मार्क्सवादको दार्शनिक पक्ष द्वन्द्वात्मक भौतिकवाद
  • रामराज रेग्मी
मार्क्सवादको दार्शनिक पक्ष द्वन्द्वात्मक भौतिकवाद
लेखक

मार्क्सवादका प्रवर्तक जर्मनीका विद्वान काल मार्क्स हुन् । उनले संसारको सबैभन्दा उन्नत वैज्ञानिक विचारधारा ठानिएको यो सिद्धान्त आफ्ना घनिष्ठ सहयात्री एंगेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । मार्क्सवादले प्रकृति र त्यसको विकासलाई बोधगम्य मान्दछ, कुनै पनि वस्तु इन्द्रीयको सीमाभन्दा टाढा रहस्यको स्थितिमा रहेको विश्वास गर्दैन ।

मार्क्स के भन्दछन् भने भौतिक संसारको सत्ता एउटा वैज्ञानिक वास्तविकता हो जुन हाम्रो मनभन्दा बाहिर र त्यसबाट स्वतन्त्र रूपमा रहेको छ । मार्क्सवादले पदार्थ (भूत) लाई मूल तत्व मान्दछ र त्यसलाई मानिसको विचार संवेदना र कल्पनाको स्रोतको रूपमा लिन्छ । माक्र्स भन्दछन्, ‘पदार्थले विकासको उच्चतम अवस्थामा मस्तिष्कको रूपधारण गर्दछ जसबाट विचारको क्रिया आरम्भ हुन्छ ।’ मानिसका मानसिक क्रियाकलाप बाहिरी इन्द्रीय ग्राह्य ज्ञान र देशकालका सीमाभित्र चलखेल गर्ने कुराले मार्क्सवादी दर्शनलाई सही सावित गरेको छ । यसले एउटा नयाँ जीवन पद्धतिको मार्गदर्शन गरेको छ । मार्क्सवादका तीन पक्ष छन् दार्शनिक, समाजिक/राजनीतिक र आर्थिक ।

दार्शनिक पक्षअन्तर्गत द्वन्द्वात्मक भौतिकवाद, सामाजिक/राजनीतिक पक्षअन्तर्गत ऐतिहासिक भौतिकवाद र आर्थिक पक्षअन्तर्गत राजनीतिक अर्थशास्त्र पर्दछन् ।  दर्शन भनेको जगत्, यसमा विद्यमान मानवजाति, प्राणीहरू र पदार्थको अस्तित्व, गति र तिनका समस्यासम्बन्धी खोज हो । यो भनेको समस्त जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो । मानव जातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिम कालदेखिनै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । यही खोजीको क्रममा नै दर्शनको प्रादूर्भाव भएको हो ।

दर्शनशास्त्रलाई विशेष गरी दुई भागमा विभाजन गरिएको छ– अध्यात्मवाद र भौतिकवाद । अध्यात्मवादले आत्मा र चेतनालाई प्राथमिकता दिन्छ र एउटा अलौकिक शक्ति (ईश्वर) को अस्तित्वलाई स्वीकार गर्दछ । यसको विपरीत भौतिकवादले पदार्थ र यसको अस्तित्वलाई प्राथमिकता दिन्छ । भौतिकवादी दृष्टिकोणका पनि दुई धारा छन्– अतिभूतवाद र द्वन्द्ववाद । अतिभूतवादले प्राकृतिक घटनालाई अलग्गै अपरिवर्तनशील र स्थिर रूपमा देख्दछ । यो एकलकाटे पद्धति हो । यसले प्रत्यक्ष हेर्दा जे–जस्तो देखिन्छ र बुझिन्छ त्यसैलाई सत्यको रूपमा स्वीकार गर्दछ ।

