-अमृत योञ्जन
दृष्य-१ केही वर्ष अगाडि नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको अन्तरदेशीय साहित्य गोष्ठीमा मैले “नेपालका मातृभाषामा साहित्य” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दा नेपाली बाहेकका मातृभाषाको चर्चा गरे। छलफलमा एक जना प्रा.डा.ले प्रश्न राखे- के नेपाली मातृभाषा होइन ?
०००
दृष्य-२ अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धामा बनेको विधेयकको दफा २५. शिक्षाको माध्यममा लेखेको रहेछ-
“विद्यालयले प्रयोग गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्ग्रेजी भाषा वा दुवै भाषा हुन सक्नेछ।”
यस विधेयकमा मातृभाषा नै छैन। यहाँ हाम्रो प्रयास रह्यो- “मातृभाषा” शब्द थप्ने। हामी “मातृभाषा” थपियोस् भनेर सांसदहरूलाई हारगुहार गरिरहेका छौं। यसबारे नेपाली भाषीले केही चासो देखाएको छैन। किन ?
०००
दृष्य-३ सरकारी निकाय तथा संस्थाहरूमा हेरौं-
१. पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तकको निर्माण गर्छ। त्यहाँ “मातृभाषा समिति” छ र यसले मातृभाषाहरूको पाठ्यपुस्तकको निमार्ण तथा मूल्याङ्कन गर्छ। यस मातृभाषा समितिमा नेपाली भाषा छैन।
२. नेपालका भाषा, साहित्य, दर्शन र सामाजिक शास्त्रको विकासको लागि नेपाल प्रज्ञा-प्रतिष्ठान छ र यहाँ पनि “मातृभाषा साहित्य विभाग” र “मातृभाषा विभाग” पनि छ। यहाँ पनि नेपाली भाषालाई मातृभाषाभित्र राखेको छैन। नेपाली भाषाको छुट्टै विभागहरू छन् तर मातृभाषामा कविता पाठ भयो भने नेपाली भाषा टुपलुक्क आइपुग्छ।
३. रेडियो नेपालले समाचार तथा कार्यक्रम प्रशारण गर्छ। यहाँ पनि मातृभाषा डेस्क छ। तर यहाँ पनि “नेपाली भाषा”ले विशिष्ठ स्थान अोगटेको छ।
४. नेपालको शिक्षा सम्वन्धी सम्पूर्ण व्यवस्था गर्ने शिक्षा विभाग छ र यहाँ मातृभाषामा शिक्षाको लागि बहुभाषिक शिक्षा शाखा छ तर यस शाखाभित्र “नेपाली” भाषा पर्दैन।
यस्तै अनगिन्ती निकाय, फोरम, संस्था तथा मिडियाहरूले प्रयोग गर्ने गरेको “मातृभाषा” शव्दभित्र नेपाली भाषा बाहेकका भाषाहरू मात्र पर्दछन्। मातृभाषालाई रैती बनाएर नेपाली भाषाले जताततै सिंहासानमा विराजमान भएका छन्।
दृष्य-४ नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाली भाषालाई “राष्ट्रभाषा” र अन्य मातृभाषाहरूलाई “राष्ट्रिय भाषा” भनेर रेखाङ्कन गर्यो। वर्तमान संविधानको धारा ३१(५)ले पनि “मातृभाषा” नेपाली भाषाबाहेकका भाषालाई भन्न खोजिएको छ र यसको बलियो प्रमाण शिक्षा ऐन, कानुन र निर्देशिका हेर्दा हुन्छ।
०००
यसरी सरकारी निकायबाट नै नेपाली भाषालाई मातृभाषाको श्रेणीमा राखेको छैन। नेपाली भाषालाई गवार भाषाबाट बचाएर विशिष्ठ भाषाको तहमा राखेको छ। संवैधानिक तथा सरकारी निकायको आसय के देखिन्छ भने सरकारी कामकाजको भाषाको रूपमा प्रयोग नहुने भाषाहरू “मातृभाषा” हुन्।
माथिका सबै उदाहरणले नेपाली भाषा मातृभाषामा पर्दैन भन्ने प्रष्ट हुन्छ।
अर्को के पनि हो भने आफ्नो भूभाग, समुदाय र धरातलबाट फैलिसकेको भाषाले “मातृभाषा” भन्ने अधिकार गुमाउँछ तर मातृभाषाले आफ्नो भूभाग सुरक्षित राख्छ। नेपाली भाषा कस्को मातृभाषा भन्ने- बाहुन को ? क्षेत्रीको ? खस-आर्यको ? नेपालका पहाडे दलितहरूले पनि यही भाषा बोल्दछन् र नेपालका ११ लाख मगरहरूले पनि यसै भाषामा सम्प्रेषण गर्छन् भने यो भाषा कुनै जाति वा समुदायको मातृभाषा होइन। भारतमा सवै नेपाली मूलकाहरूको मातृभाषा हो। यसर्थ नेपालका सत्ता र सरकारले यसलाई मातृभाषामा नराखेको हुनसक्छ।
