समाजवाद र बोलिभारियन क्रान्ति

भेनेजुयला का राष्ट्रपति चाभेजको निधन क्यान्सरका कारण ५ मार्च २०१३ मा ५८ वर्षको उमेरमा भयो, त्यो पनि समाजवादी निर्माणको अधारभूत थालनी पूर्ण हुन नपाउँदै । यो भेनेजयलाका मजदुर, गरिब किसान र निम्नमध्यम वर्गलाई एउटा धक्का थियो । तर, त्यो धक्का अर्को ऊर्जामा रूपान्तरण हुने छनक चाभेजको निधनमा देखिएको जनलहरले देखायो । सरकारी सेनादेखि विद्रोही ‘ ‘कमाण्डर’ गुरिल्ला, सैन्य कु गरेर सत्ता हात पार्ने असफल प्रयासदेखि अटुट चौध वर्ष जनमतद्वारा निर्वाचित राष्ट्रपति, अमेरिकी साम्राज्यवाद र नवउदारवादको कट्टर बिरोधीदेखि ल्याटिन अमेरिकाका महादेशीय उचाइका नेता, ‘मोडरेट’ सामाजिक जनवादी (लोकतान्त्रिक समाजवाद) देखि वामपन्थी अग्रसरता । यही नै हयुगो चाभेज हो ।

सामाजिक जनवाददेखि वामपन्थी समाजवादसम्म

पहिलोपटक राष्ट्रपतिमा निर्वाचित हुँदासम्म पनि चाभेज वामपन्थी समाजवादको पक्षमा थिएनन्, बरू त्यसको पनि विकल्प हुन्छ भन्ने ठाउँमा थिए । केही बुद्धिजीवीहरू उनलाई ‘मोडरेट सोसल डेमोक्रेट’ थिए भन्छन् । जेहोस्, उनी पूँजीवाद र समाजवादका बीचमा तेस्रो बाटोको खोजी गर्दै थिए । तर, ‘र्याडिकल’ परिवर्तन संस्थागत गर्नुपूर्व नै चाभेजको सरकारविरूद्ध आक्रमण हुन थालेपछि उनको राजनीतिक निर्भरता आधारभूत तहका क्रान्तिकारी संगठनहरूको शक्तिमाथि हुन थाल्यो । ती संगठनविना अप्रिल २००२ को सैन्य ‘कू’ छिचोलेर उनी सत्तामा फर्किनु सम्भव नै थिएन । जटिल द्वन्द्वको चाप र तलबाट उठेको क्रान्तिकारी आन्दोलनले चाभेजलाई आफ्नो विश्वदृष्टिकोणमाथि नै पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्याइदियो ।

यो द्वन्द्वको उत्कर्ष सन् २०००-२००४ को अवधिमा भयो । कुलिनहरूले सबैखाले युद्धको घोषणा गरे, जसले क्रान्तिलाई पराजित होइन सशक्तीकरण गर्यो । त्यो पनि तीन चरणमा अघि बढ्यो । पहिलो चरण, अप्रिल २००२ को ‘कू’ मा विरोधीहरू पराजित भइसकेपछि सेनामा चाभेजको पकड बलियो हुन पुग्यो । दोस्रो चरणमा तेल कम्पनीलगायतमा मालिकहरूद्वारा तालाबन्दी गरेर चाभेज सरकारविरूद्ध जो आर्थिक धक्का दिन खोजिएको थियो, त्यसलाई पनि सन् २००२ को अन्तिम र २००३ को सुरूमा असफल बनाइयो । र, भेनेजुयलाको सबैभन्दा ठूलो तेल कम्पनी पीडीभीएसमाथि सरकारको नियन्त्रण कायम भयो । अन्तिम चरणमा विरोधीहरू राजनीतिक रूपमा समेत पराजित भए, जब सन् २००४ को जनमतसंग्रहमा चाभेज झन्डै ६० प्रतिशत मत प्राप्त गरेर विजयी भए । यो भनेको सैन्य, आर्थिक र राजनीतिक मोर्चामा चाभेजको जित थियो ।

जनमतसंग्रहपछि चाभेजको हातमा शक्ति केन्द्रीकरण भयो । त्यसपछि त सामाजिक नीतिमा मात्र सीमित होइन राजनीतिक रूपमै निर्णायक रूपान्तरण सुरू भयो ।