यसले प्रत्येक वस्तुलाई राम्रो-नराम्रो, सबल÷दुर्बल, ठीक-बेठीक जस्ता एउटा न एउटा पक्षमा विभाजन गर्दछ । यसको विपरीत द्वन्द्ववादले कुनै पनि घटनालाई अन्य घटनासँग सम्बन्धित बनाई गतिशील रूपमा हेर्दछ । यसले प्रत्येक वस्तुलाई वरपरका अनगिन्ति वस्तुहरूसँगको अन्तरसम्बन्ध र अन्तक्र्रियामा हेर्दछ । उदाहरणको रूपमा अतिभूतवादले युद्धलाई हत्या हिंसा र क्षतिको अर्थमा लिन्छ । अतिभूतवादीहरूको निम्ति युद्ध भनेको सदैव नराम्रो कुरा हो । तर, द्वन्द्ववादले युद्धका नकरात्मक र सकरात्मक दुवै पाटाहरू केलाउँछ र यसले समाजमा के–कस्तो परिणाम ल्याएको छ, त्यसको विश्लेषण गर्दछ । द्वन्द्ववाद अनुसार यदि युद्धले समाजलाई अग्रगामी दिशामा रूपान्तरण गरेको छ भने त्यो राम्रो हुन्छ र यदि युद्धले समाजलाई पछि धकेलेको छ भने त्यो नराम्रो हुन्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गर्दा मार्क्स र एंगेल्सले यसलाई आविष्कारको रूपमा प्रस्तुत गरेका होइनन्, विद्यमान शास्त्रीय दर्शनहरूलाई संयोग गरेर तिनलाई पूर्णता प्रदान गरेका हुन् ।

विल्हेम फ्रेडरिक हेगेल (१७७०–१८३०) शास्त्रीय जर्मन दर्शनका विशिष्ट प्रवर्तक थिए । उनले विचार (आत्म) स्व–विकासको प्रक्रियाबाट अघि बढ्छ भन्ने मान्यताअघि सारे । आफ्नो कृति ‘तर्कशास्त्र’ मा उनले शास्वत सत्य तार्किक या ऐतिहासिक प्रक्रियाको अलावा अरु केही होइन भन्ने निष्कर्ष निकाले (एंगेल्स, २०६० : ९) । तर उनले विचार स्वतन्त्र रहेको र विश्वको अस्तित्वमा पहिलेदेखि नै विद्यमान भएको भन्ने कुराअघि सारे । उनले स्व–विकासको प्रक्रियाबाट अघि बढ्ने द्वन्द्ववादी दृष्टिकोण केबल विचारको सवालमा मात्र लागू गरे, पदार्थको सवालमा लागू गरेनन् । उनको दर्शन द्वन्द्ववादी भएर पनि अध्यात्मवादी धारामा उभिन पुग्यो ।

लुडविग फायरवाख (१८०४–१८७२) हेगेलकै समर्थक थिए । तर उनले हेगेलको अध्यात्मवादी धारालाई अस्वीकार गरी भौतिकवादतर्फ लैजान खोजे । अतएव उनको चिन्तनलाई हेगेलवाद भौतिकवादमा विकसित हुने क्रमको रूपमा लिइएको छ । फायरवाखले धर्मको आदि, मध्य र अन्त्य मानव हो भन्ने विचारअघि सारे । ‘इसाई धर्मको सार’ नामक आफ्नो पुस्तकमा उनले के निष्कर्ष निकाले भने मानिसले मान्दै आएको उच्चतम सत्ता (ईश्वर) अरु कोही नभएर मानिस स्वयं हो । उनले के कुरामा जोड दिए भने प्रकृति र मानवभन्दा पर कुनै चीजको अस्तित्व छैन, मानिसको कल्पनाको उडानले आफ्नै स्तरका कल्पनात्मक प्रतिविम्बको रूपमा नै उच्चस्तरका प्राणीहरू (देवताहरू) को सृष्टि भएका हुन् ।

फायरवाखले के पनि भने भने एक मात्र वास्तविकता भनेको इन्द्रीयगोचर भौतिक जगत नै हो जसको हामी स्वयं एक अंग हौं । (एंगेल्स, २०६० : १४–१५) तर भौतिकवादी भएता पनि फायरवाखले धर्मलाई पूरै इन्कार गर्न सकेनन्, त्यसलाई मानवतावादको वर्को ओढाउन पुगे । पशुमा धर्म हुँदैन भन्ने मान्यताअघि सारी उनले धर्मलाई पशु र मानवबीच भिन्नता कोर्ने आधार बनाए । उनमा पशुलाई यन्त्रजस्तो ठान्ने यान्त्रिक भौतिकवादको प्रभाव पनि रह्यो ।

