– शिशिर भण्डारी
भूमिका :
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई केवल जुनकुनै राजनैतिक दल या बिचारको हार या जितको सामान्य राजनीतिक घटनाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुदैन । चुनाव कुनै एक दिनको प्रक्रिया भए पनि त्यसको परिणाम समाजभित्र लामो समयदेखि सञ्चित राजनीतिक व्यवहार, आर्थिक संरचना, सामाजिक अपेक्षा र नयाँ पुस्ताको मनोविज्ञानको संयुक्त अभिव्यक्ति हो । जहाँ तत्कालीन प्रमुख दलहरूको व्यवहार र संगठनात्मक अवस्था मात्र होइन, नेपाली समाजभित्र भइरहेको गहिरो सामाजिक, राजनीतिक र मनोवैज्ञानिक परिवर्तनलाई पनि प्रतिबिम्बित गर्दछ। यस दृष्टिले हेर्दा निर्वाचन परिणाम वास्तवमा वर्तमानमा विद्यमान समाजले राजनीतिक शक्तिहरूलाई दिएको एउटा त्यो सन्देश हो कि – के बदलिनुपर्छ? के सुधारिनुपर्छ ? र भविष्यको बाटो कता जान सक्छ ?
अर्कोकुरा, निर्वाचन समीक्षा पुराना राजनैतिक दलको हकमा केवल संगठनात्मक कमजोरी, चुनावी रणनीति वा आन्तरिक र बाह्रय तालमेल वा गठबन्धनको गणितमा एकांकी समिक्षमा मात्र सीमित रहनु हुँदैन। यसलाई समाजको बदलिएको संरचना, विश्व राजनीतिक परिवेश, डिजिटल युगको प्रभाव र राजनैतिक विचारधारात्मक संकटसँग जोडेर पनि हेर्न आवश्यक छ।
यसर्थ नेपालको वर्तमान राजनीतिक अवस्थालाई बुझ्न एउटा रूपक उपयोगी हुन्छ—रोग र उपचारको रूपक। अहिले देखिएको निर्वाचन परिणाम वास्तवमा लक्षण हो; वास्तविक रोग अझ गहिरो छ। यदि रोगको सही पहिचान नगरी लक्षण मात्र उपचार गर्ने प्रयास गरियो भने समस्या समाधान होइन, अझ जटिल बन्न सक्छ।
१. निर्वाचन समीक्षा: लक्षण र वास्तविक रोग
निर्वाचनपछि आफूमा अपेक्षाकृत परिणाम नआएपछि सबै दलभित्र हुने अधिकांश समीक्षा प्राय संगठनात्मक प्रश्नमा केन्द्रित हुने गर्छ। जस्तै: कहाँ संगठन कमजोर थियो ? कसले चुनावमा सक्रिय भूमिका खेल्यो या खेलेन ? कहाँ तालमेल सफल वा असफल भयो ? कहाँ उम्मेदवार चयनमा गलत या ठिक भयो ? निर्वाचन सम्बन्धि प्राविधिक काम, नेतृत्व र कार्यविभाजन भयो या भएन ? वास्तबमा यी सबै प्रश्नहरू महत्त्वपूर्ण छन्, तर यी प्रायः समस्याको सतह मात्र हुन्। वास्तविक प्रश्न भनेको यो हो कि – किन लामो समयदेखि विद्यमान राजनीतिक आन्दोलन र परिवर्तनको नेतृत्व गरेका दलहरूलाई जनताले विकल्पको रूपमा हेरेनन ? र एकाएक रास्वपा जस्तो राजनैतिक दल र नेतृत्व अगाडि आयो ।
राजनीतिक विज्ञानको दृष्टिकोणबाट हेर्दा चुनावी परिणाम प्रायः दीर्घकालीन सामाजिक प्रक्रियाको परिणाम हुन्छ। मतदाताले मतदान गर्ने बेला केवल उम्मेदवारको व्यक्तिगत गुण मात्र होइन, शासनको समग्र अनुभव, आर्थिक अवस्था, सामाजिक अपेक्षा र भविष्यप्रतिको विश्वासलाई पनि ध्यानमा राख्छन् । तर, यहीँनेर अर्को रोचक कुरा के भयो भने, यसपटक त्यो निरन्तरता भंग भयो । अब सवाल रहन्छ- यो किन भयो ? यदि समीक्षा केवल संगठनात्मक कमजोरीमा सीमित रह्यो भने वास्तविक रोगको राजनीतिक सल्यक्रिया हुदैन । त्यसैले निर्वाचन परिणामलाई विद्यमान शाससन ब्यवस्थाको डेलीभरी, आर्थिक संरचना, राजनीतिक संस्कार र समाजको पछिल्लो विकसित मनोविज्ञानसँग जोडेर हेर्नुपर्छ।