बोलिभारियन क्रान्ति अर्थात् २१औँ शताब्दीको समाजवाद

राष्ट्रपति निर्वाचित भएपछि हृयुगो चाभेजसमक्ष दुईवटा विकल्प थिए – केही ठूला सामाजिक मुद्दाहरूलाई सम्बोधन गरेर नवउदारवादलाई निरन्तरता दिने कि नयाँ विकल्प रोज्ने । चाभेजले नयाँ विकल्प रोजे, जसलाई उनले समाजवाद नाम दिए । सोभियत संघको भन्दा फरक प्रकृतिको समाजवाद हुनेछ भन्ने अर्थमा उनले एक्काइसौँ शताब्दीको समाजवाद भने । यसैलाई ल्याटिन अमेरिकी विशिष्टतामा बोलिभारियन क्रान्ति भनिँदै छ । र, यसको जग २९ वर्षअघि खनिएको थियो । रिकार्डो अलार्कनका अनुसार फेब्रुअरी २७, १९८९ का दिन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) विरूद्ध भेनेजुयलाको राजधानी कराकसमा भएको गरिब जनताको प्रदर्शनलाई दमन गरेर जो क्रूर हत्याकाण्ड मच्चाइयो (जसबारे पश्चिमी मिडियाहरू चुँ बोलेनन्) । हो, त्यही दिनदेखि ल्याटिन अमेरिकाभरि थोपरिएको नवउदारवादी आर्थिक मोडल र ‘प्रतिनिधिमूलक प्रजातन्त्र’ ले हावा खान थालेको हो ।

जनवरी २००५ देखि चाभेजले समाजवादका बारेमा बोल्न थाले । उनले त्यस वर्षदेखि नै ‘तलको दबाब’ मा आर्थिक नीतिमा पनि परिवर्तन सुरू गरे । त्यही वर्ष मालिकहरूले बन्द गरेको विशाल वेनेपल कागज मिल स्थानीय जनताको समर्थनमा दुई वर्ष लामो आन्दोलनपछि मजदुरहरूले कब्जा गरेर पुनः सञ्चालनमा ल्याए । यसपछि सुरू भयो राष्ट्रियकरण । भेनेजुयलाको संसद्ले मजदुरहरुद्वारा कब्जा गरिएको कागज मिल मजदुरहरूको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गर्यो । अहिले मजदुर र समुदायको गठजोडमा आठ सयभन्दा बढी कम्पनी तथा कलकारखाना सञ्चालन भइरहेका छन् । सहव्यवस्थापनको मोडलमा सञ्चालित यस्ता कलकारखानाहरूमा सरकारको स्वामित्व ५१ प्रतिशत, मजदुरहरूको स्वामित्व ४९ प्रतिशत हुन्छ ।

बोलिभारियन क्रान्तिका क्रममा विकास गरिएका २ वटा संस्थाहरूले यसलाई वास्तविकतामा रूपान्तरण गर्नेछन् । एउटा हो, सामुदायिक स्तरमा निर्माण गरिने कम्युनल काउन्सिल । लेनिनले ‘सबै शक्ति बोल्सेभिकको हातमा’ भनेझैँ डिसेम्बर २००६ मा भेनेजुयलाको इतिहासमै विशाल मत प्राप्त गरेर पुनः राष्ट्रपति निर्वाचित भएपछि चाभेजले पनि घोषणा गरे ‘सबै शक्ति कम्युनल काउन्सिलको हातमा ।’ अर्को राज्यनियन्त्रित उद्योग-कलकारखानाहरूमा सहव्यवस्थापन (खासमा स्वव्यवस्थापन) । यो नयाँ अवधारणाले समाज र कलकारखानालाई जोडिरहेको छ । पुनः राष्ट्रपति निर्वाचित भएपछि भूमि, बैंक र मुख्य उद्योगधन्दाहरू राष्ट्रियकरण गर्ने ऐन ‘नेसनल एसेम्ब्ली’ बाट पारित गरियो । यसले भेनेजुयलाका प्रभुत्वशाली कुलिनहरू (oligarchy) को शक्ति तोडियो ।