०००
तर कहिलेकाँही हामीसँग उनीहरू किन नेपाली भाषा मातृभाषा हो भनेर दावी गर्छ त? प्रष्ट बुझनु पर्ने कुरा के हो भने भाषा राजनीतिक हतियार हो। यसमा राजनीति हुन्छ। ‘राजनीति’ भनेको राज्यको स्रोत-साधनमा कब्जा जमाउनु हो। यसर्थ नेपाली भाषीहरू राज्यको सत्ता र स्रोतहरुमा जमिरहन चाहन्छन्। नेपाली पनि मातृभाषा हो भन्नुको अर्थ राज्यको स्रोतमा दोहोरो दोहन गर्नु हो। सके एक लौटी नसके दोहोरो।
उदाहरणको लागि नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०५० मा राष्ट्रिय भाषा नीति तयार भइरहेको बेला नेपाली भाषी प्रा.डा.हरूले नै नेपाली भाषा पनि मातृभाषाको रूपमा राष्ट्रिय भाषा हो भनेर लम्वेतान व्याख्या गरेर समितिलाई प्रभावित पार्न खोजेका थिए। किनकि उनीहरूले अब यी गवार मातृभाषाहरूले सुविधा पाउने भयो भनेर त्यहाँ पनि सुविधाको लागि लम्पसार नै परे। तर प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा गठन भएको समितिले वुझाएको “राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदन”लाई सरकारले वेवास्ता गरे पछि नेपाली भाषी चुप लागे ।
तर जब पाठ्यपुस्तक तथा रेडियो नेपाल आदि संस्थाहरुमा मातृभाषा प्रयोग हुन था्ल्यो उनीहरू पुनः जागरुक भए अनि नेपाली भाषाका क्षेत्रीय भाषिकाहरू सुविधा खान पुगे र युनेस्को समेतले ती भाषाहरूको विकासमा काम गरे। यिनीहरूको दोहोरो चरित्र के हो भने नेपाली नै भनेर नेपाली भाषाको जनसङ्ख्या पनि बढाउने र सुविधा पाउने ठाउँमा अलग्गै हो भनेर भाग पनि ओगटने।
माओवादी द्वन्द् वैठान भएपछि बनेको नेपालको अन्तरिम संविधान २०६३ मा मातृभाषाले पनि नेपाली भाषा सरह समान हैसियत पाए पछि र उनीहरूले मातृभाषाको पनि विकास हुने देखेपछि उनीहरूले “नेपालको राष्ट्रिय जनगणना २०११” मा नेपाली भाषाका स्थानीय भेदहरू एक दर्जन जति भाषाको रूपमा लेखाए। भाषाको सङ्ख्या व्हात्तै बढाए। यसका तिन कारण हुनसक्छन्- (१) धेरै भाषा छन् । तसर्थ यी सबै भाषाको विकास सम्भव छैन भनेर संविधान, ऐेन कानुन र योजनामा प्रभावित पार्नु, (२) मातृभाषा र जातिको आधारमा प्रदेश बनाउनुबाट रोक्नु (३) मातृभाषीले सुविधा पाइनै हालेमा सुविधाको भरमग्दुर उपभोग गर्नु आदि।
अहिले पनि हेरे हुन्छ- जब जब मातृभाषीले आन्दोलन तेज पार्छन् उनीहरू भित्रभित्र प्यापसन जस्ता संस्थाहरूलाई उठाउने र बाहिर-बाहिर चाही नेपाली भाषा त संकटमा परिसक्यो, केको मातृभाषाको कुरा गर्नु भन्दे आन्दोलनलाई शिथिल पार्ने कोशिस गर्छन्। मातृभाषीहरूको आन्दोलन कमजोर भएपछि र मातृभाषीहरूले केही नपाउने भएपछि पुनः नेपाली भाषाकै भाषिका हो फरक भाषा होइन भन्नेतिर उनीहरू विच कानेखुसी गर्दैछन्।
अब मातृभाषाको आन्दोलन सफल भयो र अब साँच्चै ऐेन कानुन मातृभाषाको पक्षमा बन्यो भने ती भाषा नै रहने छन् र मातृभाषाले केहीे नपाउने भएमा हाम्रा भाषा नेपाली भाषाका भाषिका नै हो भनेर पुनः आउँदो जनगणनामा नेपाली भाषा लेखाउन षड्यन्त्र हुँदैछ।
यस्तो दोहोरो चरित्रबाट सचेत हुन आवश्यक छ र नेपाली भाषाले मातृभाषाको दावी गर्छ भने त्यो मातृभाषालाई दवाउने राजनिति हो र राज्यलाई दोहोरो दोहन गर्ने नीति पनि हो भनेर बुझ्नु पर्दछ।
०००