२.ऐतिहासिक राजनीतिक उपलब्धि; ब्यवस्थाको परिवर्तन तर अवस्थाको नजरअन्दाज :
नेपालको आधुनिक राजनीतिक इतिहासमा जसरी प्रजातान्त्रिक आन्दोलन र उपलब्धिमा नेपाली काँग्रेसको मुख्य भूमिका रह्यो त्यसैगरी मुलुकको पछिल्लो राजनैतिक आन्दोलन र उपलब्धिहरूमा वामपन्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ। विशेष गरी जनयुद्ध र ०६२/६३ को दोस्रो जनआन्दोलनको परिणाम स्वरूप देशको राजनीतिक संरचनामा व्यापक रूपमा परिवर्तन भयो। मुख्यतः राजतन्त्र समाप्त भयो र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । समानुपातिक समावेशी प्रणाली, सामाजिक न्याय र धर्मनिरपेक्षता कायम भयो। वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक जस्ता उत्पीडनको अन्त र अधिकार प्राप्तिको प्रक्रिया पाइपलाइनमा आयो । साथै मुलुकमा शासकीय स्वरूपको बहस पनि अगाडि ल्यायो ।
यी ऐतिहासिक परिवर्तनहरू केवल शासन प्रणालीमा परिवर्तनका घटना मात्र थिएनन्; यी त
राज्यको शक्ति संरचना र सामाजिक सम्बन्धहरू पुनर्संरचना गर्ने प्रक्रियाहरू पनि थिए। तर राजनीतिक परिवर्तनपछि पनि दलहरूको नेतृत्वबाट भएको राज्य सञ्चालनको व्यवहारिक पक्षमा अपेक्षित परिणाम देखिएन । अर्थात, ब्यवस्था परिवर्तन संगै जनताको अवस्थामा नजरअन्दाज हुदा जनविश्वास क्रमशः कमजोर हुँदै गयो।
३. विश्व परिवेश र युवाहरूको विद्रोही मनोविज्ञान:
नेपालको राजनीतिक अवस्थालाई बुझ्न अन्तर्राष्ट्रिय परिवेशलाई नजरअन्दाज गर्न सकिँदैन। पछिल्ला केही वर्षमा विश्व राजनीतिमा एउटा स्पष्ट र शक्तिशाली प्रवृत्ति देखा परेको छ कि – युवा पुस्ताको नेतृत्वमा उभिएका आन्दोलनहरूले केवल सडक तताउने काम मात्र गरेका छैनन्, बरु कतिपय अवस्थामा प्रत्यक्ष रूपमा सत्ता परिवर्तनसमेत गराएका छन् । उदाहरणका रूपमा श्रीलंकामा २०२२ को आर्थिक संकटपछि जनआन्दोलनले शासन परिवर्तन गरायो । बंगलादेशमा विद्यार्थी आन्दोलनले राजनीतिक व्यवस्थामाथि प्रश्न उठायो । त्यस्तै पेरू, केन्या, फ्रान्स, थाईलण्ड जस्ता कतिपय देशहरूमा पनि असन्तोष र विद्रोहको आन्दोलन कुनै न कुनै रूपमा भए ।
यी घटनाहरूले एउटा साझा संकेत दिन्छन् कि —नयाँ पुस्ता पुरानो राजनीतिक ढाँचासँग सन्तुष्ट छैन। विश्वव्यापी रूपमा अहिलेको युवा पुस्ता पारदर्शिता, दक्ष शासन, छिटो परिणाम र अवसरको समानता अपेक्षा गर्छ। यदि राजनीति प्रणालीले यी अपेक्षाहरू त्यसअनुसार पूरा गर्न सकेन भने असन्तोष तीव्र बन्न सक्छ।
४.नेपालभित्रको असन्तोष: उपलब्धि, डेलिभरी र निराशाबीचको द्वन्द्व:
राजनीतिक विज्ञानमा “delivery crisis” भन्ने अवधारणा निकै महत्वपूर्ण मानिन्छ। यसको अर्थ हो—राजनीतिक प्रणालीले जनताको अपेक्षा अनुसार परिणाम दिन नसक्नु। नेपालको सन्दर्भमा पनि यही समस्या देखिन्छ। पछिल्ला दुई दशकमा संविधान निर्माण, संघीय संरचना, समावेशी प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि त प्राप्त भए। तर – जनताको दैनिक जीवनमा अपेक्षित परिवर्तन आएन, र यो महशुस व्यापक रूपमा फैलियो ।