भेनेजुयली क्रान्तिमा निर्णायक भूमिका सहर र नगरहरूले खेल्नेछन्, जहाँ ८० देखि ९० प्रतिशतसम्म जनता बसोबास गर्छन् । किसानहरू अल्पसंख्यामा छन् तर पनि ठूला जमिन्दार (जसले भेनेजुयलाका प्रभुत्वशाली कुलिनहरूको मुख्य अंश ओगटेको छ) विरूद्धको संघर्षमा उनीहरूको भूमिका महत्वपूर्ण छ । जहाँसम्म मध्यमवर्गको कुरा छ, त्यसको उच्च मध्यमवर्ग (कमाउदार कानुन व्यवसायीहरू, विश्वविद्यालयका प्राफेसरहरू, बैंकका म्यानेजरहरू, राजनीतिकर्मीहरू) प्रभुत्वशाली कुलनहरूसँग नजिक छन् भने निम्नमध्यम वर्ग (साना व्यापारी, साना किसान, बैंकका कर्मचारी आदि) मजदुरवर्गसँग नजिक ।

पूँजीवादसँग निर्णायक सम्बन्धविच्छेद गरेर समाजवादी अर्थतन्त्र लागु गर्न तथा तत्काल निम्नमध्यम वर्ग र किसानहरूलाई आर्थिक सुविधाहरू दिन बैंकहरूलाई राष्ट्रियकरण गर्नु अनिवार्य थियो जुन काम चाभेजले सुरू गरी छाडे । वास्तवमा चाभेजको सबैभन्दा ठूलो ‘लेगसी’ भनेकै समाजवादको पुनर्जीवन हो । पोर्टो अलेग्रेमा जनवरी ३०, २००५ मा भएको पाँचौं विश्व सामाजिक मञ्च (World Social Forum) मा १५ हजार मान्छेका बीचमा बोल्दै उनले भनेका थिए, ‘विश्वका बहुसंख्यक जनता जो चरम गरिबीमा छन्, उनीहरुको समस्याको समाधान पूजीवादी व्यवस्थाले दिन सक्दैन । हामी पूँजीवादभन्दा माथि उठ्नैपर्छ । तर, हामी राज्य-पूँजीवादको विकल्पमा पनि जान सक्दैनौ … हामीले समाजवादलाई सिद्धान्त, परियोजना र बाटोकै रूपमा दावी गर्नुपर्छ … नयाँ प्रकारको समाजवाद जो मानवतावादी होस्, जसले मेसिन होइन मान्छेलाई चिनोस् ।’

चाभेजको विश्वास थियो ‘लोकतन्त्र’ मार्फत् समाजवाद प्राप्त गर्न सकिन्छ, तर वासिङटनले जस्तो लाद्ने लोकतन्त्रमार्फत् होइन ।’ यसमा उनले प्रत्यक्ष जनसहभागितासहितका कम्युनल काउन्सिलहरूलाई जगको रूपमा अघि सारे । त्यस्तै तलबाट समाजवाद निर्माण गर्ने अर्को संयन्त्र सहकारी हो । अर्थतन्त्रको क्षेत्रमा चाहिँ स्टिल, आल्मुनियम र वेभसाइटलगायत दूरसञ्चार, जलविद्युत् जस्ता देशको अर्थतन्त्रमा चाभीको काम गर्ने उद्योगहरू मजदूर काउन्सिलले सञ्चालन गर्यो । त्यस्तै खाद्य वितरण केन्द्रहरू समेत मजदुरहरूको नियन्त्रणमा रह्यो । मार्च २००४ मा महात्वाकांक्षी’ मिसन भुएलभान कारास’ सुरू भयो । त्यसमा लाखौँ जनतालाई सहभागी गराइयो, जसको मुख्य जोड कृषिको विकास रह्यो । ‘डेमोक्रेसी नाउ’ रेडियोले चाभेजको निधनपूर्व गरेको अन्तरक्रियामा ‘भेनेजुयला एनालिसिस डट’ का संस्थापक ग्रेगरी विल्पटे भनेका थिए, ‘चाभेजले साँच्चै समाजवाद लागु गरिरहेका छन् । र, त्यो आर्थिक समाजवाद मात्र होइन राजनीतिक समाजवाद पनि हो । प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रमार्फत् उनी यसो गर्दैछन् ।’