मार्क्स हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादबाट प्रभावित भए र तिनलाई नै आफ्नो दार्शनिक यात्राको प्रस्थानबिन्दु बनाए । तर उनी दुवैका कमजोरीप्रति सचेत पनि भए र दुवैका अनुपयोगी मान्यताहरूलाई परित्याग गरी तिनका तर्कसम्मत सार तत्वलाई ग्रहण गरे । उनले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई समन्वय गरी ‘द्वन्द्वात्मक भौतिकवाद’ को प्रतिपादन गरे । उनले टाउकाले टेकेका दर्शनलाई खुट्टाले टेकाइदिए । (एंगेल्स, २०६० : ४३)  मार्क्स एंगेल्सको जीवनकालमा द्वन्द्ववादी दर्शनलाई पुष्टि गर्नका निम्ति थुप्रै वैज्ञानिक खोज र आविस्कार भएका थिए । तर एंगेल्सको शब्दमा ‘सर्वोपरि तीन महान खोजहरू’ – कोषिकाको खोज, उर्जाको रूपान्तरण र क्रम विकासको सिद्धान्त– ले प्राकृतिक प्रक्रियाहरूको अन्तरसम्बन्धी उनीहरूको ज्ञानलाई वेगपूर्वक अघि बढाएको भन्ने छ । ( एंगेल्स, २०६० : ४५)

कोषिकाको खोजमा गुणन र विभेदनबाट पूरा वनस्पति र जीवका शरीर विकसित हुन्छन् र कोषिकाको परिवर्तनद्वारा नै जीवधारीले आफ्नो गति बदल्ने गर्छन् भन्ने कुरा देखाइएको छ । उर्जाको रूपान्तरणमा यन्त्र, उर्जा, उसमा, विकिरण र विद्युत चम्बक जस्ता अजैविक प्रकृतिमा क्रियाशील हुने शक्तिहरू एक अर्कोमा परिवर्तित भइरहन्छन् भन्ने निष्कर्ष निकालिएको छ । चाल्स डार्बिनले ‘क्रम विकासको सिद्धान्त’ मा मानवसमेत सम्मिलित जीवपदार्थ मूलतः एक कोषीय जीवाणुहरूको क्रमिक विकासको एउटा लामो प्रक्रियाको परिणाम हो भनी बताएका छन् ।

मार्क्सवादी दर्शन यस अर्थमा भौतिकवादी हो कि यसले पदार्थको अस्तित्वलाई प्रथम स्थानमा र चेतनालाई द्वितीय स्थानमा स्वीकार गर्दछ । यो यस अर्थमा द्वन्द्ववादी हो कि यसले प्रकृतिमा जुन वस्तु देखिन्छ, त्यो देखिएको अवस्था र आकारमा सधैँ रहिरहन्न, त्यो परिवर्तन र गतिको अवस्थामा हुन्छ भन्ने मान्यताअघि सार्दछ । द्वन्द्ववादी नियम अनुसार कुनै रूख जुनबेला त्यसलाई हामीले नियालेर हेरिरहेका हुन्छौं अथवा फोटो खिच्दछौं सदैव त्यही रूपमा रहेको हुँदैन । त्य

समा भइरहेको परिवर्तन हामी सामान्यतया महशुस गर्न सक्दैनौँ, तर प्रत्येक क्षण त्यसका जरादेखि पात, अंग तथा प्रत्यंगमा परिवर्तन भइरहेको हुन्छ । रुख निर्माण गर्ने पुराना कोषहरू नष्ट भइरहेका हुन्छन् भने नयाँ कोषहरू उत्पन्न भइरहेका हुन्छन् । रुखजस्तै प्रकृतिमा विद्यमान सम्पूर्ण जीव र निर्जीव वस्तुहरू आपसी सम्बन्ध, अन्तक्र्रिया र आत्मनिर्भरताको कारण निरन्तर गतिशील र परिवर्तनशील हुन्छन् । वस्तुमा आउने गति एवं परिवर्तनका निम्ति द्वन्द्ववादले तीन नियम प्रस्तुत गर्दछ– एकता र संघर्ष, मात्रात्मक एवं गुणात्मक परिवर्तन र निषेधको निषेध ।

