- रामराज रेग्मी

मार्क्सवादका प्रवर्तक जर्मनीका विद्वान काल मार्क्स हुन् । उनले संसारको सबैभन्दा उन्नत वैज्ञानिक विचारधारा ठानिएको यो सिद्धान्त आफ्ना घनिष्ठ सहयात्री एंगेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । मार्क्सवादले प्रकृति र त्यसको विकासलाई बोधगम्य मान्दछ, कुनै पनि वस्तु इन्द्रीयको सीमाभन्दा टाढा रहस्यको स्थितिमा रहेको विश्वास गर्दैन ।
मार्क्स के भन्दछन् भने भौतिक संसारको सत्ता एउटा वैज्ञानिक वास्तविकता हो जुन हाम्रो मनभन्दा बाहिर र त्यसबाट स्वतन्त्र रूपमा रहेको छ । मार्क्सवादले पदार्थ (भूत) लाई मूल तत्व मान्दछ र त्यसलाई मानिसको विचार संवेदना र कल्पनाको स्रोतको रूपमा लिन्छ । माक्र्स भन्दछन्, ‘पदार्थले विकासको उच्चतम अवस्थामा मस्तिष्कको रूपधारण गर्दछ जसबाट विचारको क्रिया आरम्भ हुन्छ ।’ मानिसका मानसिक क्रियाकलाप बाहिरी इन्द्रीय ग्राह्य ज्ञान र देशकालका सीमाभित्र चलखेल गर्ने कुराले मार्क्सवादी दर्शनलाई सही सावित गरेको छ । यसले एउटा नयाँ जीवन पद्धतिको मार्गदर्शन गरेको छ । मार्क्सवादका तीन पक्ष छन् दार्शनिक, समाजिक/राजनीतिक र आर्थिक ।
दार्शनिक पक्षअन्तर्गत द्वन्द्वात्मक भौतिकवाद, सामाजिक/राजनीतिक पक्षअन्तर्गत ऐतिहासिक भौतिकवाद र आर्थिक पक्षअन्तर्गत राजनीतिक अर्थशास्त्र पर्दछन् । दर्शन भनेको जगत्, यसमा विद्यमान मानवजाति, प्राणीहरू र पदार्थको अस्तित्व, गति र तिनका समस्यासम्बन्धी खोज हो । यो भनेको समस्त जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो । मानव जातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिम कालदेखिनै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । यही खोजीको क्रममा नै दर्शनको प्रादूर्भाव भएको हो ।
दर्शनशास्त्रलाई विशेष गरी दुई भागमा विभाजन गरिएको छ– अध्यात्मवाद र भौतिकवाद । अध्यात्मवादले आत्मा र चेतनालाई प्राथमिकता दिन्छ र एउटा अलौकिक शक्ति (ईश्वर) को अस्तित्वलाई स्वीकार गर्दछ । यसको विपरीत भौतिकवादले पदार्थ र यसको अस्तित्वलाई प्राथमिकता दिन्छ । भौतिकवादी दृष्टिकोणका पनि दुई धारा छन्– अतिभूतवाद र द्वन्द्ववाद । अतिभूतवादले प्राकृतिक घटनालाई अलग्गै अपरिवर्तनशील र स्थिर रूपमा देख्दछ । यो एकलकाटे पद्धति हो । यसले प्रत्यक्ष हेर्दा जे–जस्तो देखिन्छ र बुझिन्छ त्यसैलाई सत्यको रूपमा स्वीकार गर्दछ ।