तर, केही बुद्धिजीवीहरू बोलिभारियन क्रान्ति अर्थात् २१औँ शताब्दीको समाजवादको मुख्य अपूर्ण सैद्धान्तिक-कार्यक्रमिक व्याख्याको अभाव हो भनेर औँल्याइरहेका छन् । ‘मन्थ्ली रिभ्यु’ को इन्टरनेट संस्करणमा जे मुर लेख्छन्, ‘भेनेजुयलाको एक्काइसौं शताब्दीको समाजवादको कार्यक्रमिक व्याख्याको अभाव छ । यसलाई राम्ररी व्याख्या गर्नु र आफ्ना प्रतिबद्धता पूरा गर्नु भेनेजुयलाका क्रान्तिकारीहरूको दायित्व हो । यसो भन्नुको अर्थ आधारभूत सैद्धान्तिक प्रस्टता नै नभएको भन्ने चाहिँ होइन ।’ चाभेज भन्थे, ‘निजीकरण एक नवउदारवादी र साम्राज्यवादी योजना हो । स्वास्थ्यलाई निजीकरण गर्न सकिँदैन किनभने यो मानवीय आधारभूत अधिकार हो; न त शिक्षा, पानी, बिजुली र अन्य सामाजिक सेवालाई नै निजीकरण गर्न सकिन्छ । यी कुराहरू निजी पूंजीलाई भेटी चढाउन सकिँदैन । किनभने यो जनताको अधिकारको बर्ख़िलापमा हुन्छ ।’

बोलिभारियन कार्यक्रमका बारेमा जिज्ञासा राख्दै यो कसरी पूर्ण हुन्छ भनेर ‘न्यु लेफ्ट रिभ्यु’का सम्पादक तारिक अलीले सोधेको प्रश्नमा चाभेजले प्रस्ट भनेका थिए, ‘म मार्क्सवादको क्रान्तिसम्बन्धी जडसूत्रवादी धारणामा विश्वास गर्दिनँ । हामी सर्वहारा क्रान्तिको युगमा छौँ भन्ने मलाई लाग्दैन । यी सब कुरा परिमार्जन गर्नु आवश्यक छ । … म के ठान्छु भने क्रान्तिको गफ हाँक्ने तर सिन्को नभाँच्ने कुराभन्दा संघर्ष गर्दागर्दै मर्नु उत्तम हो । मलाई यो कुराले बारम्बार झस्काइरहन्छ । … क्रान्तिका लागि प्रयास गर, संघर्षमा उत्र । युटोपियामा हराउनुभन्दा सही दिशामा एक मिलिमिटर नै किन नहोस्, अघि बढ ।’

तारिक अलीकै निचोड प्रस्तुत गर्दा उपयुक्त होला – चाभेजले भेनेजुयलालाई स्वर्ग बनाएका थिए ? अहँ, त्यस्तो होइन । निश्चय नै उनले धेरै अर्थमा बदलिएको समाज छाडेर गए, जहाँ सरकारमा गरिबहरूको सहभागिता महत्वपूर्ण बन्न पुगेको छ । उनको लोकप्रियताका बारेमा धेरै भनिरहनु आवश्यक छैन । भेनेजुयला उनकै पक्ष र विपक्षमा विभाजित हुन पुगेको छ । उनी अपराजित थिए, तर ठूल्ठूला परीक्षणहरू हुन बाँकी नै छ ।

‘मांसाहारी’ वामपन्थी र अमेरिका

अमेरिकी नीतिनिर्माता शासक-प्रशासक तथा विचारनिर्माता बुद्धिजीवीहरूका अनुसार ल्याटिन अमेरिकामा दुईथरि वामपन्थीहरू छन् – असल (शाकाहारी) र खराब (मांसाहारी) वामपन्थी । फिडेल क्यास्ट्रो, ह्युगो चाभेज र इभो मोरालेज मांसाहारी वामपन्थी हुन (वासिङ्गटन पोस्ट, अगस्ट ६, २००६) । उनीहरूका नजरमा असल (शाकाहारी) वामपन्थीमा चिली, उरूग्वे, ब्राजिलका वामपन्थीहरू पर्छन् । अर्जेन्टिनाका नेस्टर किचनर पनि असल वामपन्थीमै पर्छन् क्यार ! इक्वेडरका राफेल कोरी र निकारागुवाका डेनियल ओर्टेगा चाहिँ अब खराब (मांसाहारी) वामपन्थीमा परिसके । खराब वामपन्थी हुनुको मापदण्ड अरू नभएर अमेरिकी साम्राज्य र पूँजीको प्रभुत्वलाई प्रत्यक्ष चुनौती दिनु नै हो ।