एकता र संघर्ष
एकता र संघर्षको नियम द्वन्द्ववादका नियममध्येको प्रमुख नियम हो । अन्य नियमहरू यसैमा आधारित हुन्छन् । द्वन्द्ववादको नियमानुसार प्रकृति समाज र ज्ञानसम्बन्धी सम्पूर्ण संरचना त्यसमा अन्तर्निहित प्रतिपक्षहरूद्वारा निर्मित हुन्छ । संसारमा यस्तो कुनै पनि घटना वा वस्तु छैन जुन प्रतिपक्षमा विभाजित हुँदैन ।
प्रतिपक्ष भन्नाले एउटा संरचनाका आपसी विरोधी तत्वहरू, गुणहरू, पक्षहरू र धाराहरू भन्ने बुझिन्छ । जस्तै विद्युतमा नेगेटिभ र पोजेटिभ, गणितमा जोड र घटाउ, चुम्बकमा उत्तरी र दक्षिणी ध्रुव सामन्तवादी समाजमा जमिन्दार र किसान आदि हुन् । कुनैकुनै संरचनामा तातो चिसो, हलुका गह्रौ, उल्टो सुल्टो, नजिक टाढा, अग्लो होचो आदि कुराहरू भेटिन्छन् । ती पनि परस्परविरोधी तत्वहरू हुन्, बेग्लै अस्तित्वका कुरा होइनन् ।
ती एउटै वस्तुका दुई आयाम हुन् र ठिंग एक्लो अवस्थामा रहन सक्दैनन्, ती एक आपसमा सम्बन्धित र अन्तर्निहित हुन्छन् । जीवन नभई मृत्यु हुँदैन, तातो नहुने हो भने चिसोको कुरा उठ्दैन, मोटो नहुने भए दुब्लो भन्नुपर्ने कुरै हुँदैन, माथि नभई तल भन्ने कुरा हुँदैन आदि ।  कतिपय मानिसहरू समाजमा सधैँ शान्ति रहोस्, आपसी झैँझगडा नहोस् भन्ने चाहन्छन् । शान्तिको चाहना राम्रो हो । तर विपरीत वर्गहरू रहेको समाजमा केबल एकता मात्र हुँदैन, त्यहाँ संघर्ष पनि हुन्छ । यो स्वभाविक हो । संघर्षलाई नराम्रो मान्न हुँदैन । प्रकृतिमा दुईविपरीत तत्व वा पक्षहरू एकता र संघर्ष दुवै अवस्थामा हुन्छन् ।
तिनीहरूमा पारस्परिक निर्भरता हुन्छ र निश्चित अवधिमा सन्तुलनमा रहेका हुन्छन् । पड्किनुभन्दा पूर्व बमका विपरीत तत्वहरू सँगसँगै बसेका हुन्छन् । तर द्वन्द्ववादको नियमानुसार संघर्षको तुलनामा एकता र निर्भरता दोस्रो दर्जाको र अस्थायी प्रकृतिको हुन्छ । लेनिन भन्दछन्, ‘विपरीत तत्वहरूको एकता परिस्थितिबद्ध, अस्थायी, संक्रमणकालीन र सापेक्ष हुन्छ’ (लेनिन, १९५८ : ३५८) । वस्तुमा हुने विपरीत तत्वबीचको एकता र संघर्षले नै त्यसमा गति र परिवर्तन उत्पन्न गराउँछ । उदाहरणको रूपमा गाडीको पाङ्ग्राले घरि भुइँ छुन्छ त घरि भुइँ छोड्छ । गाडी र जमिनको कहिले एकता र कहिले संघर्ष स्थापित हुन्छ । छुने र नछुने जोडिने र छुट्टिने प्रक्रियाले गाडीमा गति उत्पन्न गराउँछ र त्यो गुडेको हुन्छ । विपरीत तत्वहरूको संघर्ष सबै वस्तुको विकासको प्रक्रियामा रहन्छ र यो प्रक्रियाको थालनीदेखि अन्तसम्म रहिरहन्छ ।
द्वन्द्ववादका विरोधीहरू आन्तरिक रूपमा हुने प्रतिपक्षको संघर्षको भूमिकालाई गौँण स्थानमा राखी परिवर्तनमा बाह्य कारणको भूमिकालाई निर्णायक ठान्दछन् । तर वस्तुको परिवर्तनमा भित्री संघर्ष-अन्तर्विरोध नै प्रमुख कारण हुन्छ । यो कुरालाई अण्डाको उदाहरणबाट पुष्टि गर्न सकिन्छ । ढुंगाको टुक्रा र अण्डालाई निश्चित मापको तापक्रम दिँदा अण्डाबाट चल्ला निस्कन्छ तर ढुंगाबाट निस्कन्न । यो भित्री कारणको खेल हो । चल्ला बन्ने वस्तुस्थिति अण्डामा मात्र निहित हुन्छ । परिवर्तनमा बाह्य शक्तिको भूमिका नहुने होइन तर त्यो प्रमुख हुँदैन (तुङ्ग, २०२८ ः ३५) ।
