । शायद उनीहरू तामाङका पूर्वजहरू थिए ।

पूर्व उत्तरतिरबाट ४–५ हजार वर्षअघि मानिस आए । उनीहरू होचो पहाड र समथरमा पनि बस्थे । तिनीहरू कालान्तरमा किरात समुदाय भनेर चिनिए । गोपालराज वंशावलीमा लेखिएको किरातभन्दा अघिको गोपाल र महिषपाल वंश कपोलकल्पित हो । ती दुई वंश प्राचीन कालमा काठमाडौं उपत्यकामा थिए भन्ने भाषिक, सांस्कृतिक र आनुवंशिक रूपमा पुष्टि हुँदैन । हिन्दूहरूले १४औं शताब्दीमा वंशावली लेख्दा कल्पना गरेर लेखेको हुनुपर्छ । करिब २ हजार वर्षअघि दक्षिणतिर भारततर्फका मानिस आए । पश्चिमबाट भने बाह्रौं शताब्दी ताकाबाट मात्र काठमाडौं उपत्यकामा आएका हुन् ।

पुरातत्वविद जनकलाल शर्माले “हाम्रो समाज एक अध्ययन” नामक पुस्तकमा उल्लेख गर्नु भएको छ । श्री ५ को सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थाका पुरातत्वविद डा. एनातोली याकोब्लेभ र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्व तिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्ष पुरानो हो । प्राप्त ढुङ्गाका हतियारहरू मध्य १ गोवी नमुनाका धार भएको र उक्त ढुंगे हतियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपाल सम्म आइपुगेको देखा पर्दछ । ईसापुर्व ३०,०००बर्ष पहिले देखि नै मंगोलहरु काठमाडौं उपत्यकामा उत्तरतिरबाट आएर आबाद भए । हामी सब भन्दा पुराना बासिन्दा हौं भन्ने तामाङहरूको धारणालाई पनि यसले निकै पुष्टि गर्दछ ।

अब लागौ वाङथली र बोल्दोङचे क्षेत्रको तामाङ भाषाका नामहरु कसरी अपभ्रङस भयो वा गरियो ? हेरौं !

१)बाङथली (अर्थ के?)तामाङले बोल्ने वाङ्थिल/वाङथली(वाङ–अभिषेक/थली–ठाउँ) लामा गुरुबाट अभिषेक लिने ठाउँ ।

२)साँगास्वोती (अर्थ के?)तामाङले बोल्ने “साङास्वाते“(कोदो धेरै फल्ने अग्लो स्थान) वा (साङ् –पबित्र/सोदे–जीबित हुन्जेल)स्योदे–टोपी/शिर) साङस्योदे(सबै भन्दा अग्लो पबित्र स्थान) हुनुपर्छ ।

३)लौरेदेउराली (अर्थ के?)तामाङले बोल्ने “काठी घ्याल्बा घाङ्” (लौरो फाल्ने डाँडा) देउराली गाङ

४)पात्ले (अर्थ के?)तामाङले बोल्ने “पाङग्रेन“(ठुलोचौर)

५)ठुलो वाङ्थली–तामाङले बोल्ने “वाङ्थिल ग्रेन”

६)सानो वाङथली–तामाङले बोल्ने “वाङ्थिल जाजा”
७)गुरुमाराङ(अर्थके?)यो “गुरुङम्राङ”हुनु पर्छ । (गुरुङको बारी)
८)बल्लु चे (अर्थ के?) “बलहरु बस्ने वा बलको नागथान” हुन सक्छ । बल–तामाङको एक थर/लु–नाग/चे–समथल ठाउँ (बल–लु बाट बल्लु)भएको हुनु पर्छ ।
९)सिंगारचे(अर्थ के?) सिगमार रोप्ने समथल ठाउँ ।
१०)सिम्ले (अर्थ के) तामाङले बोल्ने “ताङसार ङार”(ताङसार–मृग/ङा–पाँच) पाँच मृग भएको ठाँउ ।
११)सेतिदेबी–तामाङले बोल्ने “तारल्हामो“

