अस्वस्थ प्रतिस्पर्धाले सहकारी धरासायि बन्दछ
लेखक

–दिलिप शर्मा
सहकारी संस्था शेयर सदस्यहरु र समुदायको हितलाई ध्यानमा राखेर समुन्नत समाज निर्माणका लागि आफ्ना कार्यक्षेत्र भित्र बिभिन्न प्रकृतिका कार्यहरुलाई जोड दिदै आइरहेका हुन्छन । भर्खरै डिभिजन सहकारी कार्यायलयले काभ्रे जिल्लाका १३ वटा स्थानीयतहलाई हस्तान्तरण गरेका १५०० वटा सहकारी संस्थाहरुमा प्रदेश स्तरका सहकारीहरु मात्र ९० का हाराहारिमा देखिएका छन् ।

केन्द्रको हैसियतमा रहेका यस्ता सहकारीहरु र जिल्लामा साविक एउटा मात्र गाविस वा हाल एउटा मात्र नगरपालिका तथा गाउँपालिकाहरुमा कार्य क्षेत्र बनाएर कार्यहरु सञ्चालन गरिरहेका छन् । बदलिदो समयमा सहकारीहरु एक आपसमा सहकार्य सहित गुणस्तरीयता कायम गर्दै अगाडी बढ्नु पर्दछ । राज्यले समेत तीनखम्बे अर्थ नीतिका आधारमा सहकारीलाई अभिन्न अंगको रुपमा स्विकार गरिसकेको छ त्यसैले पनि यहाँ सहकारीह्ररुको औचित्य र आवश्यकता स्पष्ट देखिइसकेको छ ।

धेरै मानिसहरु जो सहकारीका शेयर सदस्य छन् वा समृद्ध सहकारी निर्माणको अभियान सहित आन्दोलनमा लागेका छन् उनीहरु सबैले सहकारीको महत्व र आवश्यकता राम्रोसँग बुझ्नु जरुरी छ । सहकारीले बैंकले गरेको जस्तो कार्य सञ्चालन गर्ने होइन । बैंकले बिभिन्न योजना सहित आफ्ना सेवाग्राही÷ग्राहकहरुको आकर्षण बढाउनका लागि बिभिन्न खालका कार्यहरु वा बिज्ञापन मार्फत गरिरहेका देखिन्छन ।

बैंकमा खाता सञ्चालन गर्नका लागि सदस्यता लिनु पर्दैन तर सहकारी संस्थामा सदस्यता नलिइ कुनैपनि प्रकारका कार्यहरु गर्न पाइदैन वा ऋण तथा बचतका कार्यहरु सहकारीमा गर्न पाइदैन । सहकारीका मूल्य मान्यता तथा सिद्धान्तमा आधारित भइ सहकारीहरु चलेका हुन्छन् बैंकको पनि नीतिहरु हुदैनन भन्ने होइन सहकारीका सिद्धान्त अनुसार सहकारी चल्नका लागि केहि निश्चित मूल्य मान्यता तथा आचरणहरु समेतलाई ध्यानदिनु पर्दछ । आफ्ना कार्य क्षेत्रभित्र रहेका सदस्यहरुलाई मात्र सहकारीले सदस्य बनाउन पाउँदछ भने नेपाली नागरिक भएमा बैकले आफ्ना आर्थिक क्रियाकलापहरुलाई अगाडी बढाउन सजिलै सक्दछ ।

बदलिदो परिस्थितीमा सहकारी संस्थाहरुमा केहि निराशा तथा केहि बैंक तथा बित्तिय संस्थाहरु जस्तै प्रतिस्पर्धामा होड चलेको दखिन्छ । आफ्ना कार्यक्षेत्र बाहिरका सदस्यहरुलाई सदस्यता प्रदान गर्ने देखि बिभिन्न आर्थिक लाभका सन्देश सहितका क्रियाकलापहरु अगाडी बढ्दै जाँदा सहकारी संस्थाहरु कतै सिद्धान्तत ओरालो त लाग्दै छैनन भन्ने छनक देखिनु राम्रो भने अवस्य होइन । भ्रमपूर्ण बिज्ञापन तथा समिति तथा अन्य उप समितिहरुमा पारिवारिक, भनसुन, हुनेखाने हैसियत भएका भरमा नेतृत्वको पदस्थापनले गर्दा सहकारी आन्दोलनमा लाग्ने जो कोहि पनि सोच्नुपर्ने बाध्यताको अवस्थामा पुगेको देखिन्छ ।