यसले प्रत्येक वस्तुलाई राम्रो-नराम्रो, सबल÷दुर्बल, ठीक-बेठीक जस्ता एउटा न एउटा पक्षमा विभाजन गर्दछ । यसको विपरीत द्वन्द्ववादले कुनै पनि घटनालाई अन्य घटनासँग सम्बन्धित बनाई गतिशील रूपमा हेर्दछ । यसले प्रत्येक वस्तुलाई वरपरका अनगिन्ति वस्तुहरूसँगको अन्तरसम्बन्ध र अन्तक्र्रियामा हेर्दछ । उदाहरणको रूपमा अतिभूतवादले युद्धलाई हत्या हिंसा र क्षतिको अर्थमा लिन्छ । अतिभूतवादीहरूको निम्ति युद्ध भनेको सदैव नराम्रो कुरा हो । तर, द्वन्द्ववादले युद्धका नकरात्मक र सकरात्मक दुवै पाटाहरू केलाउँछ र यसले समाजमा के–कस्तो परिणाम ल्याएको छ, त्यसको विश्लेषण गर्दछ । द्वन्द्ववाद अनुसार यदि युद्धले समाजलाई अग्रगामी दिशामा रूपान्तरण गरेको छ भने त्यो राम्रो हुन्छ र यदि युद्धले समाजलाई पछि धकेलेको छ भने त्यो नराम्रो हुन्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गर्दा मार्क्स र एंगेल्सले यसलाई आविष्कारको रूपमा प्रस्तुत गरेका होइनन्, विद्यमान शास्त्रीय दर्शनहरूलाई संयोग गरेर तिनलाई पूर्णता प्रदान गरेका हुन् ।
विल्हेम फ्रेडरिक हेगेल (१७७०–१८३०) शास्त्रीय जर्मन दर्शनका विशिष्ट प्रवर्तक थिए । उनले विचार (आत्म) स्व–विकासको प्रक्रियाबाट अघि बढ्छ भन्ने मान्यताअघि सारे । आफ्नो कृति ‘तर्कशास्त्र’ मा उनले शास्वत सत्य तार्किक या ऐतिहासिक प्रक्रियाको अलावा अरु केही होइन भन्ने निष्कर्ष निकाले (एंगेल्स, २०६० : ९) । तर उनले विचार स्वतन्त्र रहेको र विश्वको अस्तित्वमा पहिलेदेखि नै विद्यमान भएको भन्ने कुराअघि सारे । उनले स्व–विकासको प्रक्रियाबाट अघि बढ्ने द्वन्द्ववादी दृष्टिकोण केबल विचारको सवालमा मात्र लागू गरे, पदार्थको सवालमा लागू गरेनन् । उनको दर्शन द्वन्द्ववादी भएर पनि अध्यात्मवादी धारामा उभिन पुग्यो ।
लुडविग फायरवाख (१८०४–१८७२) हेगेलकै समर्थक थिए । तर उनले हेगेलको अध्यात्मवादी धारालाई अस्वीकार गरी भौतिकवादतर्फ लैजान खोजे । अतएव उनको चिन्तनलाई हेगेलवाद भौतिकवादमा विकसित हुने क्रमको रूपमा लिइएको छ । फायरवाखले धर्मको आदि, मध्य र अन्त्य मानव हो भन्ने विचारअघि सारे । ‘इसाई धर्मको सार’ नामक आफ्नो पुस्तकमा उनले के निष्कर्ष निकाले भने मानिसले मान्दै आएको उच्चतम सत्ता (ईश्वर) अरु कोही नभएर मानिस स्वयं हो । उनले के कुरामा जोड दिए भने प्रकृति र मानवभन्दा पर कुनै चीजको अस्तित्व छैन, मानिसको कल्पनाको उडानले आफ्नै स्तरका कल्पनात्मक प्रतिविम्बको रूपमा नै उच्चस्तरका प्राणीहरू (देवताहरू) को सृष्टि भएका हुन् ।
फायरवाखले के पनि भने भने एक मात्र वास्तविकता भनेको इन्द्रीयगोचर भौतिक जगत नै हो जसको हामी स्वयं एक अंग हौं । (एंगेल्स, २०६० : १४–१५) तर भौतिकवादी भएता पनि फायरवाखले धर्मलाई पूरै इन्कार गर्न सकेनन्, त्यसलाई मानवतावादको वर्को ओढाउन पुगे । पशुमा धर्म हुँदैन भन्ने मान्यताअघि सारी उनले धर्मलाई पशु र मानवबीच भिन्नता कोर्ने आधार बनाए । उनमा पशुलाई यन्त्रजस्तो ठान्ने यान्त्रिक भौतिकवादको प्रभाव पनि रह्यो ।