१२)मान्कुखोला– तामाङले बोल्ने“म्हान्घु स्योङ”

१३)मुन्दाङ स्योङ–(अधेरी खोला)

१४)लामाचुर्गु–(यो नाम कसरी रह्यो खोजी कै बिषय छ ।)लामाचुर्कु(उन्नाइस),लामचुख्री(लाम–बाटो/चुख्री–एघार)

१५)लामच्युर(लाम–राजपथ/राजमार्ग/हुलाकी पदमार्ग/चुर–थोरै,नाम च्युरच्यर)

१६)गोन्पो घाङ्–गुम्बा डाँडा (यस ठाउँमा कुनै बेला गोन्पो हुनुपर्छ)

१७)उ घु–ओढारको भित्ता(भन्ने ठाउँमा पोङथीको लामाले तपस्य गरेको कथा छ)

१८)कुर्थली(अर्थ के?)तामाङले बोल्ने–कुर्तली(कुरबा ताली)जमिनको सतह–सातली

१९)जरङ्गे–(जा+रेङ्गे)छोरा उठ(केही कथा हुनु पर्छ ।

२०)चरङ्गे–(अर्थ के?)खोजि कै बिषय छ।(कथा हुनु पर्छ)

२१) वम्रु–(अर्थ के?)तामाङले बोल्ने ओमरो–लामाको ओम भएको ठाउँ ।

२२)गुमपटी(अर्थ के?)तामाङले बोल्ने(घुमपटी) भोर्लाको पातले छाएको पाटी ।

२३)दामदाम घु–(ठुलो तबला जस्तो भितो)

२४)राछापा–बाख्रा चराउने ठाँउ ।

२५)बेङ्कटी (बेङगो कठीबाट आएको हो–लौरो फाल्नु)पहरी राजाको दरबार नजिकै भएकाले युद्ध संग सम्बन्धित हुनु पर्छ । लौरो फालेर सम्झौता गरेको ठाउँ)

२६)सुङ्गुरे (अर्थ के?)तामाङले बोल्ने सुङरे(जुँगा)कोहि जुँगा मुठे मान्छे बसेको ठाउँ हुनु पर्छ ।
२७) गोठ डाँडा–गोठे गाङ

२८)सार गङ्, ङ्हार गङ,न्हाईनी म्राङ,तोदी,ङ्हार धिम,दपुर न्हान्,डुम न्हान,

तामाङ जातिको ऐतिहासिक बसोबासः

तामाङ समुदाय सदियौं बर्ष पहिले हिमाली क्षेत्रहरू पार गर्दै काठमाडौं उपत्यका वरिपरी विभिन्न स्थानमा पुगे । उनीहरूको संस्कार, परम्परा, भाषा, र कृषि प्रणाली भूगोलसँग अनुकूलित हुँदै गए । गाई,भैसी,चौरी भेडा र च्याङ्ग्रा (झ्याङ्रा)पालन गर्दै जंगल फडानी गरेर आवधिक जमिन बनाए,आफ्नो आस्था,बिश्वास अनुकुलका संरचनाहरु बनाउदै गए । तसर्थ वाङ्थली र बोल्दोङ्चे क्षेत्रमा तामाङहरू प्राचीन कालदेखि बसोबास गरिरहेको प्रमाण यहाँका स्थाननामहरूमा पाइन्छ ।

ठाउँको नाम अपभ्रंश हुने कारणहरु के हुन् ?

