मार्क्सवादको विकासबारे

-नारायणकाजी श्रेष्ठ

माक्र्सवादको मुख्य सार भनेको वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण तथा पद्दति हो । माक्र्सवादको दृष्टिकोण ऐतिहासिक द्वन्द्वात्मक हो र यसको पद्दति द्वन्द्वात्मक भौतिकवाद हो । वास्तवमा अरू सबै चीजहरू त्यस संगसंगै जोडिएर आएका हुन् । यसो भन्दा अलिकति असजिलो र विरोधाभाषजस्तो लाग्नसक्छ । तर, यही नै तीतो सत्य हो, जसलाई हामीले स्वीकार्नुपर्छ । किनकि, माक्र्सवाद र कम्युनिस्ट आन्दोलनमा रहेको कठमुल्लावाद एउटा गम्भीर समस्या हो, जसले माक्र्सवादको क्रान्तिकारी प्रक्रियालाई पथभ्रष्ट गर्दछ । मैले भनिरहन परेन, दक्षिणपन्थी संशोधनवाद र सुधारवाद पनि सधंै माक्र्सवादका विरुद्ध रहन्छन् । यसर्थ, माक्र्स आफंैले भन्नुभएको छ,– ‘यदि यो माक्र्सवाद हो भने म माक्र्सवादी होइन ।’ माक्र्सको यस भनाइले प्रस्ट पार्दछ, माक्र्स आर्थिक नियन्त्रणवादको विपक्षमा हुनुहुन्थ्यो । यान्त्रिक भौतिकवादले सुरुबाट नै माक्र्सवादको सस्तो ब्याख्या गर्दै आयो । यसो हँदा माक्र्स आफंैले बैज्ञानिक दृष्टिकोण र पद्दतिमा जोड दिनुभएको छ ।

माक्र्सले स्पष्ट रूपमा सिद्धान्त र व्यवहारको पहिचानका लागि आह्वान गर्नुभएको छ । यदि हामीले त्यसलाई व्यवहारमा उतार्दैनौ भने माक्र्सका लागि कुनै दर्शन, सिद्धान्त र विचारको उपादेयता थिएन । माक्र्सले भन्नुभएको छ, ‘दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या गरेका छन् तर मुख्य कुरा यसलाई परिवर्तन गर्नु हो ।’ त्यसैले प्राज्ञिक माक्र्सवाद चाहिं पटक्कै माक्र्सवाद होइन ।

माक्र्सवाद मुख्य रूपमा वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण एवम् पद्दति र व्यावहारिक दर्शन हो । माक्र्सवादका सन्दर्भमा लेनिनले स्पष्ट रूपमा भन्नुभएको छ, ‘यो न त पूर्ण छ न चलाउनै नहुने छ ।’ त्यसैले म यहाँ दुईवटा कुरामा केन्द्रित भएर जोड दिन चाहन्छुः पहिलो, माक्र्सवादलाई माक्र्सवादी तरिकाले आत्मसात गर्दै यो दृष्टिकोण र पद्दतिलाई ग्रहण गर्नुपर्छ । माकर््सवादी सिद्धान्तको आलोकमा अन्तरनिहित अन्र्तवस्तुलाई पक्रेर कठमुल्लावादको शिकार नभई माक्र्सवादको रचनात्मक प्रयोग गर्नुपर्छ । दोस्रो, बस्तुगत उद्देश्यका साथ माक्र्सवादलाई निरन्तर रूपमा गति दिँदै विकास गर्नुपर्छ । यसले मात्र हामीलाई आजको माक्र्सवाद, समाजवाद र क्रान्तिका सन्दर्भमा आएका चुनौतीहरूको सामना गर्न समर्थ बनाउनेछ ।

जनताको मुक्ति र सम्पूर्ण मानव जातिको स्वतन्त्रताका खातिर हामीले माक्र्सवादको विकास गर्न आवश्यक छ । हामीले माक्र्सवादको विकासका लागि दुई कोणबाट प्रयत्न गर्नुपर्छः पहिलो, हामीले नयाँ “ वस्तुगत परिस्थितिले सिर्जना गरेका चुनौतीहरू र आजको विश्वमा विकसित परिघटनाको सामना गर्न सक्षम हुनुपर्छ । माक्र्सवादको विकास गर्दै परिवर्तन र घटनाहरूलाई सम्बोधन गर्नुपर्छ । आज सूचना प्रबिधिको ‘क्वान्टम मेकानिक्स’ र भूमण्डलीकृत पँुजीवाद देखिएको छ । केही वर्ष पहिलासम्म तिनीहरू कल्पनाभन्दा बाहिर थिए । उत्पादन प्रबिधि पनि तीब्र गतिमा परिवर्तन भइरहेको छ । मानवको यान्त्रीकीरण (रोबोटाइजेसन) ले पनि ठाउँ लिइरहेको छ ।