यहाँ मुख्य असन्तोषका क्षेत्रहरू: बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भरता, भ्रष्टाचार र राजनीतिक संरक्षणवाद, दलभित्रको गुटबन्दी, सार्वजनिक सेवाको ढिलासुस्ती, विकास योजनाको कमजोर कार्यान्वयनहरू हुन । यसले दल र उनिहरूको शासनमा एउटा गम्भीर आक्षेप लाग्यो कि — पुराना दल र नेताहरूको नेतृत्वमा राजनीतिक परिवर्तनले संस्थागत संरचना त बदल्यो, तर जनताको जीवनस्तर अपेक्षाअनुसार बदल्न सकेन अर्थात उनिहरू लागेनन् ।
५. डिजिटल युग र एल्गोरिदमको राजनीति :
आजको राजनीति केवल सभा र र्यालीमा सीमित छैन। डिजिटल प्लेटफर्महरूले जनमत निर्माणको स्वरूप नै बदलिदिएका छन्। विशेष गरी -TikTok, Facebook,YouTube जस्ता प्लेटफर्महरूले सूचना प्रसारको गति र प्रभाव दुवैलाई तीव्र बनाएका छन्, र राजनीति बुझ्ने तरिका परिवर्तन गरेका छन्। एल्गोरिदमले भावनात्मक र छोटो सन्देशलाई छिटो फैलाउँछ।
यसले गर्दा गहिरो वैचारिक बहसभन्दा प्रतीकात्मक राजनीति र छवि निर्माण प्रभावशाली बन्न थालेको छ। यसले राजनीतिक प्रतिस्पर्धाको स्वरूप नै परिवर्तन गरिरहेको छ।
६. चुनाव चिन्ह र प्रतीकात्मक राजनीति :
हालको निर्वाचनमा एउटा रोचक प्रवृत्ति देखियो—धेरै मतदाताले उम्मेदवार र पार्टी भन्दा चुनाव चिन्हलाई प्राथमिकता दिए। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह युवा पुस्तामा परिवर्तनको प्रतीक बन्यो। यसले केही यस्तो रोचक अवस्था सिर्जना गर्यो कि — भोट कसलाई हालीयो भन्दा घण्टीलाई । घण्टी कुन पार्टीको चुनाब चिन्ह हो भन्दा घण्टी पार्टीको, अथवा बालेनको । तपाईको क्षेत्रको उमेदवार को ? कहाँको ? कस्तो ? भन्दा थाहा छैन, अथवा घण्टी हो ।
जसले गर्दा अनुभवी र आवश्यक नेताहरू पनि पराजित भए भने, अपेक्षाकृत अपरिचित उम्मेदवारहरू पनि विजयी भए। यहाँसम्म कि – रास्वपाको उमेदवार नै नभएको र रद्ध भएको स्थानमा पनि घण्टी पक्षको फराकिलो अन्तरको भोट खस्यो । यसले एउटा महत्वपूर्ण संकेत दिन्छ कि — मतदाताले व्यक्तिभन्दा परिवर्तनको लागि आफ्नो आक्रोशलाई मतदान गरे। अर्को कुरा जनताको आशा, अपेक्षा र पुरानो दलप्रतिको असन्तोषको यति ठुलो जिम्मेवारीको भारी बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वलाई आगामी दिन कम चुनौतीपूर्ण छैन ।
७. कम्युनिष्ट आन्दोलनको भविष्य: रूपान्तरण, ध्रुवीकरण र पुस्तान्तरण:
आजको समाज विज्ञान, प्रविधि र सूचना क्रान्तिका कारण तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यसैले राजनीतिक संगठन र विचार पनि समयानुकूल परिवर्तन हुनुपर्छ। यसका लागि आवश्यक पक्षहरू: खुला र लोकतान्त्रिक संगठन,डिजिटल युगअनुकूल राजनीतिक संचार, युवाको नेतृत्व विकास र नीति निर्माणमा विशेषज्ञताको प्रयोगको आवश्यकता छ। यसै सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलन अहिले ऐतिहासिक मोडमा उभिएको छ। यदि यस आन्दोलनलाई भविष्यमा प्रभावशाली बनाइराख्ने हो भने तीनवटा आधारभूत परिवर्तन आवश्यक देखिन्छ।