समयसँगै ठाउँहरूको नाम अपभ्रंश हुनु भाषिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक,धार्मिक र राजनीति हस्तक्षेपका कारणहरूले गर्दा हुने प्रक्रिया हो । नेपालमा लामो समय एक भाषा,एक धर्म एकल शासनका कारण पनि अपभ्रंश भएका छन् ।

१. भाषिक रूपान्तरण र स्थानीय बोलीको प्रभावः उच्चारणको सहजताका लागि मूल शब्द परिवर्तित हुन्छ । उदाहरणका लागि, नाख्ले–नाङरे हुँदै “नाग्रे” बन्यो । पालोकदी–पलाक्थली, ह्रिस्योङ्घु–लिसंखु बन्यो । यस्तै “डब्चीवा”(कसम,बाचा,बाटो काटेको) दापजोङ (दाप–पाखो /जोङ–किल्ला/क्षेत्र /किपट)अपभ्रंश भएर “दाप्चा“ बनेको छ । तादिङ(घोडा फर्काउनु)–धादिङ,राम्हेछापा(गाई बाख्रा चराउने)–रामेछाप “ह्रिकु“(९वटा जंगल क्षेत्र ) रिकु गाउँ बनेको छ । विभिन्न भाषाभाषी समुदायको प्रभावले पनि नाम परिवर्तन हुन सक्छ । म्हेजे (गाईको खुर)–मेच्छे “राम्हेचे” राम्चे, छ्युखा–चुखा बनेको छ ।

२.ऐतिहासिक घटना वा शासन परिवर्तनः शासक वा बाह्य प्रभावको कारणले ठाउँका नामहरू फेरिएका छन् । जस्तै, मल्लकालीन कान्तिपुर “काठमाडौ” , खोपोङ,खोपरिङ,खोप लाई पछिका शासक शाहा राणाहरूले “भक्तपुर” भन्न थाले । त्यस्तै “भोई,भोंदी,भोंत,भोन्त–लाई बनेपा, पुन्दी,पन्ती,लाई “पनौती” ,“धौंखेल वा धरखेल“ लाई “धुलिखेल” भन्न थाले । यस्तै कैयौ उदारण छन् । तामाङले बोल्ने “ता ग्ये घ्याङ” (सय घोडा भएको घ्याङ)लाई “तार्के घ्याङ “थागुङ”लाई “थापागाउँ”, “रसपथि”–लाई “रजबास” स्योङ्घु लाई–सलाम्बु बनाए ।

३.धार्मिक,सांस्कृतिक प्रभाब र अतिक्रमणः कुनै स्थानको धार्मिक वा सांस्कृतिक महत्त्व बढ्दा वा अतिक्रमन हुँदा नयाँ नाम रहन सक्छ । सिंगुन,सिम्बु,स्हेबु,सैंबु,सिगुँ लाई पछि “स्वायम्बु”/पुर्बमा मुकुम्लुङलाई “पाथिभरा” बनेपा नालाको सृष्टिकान्ता आर्यावलोकेश्वर (करुणामय पुरुष)लाई “करुणा माई“(महिला) मन्दिर,“मारतिका”लाई “हलेसी महादेब” भन्न थाले भने काला छोक(धागो व्यापार)–कालिङचोक,कु ह्री(नौ जंगल)–कुरी भनियो । तामाङले बोल्ने तेर्माल/तेमरेल–“तेमाल” “म्हवार ल्हा”(माबर्मा–ठूलो जातको निङ्गालो पाइने लेक) महाभारत लेक र “शालुङ वा शाअीलुङ शैलुङ हुन पुगेको यो प्रतिनिधि उदाहरण हो । बुद्ध बल्ली,बटौली हुँदै “बुटवल” बने । तेमालको “ग्योईखार”लाई “नारायणस्थान” बनाए ।

स्थानीय मानिसहरूले संक्षिप्त वा सजिलो नाम अपनाउँदा पनि अपभंश भएका छन् । यसरी, समयक्रममा स्थानका नामहरू अपभ्रंश हुँदै नयाँ स्वरूप ग्रहण गर्न पुगेको देखिन्छ ।