यी परिघटनाहरूलाई दिमाग राखेर हामीले माक्र्सवादको विकासलाई अगाडि बढाउनुपर्छ । अन्यथा, हामी आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन असमर्थ हुनेछौं, माक्र्सवादका नारा र सिद्धान्तलाई दोहो¥याई मात्र रहनेछौं । हामी यो नसोचाँै कि माक्र्सवादले सबै विषयमा सधैं उठेका प्रश्नहरूको उत्तर दिन सक्छ । दोस्रो, हामीले माक्र्सवादलाई सोभियत सङ्घ र पूर्वी युरोपको प्रतिक्रान्ति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवको विश्लेषण र संश्लेषणका आधारमा विकास गर्नुपर्छ । यसका पछाडिका वस्तुगत आधारहरू के थिए ?

निश्चय नै, त्यहाँ वस्तुगत कारणहरू पनि छन् तर सोभियत सङ्घका समाजवादी राज्यहरू र अरू देशहरूको असफलताका विषयतगत कारणहरूलाई सम्बोधन नगरी समाजवाद प्राप्त हुन र सबल हुन सक्दैन । कम्युनिस्ट पार्टी, कम्युनिस्ट क्रान्ति र कम्युनिस्ट शासनका बस्तुगत कमजोरीहरू के हुन् ? यिनीहरूको विश्लेषण हुनुपर्छ र ती कमजोरीहरूलाई सच्याउनुपर्छ ।

सबल लोकतान्त्रिक अभ्यास

विषयहरूमा प्रकाश पार्न पर्याप्त समय छैन । म दुईटा चीजहरूमा छलफल गर्न चाहन्छु । एउटा चाहिँ कम्युनिस्ट पार्टीभित्र सबल लोकतान्त्रिक व्यवहारको अभाव हो । पार्टीको आन्तरिक लोकतन्त्र र श्रमजीवी वर्ग एवम् आमजनताको सरकारमा सहभागिताका लागि बस्तुगत–संस्थागत प्रणालीमा पनि कमजोरी छ । लेनिनले सोभियत प्रणालीलाई राज्य र सरकार सञ्चालन गर्ने पद्दतिका रूपमा विकास गर्नुभएको थियो । तर, उहाँले प्रत्यक्षतः सोभियत मोडलको लोकतन्त्रको आफँै नेतृत्व गर्न सक्नुभएन । त्यहाँको सुशासनमा जनताको सहभागिताका लागि ठोस प्रणाली बन्न सकेन । सबै चीजहरूमा पार्टीका केही नेताहरूले निर्णय लिन्थे । अन्ततोगत्वा यसले पार्टीलाई जनताबाट अलग्यायो । यसो हुँदा आन्तरिक लोकतन्त्रको कमी आधारभूत कमजोरी हो र समाजवादी क्रान्तिलाई अगाडि बढाउन यसमाथि विजय हासिल गर्नुपर्छ । दोस्रो, न्यून बैचारिक र सांस्कृतिक स्तर थियो । एकपटक पार्टीले राज्यसत्ता कब्जा गरेपछि बैचारिक र सांस्कृतिक आन्दोलन पछाडि प¥यो । पार्टी र राज्यलाई बैचारिक स्खलनबाट रोक्ने प्रणालीको अभाव रह्यो ।

हामीले नेपालमा सन् १९४९ मा कम्युनिस्ट पार्टी स्थापना ग¥याँै । त्यतिखेर हामी निकै कमजोर भएकाले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न सकेनौ । पछि गएर हाम्रा क्रियाकलापहरूका कारणले शक्ति आर्जन ग¥यौं र त्यसबेला हामीले दुईवटा मोर्चामा आन्दोलन ग¥यांै । एउटा थियो– सशस्त्र सङ्घर्ष र अर्को– जनताको शान्तिपूर्ण आन्दोलन । यसको अर्थ हामीले सामूहिक निर्णयमा यी दुईवटा मोर्चा तयार गरेका होइनांै । हामीसंग तत्कालीन समयमा मतभिन्नताहरू थिए । एउटा शक्ति सशस्त्र सङ्घर्षतिर लाग्यो र अर्को शान्तिपूर्ण आन्दोलनतिर । यति मात्र नभई हामीले बुर्जुवा उदारवादी शक्तिलाई त्यस आन्दोलनमा समाहित ग¥यौं । रूप र सारमा नेपालका क्रान्तिकारी आन्दोलन र परिवर्तनहरू अद्वितीय थिए । हामीले राजतन्त्र उन्मुलनका लागि सङ्घर्ष ग¥यांै र शान्ति प्रक्रिया सुरु गर्नुका साथै संविधानसभाको निर्वाचनतिर लाग्यांै । संविधानसभाले देशलाई गणतन्त्र घोषणा ग¥यो र नयाँ संविधान जारी ग¥यो । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र नभई अरू उपलब्धिहरूलाई समेत संस्थागत ग¥यो । हामीले प्राप्त गरेका क्रान्तिकारी उपलब्धिहरू यिनै हुन् ।