मात्रात्मक र गुणात्मक परिवर्तन
द्वन्द्ववादको नियम अनुसार कुनै पनि वस्तुका दुईविपरीत तत्वबीच एकता र संघर्ष हुँदा त्यसमा पहिले मात्रात्मक परिवर्तन आउँछ । मात्रात्मक परिवर्तन भनेको वस्तुमा देखापर्ने विस्तार वा तिव्रता हो । विस्तार हुँदा आकार, आयतन, संख्या आदिमा परिवर्तन हुन्छ, जस्तोे कि पानीलाई ताप दिइयो भने त्यसको तातोपन बढ्दै जान्छ । यो भनेको मात्रात्मक परिवर्तन हो । मात्रात्मक परिवर्तनको माध्यमबाट वस्तुको गुणमा हेरफेर आउँछ ।
जब तापक्रम बढेर १००० सेल्सियसमा पुग्दछ, तब पानीको गुण बदलिएर त्यो वाफ बन्दछ । एक निश्चित सीमाभित्र मात्रामा आएको परिवर्तनले गुणात्मक परिवर्तन ल्याउन्न । मात्राको परिवर्तन सीमाबाहिर गएपछि मात्र गुणमा परिवर्तन आउँछ । पानीको तातोपनको मात्रा 0 डिग्री सेल्सियसबाट ९९ डिग्री सेल्सियससम्म पुग्दा यसको गुणमा कुनै परिवर्तन आउन्न । सीमा (१०००) बाहिर गएपछि नै पानी वाफ बन्दछ । मात्रात्मक परिवर्तनको चरित्र सामान्यतया मन्द र क्रमबद्ध हुन्छ । गुणात्मक परिवर्तन क्रमहीन र फड्काको रूपमा हुन्छ । मात्रात्मक परिवर्तन हत्पत्ती नदेखिने र गुणात्मक परिवर्तन टड्कारै महशुस गर्न सकिने हुन्छ ।
राहुल सांस्कृत्यायनले मात्रात्मक परिवर्तन सर्पको गतिमा र गुणात्मक परिवर्तन भ्याकुताको गतिमा हुने उपमा दिएका छन् । परस्परविरोधी पक्षको एक अर्कोमा रूपान्तरण, वस्तुको स्थिरतामा हेरफेर, नयाँ रासायनिक तत्वको जन्म, नयाँ सामाजिक व्यवस्थाको उदय आदि परिवर्तनहरू भौैतिक जगतमा हुन जाने फड्को अथवा गुणात्मक परिवर्तनकै उपज हुन् । परन्तु, ती निश्चित परिमाणात्मक सञ्चय कै प्रतिफल पनि हुन् । (आफानास्येभ, २०५४ : ११५)  वस्तुहरूका सामान्यतया दुई अवस्था हुन्छन् – सापेक्ष स्थिरताको अवस्था र प्रत्यक्ष परिवर्तनको अवस्था । दुवै अवस्थामा वस्तुका विपरीत पक्षहरूबीच संघर्ष चलिरहेको हुन्छ ।
तर पहिलो अवस्थामा संघर्षले मात्रात्मक परिवर्तन गराएको हुन्छ भने दोस्रो अवस्थामा गुणात्मक परिवर्तन गराएको हुन्छ । संघर्षको क्रममा वस्तुभित्र विद्यमानविपरीत तत्वको स्थितिमा घटबढ भइरहन्छ र दुईमध्येमा एउटा बढी महत्वको र अर्को कम महत्वको हुन्छ । जुन पक्ष बढी महत्वको हुन्छ, त्यसले नै परिवर्तनको क्रममा वस्तुको स्वरूपलाई निर्धारण गर्दछ ।
परस्परविरोधी पक्षहरू एउटा विशेष परिस्थितिमा एक अर्कोमा फेरिन पुग्छन् । पञ्चायत कालमा शोषित भएर बसेका राजनीतिक पार्टीहरू २०४६ को जनआन्दोलनपछि बहुदलीय शासन कालमा शासकवर्गमा रूपान्तरित भए भने शासक भएर बसेका पञ्चहरू शासित हुन पुगे । समाज रूपान्तरणका लागि मात्रात्मक र गुणात्मक दुवै परिवर्तन हुनु आवश्यक छ । तर संशोधनवादीहरू र सुधारवादीहरू केबल मात्रात्मक परिवर्तनका पक्षपाती हुन्छन् । तिनीहरू क्रान्तिका रूपमा हुने छलाङलाई अस्वीकार गर्दछन् । अर्कोतिर उग्रवादीहरू र अराजकतावादीहरू केवल गुणात्मक परिवर्तनमा जोड दिन्छन् । ती दुवै प्रवृत्ति गलत हुन् । समाज परिवर्तनका लागि दुवै खाले परिवर्तन आवश्यक हुन्छ ।