हाम्रा वरीपरी सहकारी संस्थाहरु बिभिन्न हिसावले गुणस्तरीयतामा भन्दा पनि अनेकथरी वहानामा प्रतिष्पर्धामा उत्रेको देखिन्छ । सहकारी संस्थाहरु आफ्ना कार्यक्षेत्र भित्र मात्र सिमित नरहेर कार्य समेत गरिरहेका पाइन्छन । सहकारीका मूल्य मान्यता तथा दर्शन एउटै हुन्छन त्यही कानून अनुसार सहकारीहरु सञ्चालनमा आउनुपर्दछ ।

तर सहकारी संस्थाहरु एउटै प्रकृतिका एउटै भवन वा एकै स्थानमा रहेर पनि सञ्चालनका तरीका पद्धती फरक फरकको देखिनु र एक अर्काको काम गराइको अवस्था पनि विल्कुलै फरक शैलीको हुनुलाई पनि अस्वस्थ प्रतिष्पर्धाको रुपमा लिन सकिन्छ । बचतकर्ता सदस्यलाई बचतमा दिइएको ब्याज तथा ऋणमा सहकारी संस्थाले लिएको व्याजको अन्तरहरुलाई हेर्ने हो भने पनि प्रष्टै के देखिन्छ भने सहकारी आफ्ना वा सिमित सञ्चालक समिति र उक्त संस्थामा नेतृत्व गरिरहेका निश्चित ब्यक्तिहरुको मनोमानी अनुसार चलिरहेका देखिन्छन । यस्ता क्रियाकलापमा सञ्चालनका लागि सहकारीको कानूनमा नै निश्चित प्रतिशतको सिमा तोकिएको छ ।

कुनै पनि संस्थामा गुणात्मक बृद्धि गर्नका लागि संस्था भित्र होस वा बाहिर स्वस्थ प्रतिष्पर्धा हुन जरुरी छ । संस्था भित्र भाइचाराको सम्वन्ध स्थापना, असहज परिस्थितीको सामाना, सकारात्मक सोच तथा चिन्तन, त्भबm कउष्चष्त जस्ता बिषयहरुलाई आत्मसात गर्दै अगाडी बढ्नुको विकल्प छैन । संस्था भित्र वा वाहिर हुने विभिन्न प्रकारका खिचातानीले संस्थाको मात्रात्मक गुणस्तर बृद्धि कहिल्यै हुन सक्दैन भन्ने नै हो ।

संस्था भित्र सहकारीमा देखिएको अस्वस्थ गतिविधि पनि संस्थालाई उन्नतीमा नलाने अवस्था हो । नाताबाद, आफन्तपन, राजनैतिक आड तथा पैसाको पहुँचका भरमा संस्था भित्र नेतृत्वको विवाद समेत धेरै संस्थामा हुने गरेको पाइन्छन । सामान्य रुपमा सहकारीता बुझेका ब्यक्तित्वहरुको उपस्थितीलाई सिंगो सहकारीले नेतृत्व स्विकार नगरिदिंदा सहकारीलाई हानी हुने कुरा पक्का नै छ ।

सामान्य रुपमा संस्थामा हुने नीति , विधि, कार्यविधि, नियमावली, कानून तथा सहकारी मूल्य मान्यता तथा दर्शनहरुका बारेमा आधारभूत रुपमा नबुझेका ब्यक्तित्वहरु सहकारीका सञ्चालक तथा लेखा समितिमा नेतृत्व स्विकार गर्नुपर्ने हाम्रा परम्परा र यो अवस्थ प्रतिष्पर्धा नै सहकारीका लागि घातक हुने प्राय निश्चित छ ।