समाजवादउन्मुख समावेशी लोकतन्त्र

हाम्रो पार्टीले के सोच्छ र हामी के भन्छौं भने संबैधानिक रूपमै संस्थागत गरिएको समावेशी लोकतन्त्र एक प्रकारको जनताको जनवाद हो । हामीले नेपालमा प्रयोग गर्न चाहेको जनताको जनवाद चीन वा भियतनामको जस्तो दुरुस्तै हुनुपर्छ भनेर दावी गर्दैनौ । त्यहाँ राज्यका अङ्गहरूलाई राज्य शक्ति हातमा लिनेबित्तिकै क्रान्तिकारीकरण गरियो । तर, यहाँ त्यस्तो अवस्था होइन । बुर्जुवा लोकतान्त्रिक क्रान्ति कम्युनिस्ट शक्तिहरूको नेतृत्व आफ्नै तरिकाले आधारभूत रूपमा सम्पन्न भएको छ । यद्यपि, बुर्जुवा लोकतान्त्रिक क्रान्तिका केही कार्यहरू अझै पूरा भएका छैनन् । नयाँ संविधानले समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई सुनिश्चित गरेको छ, जसलाई हाम्रो पार्टीले एक प्रकारको जनताको जनवाद ठानेको छ र अब हामीहरू बाँकी कार्यभारहरू पूरा गर्न लागेका छांै । अझै बुर्जुवा लोकतान्त्रिक क्रान्ति र जनवादलाई सुदृढ गर्न, जनताको जनवादलाई फलिभूत पार्न र जनताका लागि सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्न बाँकी छ ।

तात्कालिक कार्यनीति सामाजिक न्यायसहितको समाजवाद उन्मुख आर्थिक विकास र समृद्धि हो, जसले समाजवादका लागि अनूकुल वातावरण र वस्तुगत अवस्था निर्माण गर्नेछ । तर, समाजवादमा पुग्न सजिलो छैन र हामीले यसका लागि हतार पनि गर्नु हँुदैन । हामीले लोकतन्त्रलाई पूर्ण र सुदृढ गर्नुछ । हामी सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नेछौं, जसले समाजवादका लागि वस्तुगत परिस्थितिलाई परिपक्व बनाउनेछ र त्यतिखेर मात्र हामी समाजवादमा जान सक्नेछांै । यही नै अहिलेका लागि उचित बाटो हुनेछ । किनभने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बारेमा हाम्रो संश्लेषण के हो भने लोकतन्त्र कम्युनिस्ट आन्दोलन र राज्य सञ्चालनका लागि नभई नहुने कुरा हो र अहिले हामी कम्युनिस्टहरूले नेपालमा लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दै बहुदलीय प्रतिस्पर्धाको अभ्यास गरिरहेका छांंै । बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट सरकार बनाएर देशको नेतृत्व गर्दैछौं ।

यसो हुँदा हामी अहिले बहुदलीय प्रतिस्पर्धामा छौं । हामी आशावादी छौं, हामीले राष्ट्रलाई नेतृत्व गर्छौं, गर्नुपर्ने सामाजिक न्यायसहितको आर्थिक समृद्धिसम्बन्धी तत्कालीन कार्यभारहरू पूरा गर्छौं र समाजवादका लागि आधार निर्माण गर्छौं । त्यसपछि समाजवादतिर फड्को मार्छौं, जसका लागि केही समय लाग्नेछ । हामीहरूलाई हतार पनि छैन । तर, हामीहरू यसलाई छाड्ने छैनांै । हामी बैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई त्याग्ने छैनांै ।