यो कुरा स्वीकार गर्दै चाभेजले भनेका थिए, ‘हामी नयाँ मोडल विकास गर्दैछौँ, यसैकारण वासिङ्टन हामीसँग क्रुद्ध भएको छ ।’ उनी पूँजीवादलाई दासत्वमा आधारित मोडल भएको बताउँदै भन्थे, ‘पूँजीवादीहरू यसकारण क्रुद्ध छन् कि हामी पूँजीवादबाट मुक्त हुन चाहन्छौँ । त्यसअतिरिक्त वर्षौँअघि सिमोन बोलिभारले अघि सारेको विचारका कारण पनि उनीहरू हामीसँग क्रुद्ध छन् ।’ भेनेजुयलाको राजधानी कराकसमा जन्मिएका सिमोन बोलिभार ती व्यक्ति हुन्, जसले अठारौँ शताब्दीमा ल्याटिन अमेरिकी महासंघ र उपनिवेशवादविरूद्ध राष्ट्रिय मुक्तिको विचार अघि सारेका थिए । उनकै नेतृत्वमा हालको कोलम्बिया, भेनेजुयला, बोलिभिया, इक्वेडर र पेरू स्पेनी उपनिवेशबाट मुक्त भएको हो ।

अमेरिकी साम्राज्यवादसँगको चाभेजको संघर्ष आजभन्दा १७ बर्षअघि प्रखर हुन पुगेको थियो जब क्यानाडामा अप्रिल २००१ मा भएको अमेरिकी राष्ट्रहरूको सम्मेलन (OAS) मा अमेरिकी महादेशलाई स्वतन्त्र व्यापार क्षेत्र (free trade zone) बनाउनुपर्ने बुसको प्रस्तावलाई चाभेजले लत्याइदिए । अमेरिकी महादेशका ३४ जना राष्ट्रप्रमुखहरूमध्ये चाभेज मात्र एकजना थिए, जसले बुसको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । अप्रिल २००२ को चाभेजविरोधी असफल सैनिक ‘कू’ पनि यसैको परिणाम थियो । मैदानमा भेनेजुयलाका बुर्जुवा देखिए पनि उनीहरूलाई परिचालन चाहिँ वासिङ्टनले गरेको थियो । यसको दुई वर्षपछि भेनेजुयलामा कोलम्बियाका प्यारामिलिटरीहरू गिरफ्तार भए । यस काण्डबाट अमेरिकाले चाभेजको हत्याको षड्यन्त्र रचिरहेको खुलासा हुन पुगेको थियो ।

भेनेजुयला अमेरिकालाई तेल आपूर्ति गर्ने चौँथो ठूलो राष्ट्र हो । अमेरिकाले पर्सियन खाडीबाट वार्षिक रूपमा जति तेल आयात गर्छ, मेक्सिको र भेनेजुयलाबाट त्योभन्दा बढी तेल आयात गर्छ । भेनेजुयला विश्वको ११औँ कच्चा पदार्थ निर्यातकर्ता देश र अमेरिकालाई आपूर्ति गर्ने चौँथो ठूलो देश पनि हो । यसले अमेरिकालाई भेनेजुयलासँग लहसिनुपर्ने अर्थ-राजनीतिक बाध्यताहरू निर्माण गरिदिएको छ । स्वतन्त्र व्यापार क्षेत्र लागु गरेर अमेरिकाले भेनेजुयली स्रोतसाधनलाई आफूअनुकूल बनाउन नखोजेको होइन । तर, चाभेजले अमेरिकाको प्रतिस्पर्धामा आधारित ‘फ्रि ट्रेड’ को नवउदारवादी बजार अर्थतन्त्रविरूद्ध सहकार्यमा आधारित ‘फेयर ट्रेड’ को विचार अघि सारे । यसका लागि सन् २००४ मा क्युबासँग मिलेर अमेरिकी जनताका लागि बोलिभारियन मोर्चा (The Bolivarian Alliance for the Peoples of Our Americas/ALBA) गठन गरे । अल्बामा दुई वर्षपछि बोलिभिया सामेल भयो । अहिलेसम्म निकारागुबा, इक्वेडर र केही क्यारिबियन राष्ट्रहरू अल्बामा सामेल भइसकेका छन् ।