४.अज्ञानता,असावधानी र लापरवाहीः ठाउँका नाम अपभ्रंश हुने प्रमुख कारणहरु मध्य यी प्रमुख हुन् । मानिसहरुलाई कुनै ठाउँको वास्तविक नामको बारेमा जानकारी नहुँदा गलत उच्चारण,सुनाई वा लापरवाही पुर्ण लेखाइले नाम अपभ्रंश वा गलत अर्थ लाग्ने हुन सक्छ । उदाहरणका लागि,“च्युकुम दुर्सा” लाई “चिनक दुर्सा” बनाईयो । भने “च्यानम्राङ” (बाघ खोरिया)लाई “च्याम्म्राङबेशी” बनाईयो । तामाङ भाषामा “च्याम”को अर्थ “पिसाब” “म्राङ”को अर्थ वारि हो । बाघ खोरिया लाई पिसाब फेर्ने ठाउँ बनायो भने पुन्दी वा पन्ती पनती लाई पनौती बनायो । पनौतीको अर्थ के हो? यो गम्भीर अज्ञानता र असावधानी हो । यस्तो कैयौं उदारण छन् । राज्यले एकल खस भाषा मात्र प्रयोग गर्दाको परिणाम हो यो ।

बिशेषता पंचायतकालमा गाउँ पंचायतहरु घोषणा भए पछि नाम राख्न डोरहरु खटिए खस भाषाका कर्मचारीले तामाङ भाषा बुझ्न सकेनन् । च्यानम्राङलाई “च्यामम्राङ” ,सुङरेलाई “सुँगुरे”,च्युकुम दुर्शालाई “चिकन दुर्शा” ,धाराङा(पाँचधारा)–दर्गा,कापेल्बे(कपास रोप्ने ठुलो पाटो)–काफ्ले टिपे । बलओथी(बलको कुवा) भलवाडी(अर्थ के?) पोङ्थी(सगुन बोक्ने माटोको भाडो फुटेको)–पोडी(अर्थ के ?)पटाब घाङ(बाँस भएको डाँडा)पटबाँस(सिन्धुली) टिपे गए अपभ्रंश बनाए ।

“जब एउटै गाउँ भित्रै यति धेरै स्थाननामहरू अपभ्रंश भएर फेरिएका भेटिन्छन् भने, कल्पना गर्नुस् पश्चिमका खस र मगर बस्तीहरूमा, गुरुङ र थारु क्षेत्रहरूमा, मध्य भेगका तामाङ र नेवा भाषिक, सांस्कृतिक क्षेत्रहरूमा, र पूर्वका किराँत तथा कोचिला भूभागहरूमा कति नामहरू आफ्नो मौलिक रूपबाट अपभ्रंश भएर आजको स्वरूपमा आइपुगे होलान !”

सरकारी कागजात, सार्वजनिक बोर्डहरूमा गलत लेखाइ भएमा क्रमशः त्यही नाम स्थापित हुन सक्छ । जस्तै,“सोमपथि ट्वाल“लाई “सम्पति टोल”,“बोमजन ट्वाल” लाई “भोजनटोल” “मोक्तान ट्वाल”लाई “मुख्तान टोल” “ब्लोन ट्वाल”लाई “बोलन,बुलुङ,भुलुन टोल” लेखिएको पाइन्छ । मौखिक रूपमा नाम पुस्तादेखि पुस्तासम्म गलत रूपमा लेख्दा प्रचार हुँदा सही नाम लोप भइ अपभ्रंश कतिपय गलत अर्थ लाग्ने नाम नै स्थायी हुन सक्छ ।

यसरी अज्ञानता,असावधानी,लापरवाही भाषिक एकाधिकार का कारणले स्थानका वास्तविक नामहरू गलत अर्थ लाग्ने बिग्रने वा परिवर्तन हुने देखिन्छ ।

अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकारले स्थानीय सरकार मार्फत यश प्रकारका गल्तीहरु सच्याउने दायित्व लिनुपर्छ । बागमती प्रदेश सरकारले “प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” लागू गरि सकेको अबस्थामा आगामी दिनहरुमा सच्चिदै जानेछ भन्ने बिश्वास गरौं ।

भाषा उच्चारणको समस्यले बनेका नामहरुलाई अन्यथा मान्नु हुदैन,तर जबर्जस्त परिवर्तन गरिएका नामहरुको पछाडिको कारणबारे अबको पुस्ताले बुझ्नु पर्छ । यसको ईतिहास बारे जान्ने अधिकार अबको पुस्तालाई छ ।