यदि हामीले नेपाली क्रान्तिलाई माक्र्सवादी पाठ्यसामग्रीबाट मात्र बुझ्ने हो भने सम्भव हुँदैन । हामीले अन्य देशमा सम्पन्न भएका क्रान्तिका मोडलहरूबाट हे¥यांै भने पनि नेपाली क्रान्तिलाई बुझ्न सम्भव हुँदैन । किनभने, नेपाली क्रान्ति वास्तविक रूपमा अद्वितीय ढङ्गले सम्पन्न भएको छ । तर, आधारभूत रूपमा यो एउटा बुर्जुवा लोकतान्त्रिक क्रान्ति हो र हामीले समाजवादी क्रान्तिका लागि यसको नेतृत्व गरिरहेका छांै । जहाँसम्म आन्दोलनको स्वरूपको प्रश्न छ, हामीलाई लाग्छ– यो शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबाट जाने सम्भावना छ । तर, एउटा माक्र्सवादीका रूपमा सङ्घर्षहरूका अरू रूपहरूलाई अस्वीकार गर्न सक्दैनांै । किनभने, आन्दोलनको स्वरूप पूर्णतः हाम्रा इच्छामाथि निर्भर हँुदैन । हामी जे चाहन्छौं, त्यो नहुन सक्छ ।

क्रान्तिको स्वरूप तथा विषयहरू पनि वर्गशत्रुको भूमिकामा आधारित रहन्छन् । यदि वर्गशत्रुहरू– साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले सामाजिक रूपान्तरणका निम्ति समाजवादतर्फको यात्राका क्रममा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धात्मक बाटोमा व्यवधान खडा गरे भने हामी चुप लागेर बस्न सक्दैनौं । क्रान्तिलाई समाजवादततर्फ लैजानका लागि हामी आन्दोलनका जुनसुकै आवश्यक रूपहरूको प्रयोग गर्न सक्छांै । यो हाम्रो प्रतिबद्धता हो, नेपालमा हामीले यही गरिरहेका छौं र यतै गइरहेका छौं ।

हामीसंग नेपालमा महान् अवसरहरू छन् र गम्भीर चुनौतीहरू पनि । हामीले तपाईंहरूलाई कार्ल माक्र्सको द्विशतवार्षिकी मनाउन तथा नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनका अनुभवहरूलाई साटासाट गर्न यहाँ निम्त्याएका छांै । यसको मतलब नेपालका कम्युनिस्टहरूले कता हो कता गरेका छन् भन्ने देखाउनु होइन । हाम्रा अनुभवहरू र हामीले अहिले अभ्यास गरिरहेको लोकतन्त्रको मोडल अरू प्रयोगहरूमध्येको एक प्रयोग हो र यो तपाईंहरूका लागि आजको एउटा सन्दर्भ हुन सक्छ । तर, मुख्य चीज चाहिँ जे हामी तपाईंहरूबाट चाहन्छांै, तपाईंहरूको आलोचनात्मक सुझाव हो, जसले क्रान्तिलाई बचाउन र अगाडि बढाउन सक्दछ ।

यद्यपि, हामीहरू सचेत र होसियार छौं– हामी क्रान्तिकारी दिशाबाट पलायन र विचलन हुने प्रबल खतरा छ । किनभने, अहिले हामीहरूले दुई तिहाई बहुमतको सङ्घीय सरकार सञ्चालन गरिरहेका छौं, सातवटा प्रदेशहरूमध्ये छवटा प्रदेशहरूमा हाम्रो पार्टीको सरकार छ र हाम्रो पार्टी ठूलो सङ्ख्यामा स्थानीय तहमा नेतृत्व गर्दछ । यसो हँुदा हामी सबभन्दा बलियो पार्टी हौं । जहाँसम्म लोकप्रिय मतको प्रश्न छ, ५३ प्रतिशत मत एउटै पार्टीले प्राप्त गरेको छ । हामीसंग यस्तो अवसर छ र मलाई जहाँसम्म लाग्छ, नेपाल कम्युनिस्ट पार्टी संसारका कम्युनिस्ट पार्टीहरूमध्येको सबैभन्दा ठूलो पार्टी हो, जसले बहुदलीय प्रतिस्पर्धामार्फत यो शक्ति आर्जन गरेको छ ।