मार्क्स हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादबाट प्रभावित भए र तिनलाई नै आफ्नो दार्शनिक यात्राको प्रस्थानबिन्दु बनाए । तर उनी दुवैका कमजोरीप्रति सचेत पनि भए र दुवैका अनुपयोगी मान्यताहरूलाई परित्याग गरी तिनका तर्कसम्मत सार तत्वलाई ग्रहण गरे । उनले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई समन्वय गरी ‘द्वन्द्वात्मक भौतिकवाद’ को प्रतिपादन गरे । उनले टाउकाले टेकेका दर्शनलाई खुट्टाले टेकाइदिए । (एंगेल्स, २०६० : ४३) मार्क्स एंगेल्सको जीवनकालमा द्वन्द्ववादी दर्शनलाई पुष्टि गर्नका निम्ति थुप्रै वैज्ञानिक खोज र आविस्कार भएका थिए । तर एंगेल्सको शब्दमा ‘सर्वोपरि तीन महान खोजहरू’ – कोषिकाको खोज, उर्जाको रूपान्तरण र क्रम विकासको सिद्धान्त– ले प्राकृतिक प्रक्रियाहरूको अन्तरसम्बन्धी उनीहरूको ज्ञानलाई वेगपूर्वक अघि बढाएको भन्ने छ । ( एंगेल्स, २०६० : ४५)
कोषिकाको खोजमा गुणन र विभेदनबाट पूरा वनस्पति र जीवका शरीर विकसित हुन्छन् र कोषिकाको परिवर्तनद्वारा नै जीवधारीले आफ्नो गति बदल्ने गर्छन् भन्ने कुरा देखाइएको छ । उर्जाको रूपान्तरणमा यन्त्र, उर्जा, उसमा, विकिरण र विद्युत चम्बक जस्ता अजैविक प्रकृतिमा क्रियाशील हुने शक्तिहरू एक अर्कोमा परिवर्तित भइरहन्छन् भन्ने निष्कर्ष निकालिएको छ । चाल्स डार्बिनले ‘क्रम विकासको सिद्धान्त’ मा मानवसमेत सम्मिलित जीवपदार्थ मूलतः एक कोषीय जीवाणुहरूको क्रमिक विकासको एउटा लामो प्रक्रियाको परिणाम हो भनी बताएका छन् ।
मार्क्सवादी दर्शन यस अर्थमा भौतिकवादी हो कि यसले पदार्थको अस्तित्वलाई प्रथम स्थानमा र चेतनालाई द्वितीय स्थानमा स्वीकार गर्दछ । यो यस अर्थमा द्वन्द्ववादी हो कि यसले प्रकृतिमा जुन वस्तु देखिन्छ, त्यो देखिएको अवस्था र आकारमा सधैँ रहिरहन्न, त्यो परिवर्तन र गतिको अवस्थामा हुन्छ भन्ने मान्यताअघि सार्दछ । द्वन्द्ववादी नियम अनुसार कुनै रूख जुनबेला त्यसलाई हामीले नियालेर हेरिरहेका हुन्छौं अथवा फोटो खिच्दछौं सदैव त्यही रूपमा रहेको हुँदैन । त्य
समा भइरहेको परिवर्तन हामी सामान्यतया महशुस गर्न सक्दैनौँ, तर प्रत्येक क्षण त्यसका जरादेखि पात, अंग तथा प्रत्यंगमा परिवर्तन भइरहेको हुन्छ । रुख निर्माण गर्ने पुराना कोषहरू नष्ट भइरहेका हुन्छन् भने नयाँ कोषहरू उत्पन्न भइरहेका हुन्छन् । रुखजस्तै प्रकृतिमा विद्यमान सम्पूर्ण जीव र निर्जीव वस्तुहरू आपसी सम्बन्ध, अन्तक्र्रिया र आत्मनिर्भरताको कारण निरन्तर गतिशील र परिवर्तनशील हुन्छन् । वस्तुमा आउने गति एवं परिवर्तनका निम्ति द्वन्द्ववादले तीन नियम प्रस्तुत गर्दछ– एकता र संघर्ष, मात्रात्मक एवं गुणात्मक परिवर्तन र निषेधको निषेध ।
