एकल भाषा,भाषिक अधिनायकत्वले उप्जाएको समस्यबारे गम्भीर बहस गर्न आबश्यक छ । नजिकै तामाङ बोल्ने कर्मचारी थियो भने च्यानम्राङ “च्याम्राङ” पिसाब फेर्ने ठाउँमा परिणत हुदैनथ्यो । कर्मचारी तामाङ समुदाय संग हेलमेल थियो भने च्युकुमदुर्सा “चिकनदुर्सा” बन्दैन थ्यो , सुङरे(जुँङे) पनि सुँगुरे बन्दैथ्यो ।

निष्कर्ष

वाङथली–बोल्दोङचे क्षेत्रका स्थाननामहरूको अध्ययनले एउटा महत्वपूर्ण सत्य पक्कै उजागर गर्छ । कुनै पनि समुदायको पहिचान सबैभन्दा पहिले स्थाननाममै प्रकट हुन्छ । यस क्षेत्रमा करिब सबै भू– नामहरूको जरा तामाङ भाषामै पाइने तथ्यले यहाँको सांस्कृतिक गहिराइ, प्राचीन बस्ती र ऐतिहासिक उपस्थिति स्पष्ट प्रमाणित गर्छ । तर यी मूल नामहरू जसरी अपभ्रंश हुँदै गए, जुन भाषिक गल्ती मात्र होइन । ऐतिहासिक स्मृति,सांस्कृतिक जरा खुम्च्याउदै, अन्ततःपहिचान विगठन गर्ने प्रक्रिया हो ।

शताब्दीयौँदेखि प्रचलित तामाङ स्थाननामहरू प्रशासनिक लापरवाही, खस भाषा केन्द्रित शासकीय दमन, धार्मिक–सांस्कृतिक अतिक्रमण र बाह्य प्रभावको कारण बिग्रँदै गएका छन् । केही नामहरू गलत अर्थ लाग्ने गरी विकृत गरिएको पाइन्छ । यी घटनाले भाषिक अज्ञानताले कसरी सांस्कृतिक अपमान र अर्थहीन विकृति निम्त्याउँछ भन्ने प्रस्ट देखाउँछ ।

एकल भाषा, धर्म र शक्ति–केन्द्रित शासन पद्धतिले थोपरेका नीतिहरूका कारण अनेकौँ तामाङ स्थाननामहरू परिमार्जित, विस्थापित वा विकृत भएका छन् ।

अब स्थानीय तहहरूले ऐतिहासिक दस्तावेज, मौखिक इतिहास, पुराना अभिलेख तथा भाषा विज्ञहरूको सल्लाहका आधारमा स्थाननामहरूको पुनःप्रमाणीकरण गर्नुपर्ने आवश्यकता स्पष्ट छ ।

भाषिक सुदृढता र स्थाननाम संरक्षण समुदायको पहिचान रक्षा गर्ने मूल आधार हो । त्यसैले नाम सुधार लेखाइ–पढाइको विषय मात्र होइन । यो तामाङ समुदायको अस्तित्व,इतिहास, सम्मान र सांस्कृतिक सम्पदाको पुनर्जागरणको प्रक्रिया हो ।

यस क्षेत्रका स्थाननामहरूको अपभ्रंश प्राकृतिक भाषिक रूपान्तरण मात्र नभई,विगतका शक्ति–केन्द्रित नीति र शासन संरचनाबाट उत्पन्न सामाजिक–भाषिक उत्पिडनको परिणाम पनि हो ।

अबको पुस्ताले वास्तविक नाम र अर्थ बुझ्नु, ऐतिहासिक सत्य पुनर्जीवित गर्नु, र सांस्कृतिक पहिचान सुरक्षित राख्नु आवश्यक छ ।

सही इतिहास, सही नाम र सही पहिचान फर्काउनु नै आजका पुस्ताको जिम्मेवारी र अधिकार दुवै हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।