सहकारी सहकारी बीच एक अर्कामा हुने अस्वस्थ प्रतिष्पर्धा समेत हामीले यहि आन्दोलनमा लागेका विभिन्न सहकारीमा देख्न पाउदछौं । एकै प्रकृतिका सहकारी संस्था हुन वा अन्य सहकारी जे भएपनि सहकारीका मूल्य मान्यता तथा दर्शनका आधारमा चल्नुपर्दछ । एउटा लाई एउटा नियम लागु हुने र अर्कोलाई अर्को नियम भन्ने कहि पनि हुदैन । बिना अनुमति वा साधारण नियमको समेत वेवास्ता गरी जिल्लाका कुनैपनि स्थानमा आप्mना कार्य क्षेत्र भन्दा बाहिर गएर ठूलो मास भेला गरी समुदायमा सहकारीका मर्म विपरीत कार्य गर्नु सहकारीका लागि अहित हुन्छ ।

समुदायमा आधारित सहकारीहरुले आफ्ना कार्य क्षेत्र भित्र कार्यहरु गरिरहेका सन्दर्भमा प्रतिष्पर्धात्मक रुपमा बिभिन्न खालका बचतका सिमा तथा दायित्व वोध नै नगरी प्रभावमा पार्ने कार्य भैरहेको छ यसले सिंगो सहकारी आन्दोलनलाई बाधा पुर्याउने कुरामा दूइमत छैन । हाललाई नियमनकारी निकायहरु प्राय निस्किृय भईरहेको सन्दर्भमा यस्ता खालका गतिविधिहरु फैलाउँदै लोभ र लालच सिर्जना गराउनु सहकारी आन्लदोलनमा लागेका आन्दोलनकारीहरुको बिषय भित्र पर्दैनन ।

सहकारी संस्थाहरुले प्रत्येक पसलमा गएर बचत संकलन गराउँदै त आएका छन् तर त्यहाँ सहकारी संस्थाको वा सहकारी शिक्षाको बारेमा ब्यवहारिक रुपमा प्रष्ट पारेको देखिदैन । बजारमा हुने उक्त कार्यहरुलाई आम ब्यक्तिहरुले के बुझेका छन त भन्ने बारेमा समेत ख्याल गर्नु उपयूक्त हुन्छ । फाइनान्स कम्पनि वा बित्तिय संस्थाहरुको उप नाम दिएर गरेका उक्त क्रियाकलापहरु देख्दा सहकारीको मर्म नै मरेको हो कि भन्ने आभाष हुन थालेका छन् ।

सहकारीमा सबै सदस्य मालिक हुन । बैंक तथा बित्तिय संस्थामा जस्तो सिमित कारोवार गर्दै निश्चित अवधिका लागि काम तथा ब्याज प्रदान गर्ने संस्था सहकारी पक्कै होइन । बजारमा एउटै पसलमा मात्र बीसौं पासबुक राखि दैनिक बचत जम्मा गर्ने शेयर सदस्यहरुको सहकारी प्रतिको बुझाइलाई एकरुपता ल्याउन हामी कहाँ र कसरी चुक्यौं ? प्रश्न गम्भिर छ ।

सामान्य फाइनान्स कम्पनीको रुपमा सहकारीलाई बुझेका हाम्रा शेयर सदस्यहरुले सिंगो सहकारीको आन्दोलनलाई सघाउने कुरा, भोलिका दिनमा यसको सिकाइ र बुझाइ अनि हामीलाई समृद्ध सहकारी निर्माणका लागि गर्ने सहयोग कस्तो होला ?

बैंकहरुले गरेको जस्तो व्यवहार र पूजीको बिषयमा मात्र बजारलाई हेर्ने र बिभिन्न स्किम देखाएर पैसा मात्र संकलन गर्ने हो भने सहकारीमा रहेको शेयर सदस्य प्रतिको सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय हिसावले उन्नतीमा लाग्ने भन्ने मूल्य मान्यता तथा मार्गदर्शक सिद्धान्तहरु ओइलाउने निश्चित छ । यहि बिचार बिमर्श तथा चिन्तन सहित सहकारी आन्दोलनलाई अगाडि नबढाई अस्वस्थ प्रतिष्पर्धात्मक जुधाइमा सहकारी लाग्ने हो भने सहकारीको भविस्य त्यति सहज चाहि पक्कै छैन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।