विभिन्न देशबाट पाल्नुभएका कमरेडहरू, कृपया हामीलाई तपाईंहरूको सल्लाह र सुझाव आवश्यक छ । हामी क्रान्तिकारी उपलब्धिहरूको संरक्षण गर्न चाहन्छौं र पूर्ण विजयका निम्ति क्रान्ति निरन्तर जारी राख्न चाहन्छौं । यसो हुँदा हामीहरू विनम्रतापूर्वक तपाईंहरूका आलोचना र सल्लाहका अपेक्षा राख्दछौं । यदि हाम्रो बलियो सरकारले जनतालाई सेवा प्रदान गर्न सकेन भने राष्ट्रले दुःख पाउनुपर्नेछ र कम्युनिस्ट आन्दोलनले धक्का खानुपर्नेछ । यसर्थ, हामी यस्तो अवस्था सिर्जना हुने कुनै मौका दिने छैनांै । यी चुनौतीमाथि कसरी विजय हासिल गर्ने भन्ने प्रश्न हाम्रा सामु छ । यसका लागि हामीले हाम्रै बुद्धि र विवेकको प्रयोग गर्नुपर्छ र गरिहेका छौं । तर, तपाईं हाम्रा मित्रहरूले पनि तपाईंहरूको विवेक र विचारलाई नेपालमा केही चीज त महत्वपूर्ण नै भएछ है र अझ धेरै हुने मौका छ भनेर लगाउनुहुनेछ । हामीले नेपालमा उल्लेखनीय क्रान्तिकारी उपलब्धिहरू हासिल गरेका छौं । यी उपलब्धिहरूलाई कसरी जोगाउने र अगाडि बढ्ने ? यो हाम्रा लागि एउटा छाड्नै नहुने सवाल हो । कृपया, तपाईंहरू हाम्रा उपलब्धिहरूलाई क्रान्तितर्फ अगाडि बढाउन मद्दत गर्नुहोस् । हामीले चाहेको यही हो ।

अन्तर्राष्ट्रिय समन्वय

हामीहरू अन्तर्राष्ट्रियतावादी हांै र निश्चय नै हामी अन्तर्राष्ट्रियतावादप्रति प्रतिबद्ध छौं । तर, आफ्नो देशमा परिवर्तन ल्याउन क्रान्तिकारी नभईकन हामी अन्तर्राष्ट्रियतावादी हुन सक्दैनौं । यसो हुँदा एकातिर हामीले श्रमजीवी वर्गका जनताका लागि माक्र्सवादको विकासप्रति लक्षित हुने प्रयत्न गर्नुपर्छ भने अर्कातिर सङ्घर्षलाई हाम्रा सम्बन्धित देशहरूमा क्रान्तिकारी आन्दोलन निर्माण गर्नमा केन्द्रित गराउनुपर्छ । त्यसपछि मात्रै हामी अन्तर्राष्ट्रियतावादी हुन सक्छांै ।

हामीसंग अन्तर्राष्ट्रिय बाध्यताहरू पनि छन् । यहाँ कसैले कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माणका बारेमा पनि कुरा उठाउनुभयो । अहिले तत्कालै कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउने मागका सम्बन्धमा उठेको प्रश्नमा हाम्रो जवाफ हुन्छ– ‘हँुदैन’ । जब परिस्थिति परिपक्व छैन र त्यसले वर्तमानमा नकारात्मक परिणाम दिन्छ भने हामी कम्युनिस्ट अन्तर्राष्ट्रिय जस्तो कुनै पनि प्रकारको सङ्गठन तत्काल निर्माण गर्न सक्दैनौ । जे होस्, कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय समन्वय चाहिँ आवश्यक छ । यो भूमण्डलीय पुँजीवाद, वित्तीय पँुजीवाद र यस्तै अरू चीजहरूले खडा गरेका चुनौतीहरूको सामना गर्न बैचारिक विकास, गम्भीर विचार विमर्शहरू र सामूहिक कामका लागि हुनुपर्छ । हामीले साम्राज्यवाद विरुद्धका सबै आन्दोलनहरूको विरोध र सबै प्रकारका दमनहरूको भत्सर्ना गर्दै नैतिक एवम् अन्य प्रकारका समर्थन उपलब्ध गराउनुपर्छ । हामी यस प्रकारको बाटोबाट अघि बढ्नुपर्छ ।

म आशा गर्दछु, सबै कमरेडहरूले यस कुरालाई गम्भीरतापूर्वक लिनुभएको छ । म र हाम्रो पार्टीले तपाईंहरूका भावना, दृष्टिकोण र मतहरूलाई गम्भीरतापूर्वक लिएका छांै । आगामी दिनहरूमा हामी अन्तरक्रियालाई जारी राख्नेछौं ।

(कार्ल माक्र्सको द्विशतवार्षिकीका अवसरमा (१६–१७, जेठ, २०७५) काठमाडौमा सम्पन्न अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा व्यक्त समापन मन्तव्यको नेपाली रुपान्तरणको मुख्य अंश )

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।