निषेधको निषेध
कुनै पनि वस्तुका दुईविपरीत तत्वहरू एकता र संघर्षको प्रक्रियाबाट गुज्रँदा वस्तुमा आउने नयाँ परिवर्तनले पुरानोलाई निषेध गर्दछ । प्रकृतिमा कुनै पनि कुरा जस्ताको तस्तै दोहोरिन्न । अभिधूतवादले निषेधलाई पूर्ण परिवर्तन वा पूर्ण ध्वंशका अर्थमा लिन्छ । तर निषेधमा पनि पुरानाका मूल्यवान् सकारात्मक कुराहरू त्यसमा संरक्षित हुन्छन् । नयाँ स्थापित वस्तु पुरानोबाटै जन्मिएको हुनाले त्यसमा पुरानाका सम्पूर्ण कुराहरू हटेका हुन्नन् । पहिले विद्यमान निम्न अवस्थाका कतिपय मूल विशेषताहरू उच्चस्तरमा स्थापित हुन्छन् । नयाँ स्थापित तत्व पनि फेरि समयक्रममा अर्को नवीन तत्वद्वारा निषेध गरिन्छ ।
इतिहास हेर्ने हो भने पुरानो समाज फेरिएर नयाँ समाज बन्ने क्रम निषेधकै शृंखला हो । आदिम साम्यवादलाई दास समाजले, दास समाजलाई सामन्ती समाजले, सामन्ती समाजलाई पूँजीवादी समाजले र पूँजीवादी समाजलाई समाजवादी समाजले निषेध गरेको देखिएको छ । यो प्रक्रियालाई निषेधको निषेध भनिन्छ । निषेध भनेको नष्ट गर्ने र अवरोध पु¥याउने क्रिया होइन । यो त विकास निर्माणको निम्ति अथवा परिवर्तनको निम्ति गरिने नकार हो जुन एक नियम अन्र्तगत प्राकृतिक रूपमा सम्पन्न हुन्छ ।
पुरानोलाई निषेध गरेर बनेको नूतन वस्तु खास विन्दुमा पुगेपछि अर्को नयाँद्वारा निषेधित हुन्छ । निषेधको निषेध विकासको निरन्तर प्रक्रिया हो । विकासको गति चक्रको रूपमा नभएर घुमाउरो भ¥याङजस्तो हुन्छ । एउटा वस्तुको निषेध हुँदा अर्को वस्तुको निर्माण हुन्छ । उदाहरणको रूपमा मकैको गेडालाइ जमीनमा छर्दा त्यसबाट बिरुवा उम्रन्छ । बिरुवाले बिउलाई निषेध गर्दछ । बिरुवा फेरि बोटबाट निषेधित हुन्छ र घोवा लागेपछि समयक्रममा बोट पनि सुकेर मर्दछ । यसको मतलव घोवाले बोटलाई निषेध गर्दछ । निषेधको निषेधले मकैको बिउ निषेध भए पनि घोवाको रूपमा कैयौँ मकैका गेडा फल्दछन् । यहाँनेर बुझनु पर्ने कुरा के हो भने हरेक जीव वा वस्तुको निषेध आ–आफ्नै खालको हुन्छ ।
सन्दर्भ स्रोत आफानास्येभ, भिक्टर, २०५४, दर्शन शास्त्रको प्रारम्भिक ज्ञान, सहभागी प्रकाशन, काठमाडौं ।  एंगेल्स, फ्रेडरिक, २०६०, लुडविग फायरवाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य, प्रगति पुस्तक सदन, काठमाडौं ।
तुङ्ग, माओ त्से, २०२८, अन्तर्विरोध वारे, दर्शनवारे पाँच कृतिहरू, नेपाल चीन मैत्री संघ, काठमाडौं । लेनिन, भि.आइ., १९५८, द्वन्द्ववादको समस्याको विषयमा, संकलित कृतिहरू, प्रगति प्रकाशन, मस्को ।

Comments

comments