पहिलो, कम्युनिष्ट आन्दोलन समयानुकूल बुझाइमा रूपान्तरित हुनुपर्छ। आजको डिजिटल अर्थतन्त्र, वैश्वीकरण र सूचना प्रविधिको युगमा पुरानो राजनीतिक भाषाशैली र संगठनात्मक ढाँचाले मात्र समाजलाई सम्बोधन गर्न सक्दैन।
दोस्रो, कम्युनिष्ट शक्तिहरूले साना–साना “छुट्टाछुट्टै राजनीतिक पसल” चलाउने प्रवृत्ति त्यागेर विचार र कार्यक्रमका आधारमा ध्रुवीकृत हुन आवश्यक छ। तेस्रो, नेतृत्व र विचारको पुस्तान्तरण अपरिहार्य छ। नयाँ पुस्तालाई केवल कार्यकर्ता होइन, नीति निर्माण र नेतृत्वमा पनि क्रमशः जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ।
यदि यस्तो रूपान्तरण सम्भव भयो भने कम्युनिष्ट आन्दोलन अझै पनि नेपालको सामाजिक न्याय र समानताको राजनीतिक एजेन्डालाई अघि बढाउने फेरि पनि प्रमुख शक्ति बन्न सक्छ। समयानुकूल राजनीतिक बुझाई र रूपान्तरण नै आजको समाजमा निरन्तर अपडेट र फिट हुनु हो
८. मार्क्सवादको विकास र नयाँ चुनौती :
माक्र्सवाद स्थिर सिद्धान्त होइन; यो समाज परिवर्तनसँगै विकसित हुने विचारधारा हो।
कार्ल मार्क्सको समयमा औद्योगिक पूँजीवाद मुख्य विषय थियो। आज भने विश्व डिजिटल पूँजीवाद, कृत्रिम बुद्धिमत्ता, प्लेटफर्म अर्थतन्त्र र डेटा अर्थव्यवस्था को युगमा प्रवेश गरिसकेको छ।
यस अवस्थामा माक्र्सवादको पुनर्व्याख्या गर्न आवश्यक छ।
समयानुकूल विकास गर्नु नै माक्र्सवादको जगेर्ना गर्नु हो। यसका लागि आवश्यक छ: डिजिटल अर्थतन्त्रको विश्लेषण, असमानताको नयाँ रूपहरूको अध्ययन, श्रम बजारको परिवर्तनको अध्ययन, सामाजिक न्याय र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण । यसरी समयानुकुल माक्र्सवादलाई जीवन्त विचारका रूपमा विकास गर्न सकियो भने यो अझै पनि सामाजिक न्याय र समतामूलक विकासको सशक्त वैचारिक आधार बन्ने छ ।
९. नयाँ पुस्तासँग संवादको चुनौती
आजको पुस्ता सूचना प्रविधिको युगमा हुर्किएको छ। रिल, छोटो भिडियो र डिजिटल बहसमार्फत राजनीति बुझ्ने पुस्तालाई पुरानो शैलीमा विचारधारा सिकाउन कठिन छ। त्यसैले राजनीतिक दलहरूले डिजिटल माध्यम, नयाँ शिक्षण विधि र खुला वैचारिक बहस मार्फत युवा पुस्तासँग संवाद गर्नुपर्ने आवश्यकता छ।
निष्कर्ष: आगामी बाटो :
नेपालको पछिल्लो निर्वाचन पहिलो कुरा गत भाद्र २३ र २४ को घटना पश्चात मुलुकमा ब्याप्त विभिन्न अङ्कल, आशङ्का, अनिश्चितता तथा षड्यन्त्रको पृष्ठभूमिमा उत्पन्न असमान्य स्थितिलाई पुनः एउटा लिकमा लिएर आउने काम भएको छ । यो निर्वाचनको परिणाम नै कुनै दलको अन्तिम पराजय वा विजय होइन, तर एउटा गम्भीर राजनीतिक सन्देश भने अवश्य हो। आजको समयले केवल नारा होइन, स्पष्ट विचार,व्यवहारिक कार्यक्रम र विश्वसनीय नेतृत्व मागिरहेको छ।
यदि राजनीतिक शक्तिहरूले समयको यो संकेत बुझेर आत्मसमीक्षा, रूपान्तरण र आफूलाई नयाँ पुस्तासँग अन्तरघुलित गर्न सके भने भविष्य अझै खुला छ। किनकि इतिहासले बारम्बार देखाएको छ कि – राजनीतिमा कुनै पनि परिणाम अन्तिम हुँदैन; समयको संकेत बुझ्ने क्षमता नै भविष्य निर्धारण गर्ने शक्ति हुन्छ ।
२०८२ फागुन ५ गते ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