अमेरिकाको बलमा सन् १९५४ मा ‘कू’ गरेर ज्याकोबो अर्बेन्जलाई सत्ताबाट हटाएपछि ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव बढेको हो । शितयुद्धभरि भेनेजुयलाले अमेरिकालाई साथ दियो । तर, अमेरिकी प्रशासन, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकले भेनेजुयलालाई स्वतन्त्र बजारनीति (वासिङ्टन कन्सेन्सस) अन्तर्गत लगेका कारण समाज गहिरोसँग सम्पन्न कुलिन र निर्धन श्रमजीवी वर्गमा विभाजित हुन पुग्यो । वासिङ्टन कन्सेन्सस जसको सार हो देशभित्र नवउदारवाद, बाहिर युद्ध; त्यसलाई चुनौती दिने पहिलो व्यक्ति थिए चाभेज । यो नवउदारवादीहरूलाई पाच्य हुने कुरै भएन । त्यसकारण उनीहरूले चाभेजको निधनको समाचार प्रसारण-प्रकाशन गर्दै चाभेजले भेनेजुयली समाजलाई भाँडे, विभाजित गरे भनेर उल्टै हल्ला गरे । यथार्थ के हो भने चाभेजले समाज विभाजित गरेका होइनन्, अमेरिकाले विभाजित गरिसकेको भेनेजुयली समाजमा गरिबहरूको पक्ष लिए, गरिबहरूलाई एउटै मोर्चामा ल्याएका हुन् ।

चाभेजले वामपन्थी र गरिबहरूको पक्ष लिएको कुरा त उनीहरू पनि बाध्यतावश स्वीकार गर्छन् । सीएनएन टेलिभिजनकी पूर्वसंवाददाता प्रिडा घिटिसले ‘चाभेज लेगासी’ भनेको धनी र गरिब, वामपन्थी र दक्षिणपन्थीका बीचमा शत्रुतापूर्ण विभाजन हो भन्दै लगेर एक वाक्यमा लेख्छिन् ‘चाभेजले ल्याटिन अमेरिकाका गरिबहरूलाई राजनीतिक एजेन्डाको सर्वोच्च स्थानमा ल्याउन निर्णायक भूमिका खेलेका छन् ।’ चाभेजको मृत्यु घोषणा भएकै दिन मार्च ५ मा ‘न्युयोर्क टाइम्स’ ले एउटा समाचार छापेको थियो – ‘भेनेजुयलालाई गहिरो विभाजन गर्दै बिते चाभेज ।’ चिलीका जो रिचार्डले समाचारको प्रतिवाद गर्दै प्रतिक्रियामा लेखे, ‘बाराक ओबामा (तत्कालीन अमेरिकी राष्ट्रपति) पनि मर्दा अमेरिकालाई विभाजित राष्ट्रकै रूपमा छाडेर जानेछन् । चाभेज र ओबामामा के फरक छ भने ओबामाले गरिबका लागि केही पनि गरेनन् । अमेरिकाजस्तो खण्डित र बेकामे राष्ट्रसँग भेनेजुयलालाई तुलनै गर्न मिल्दैन ।’

र, अब पनि भेनेजुयला-अमेरिकाबीचको सम्बन्ध सहज नहुने प्रस्ट संकेतहरू देखापरिसकेका छन् । कहाँको समाजवादउन्मुख भेनेजुयला, कहाँको साम्राज्यवादी अमेरिका ! चाभेजको निधन भएकै दिन भेनेजुयलास्थित अमेरिकी राजदूतावासका कर्मचारी डेभिड डेल्मोनाको र डेवलिन कोस्टललाई ‘भेनेजुयली सेनाको जासुसी गरेको’ र ‘दक्षिणपन्थी सैन्य अधिकारीहरूसँग गोप्य बैठक बसेको’ आरोपमा निष्काशन गरेपछि जवाफमा अमेरिकाले पनि चाभेजको अन्तिम संस्कारको भोलिपल्ट अमेरिकास्थित भेनेजुयली राजदूतावासमा कार्यरत भिक्टर कम्कारो र ओर्लन्डो मोन्टानेजलाई निष्काशन गर्यो । यो कूटनीतिक संघर्ष अमेरिका र भेनेजुयलाबीचको चुनौतीपूर्ण सम्बन्धको पूर्वलक्षण हो ।

‘कमान्डेन्ट’ चाभेज र ल्याटिन अमेरिका

सैन्य पृष्ठभूमिबाट आएका चाभेजलाई भेनेजुयली र ल्याटिन अमेरिकीहरू सम्मानपूर्वक सम्बोधन गर्नुपर्दा ‘कमान्डेन्ट चाभेज’ भन्ने गर्छन् । यी कमान्डेन्टको महादेशीय उचाइ अमेरिकी महादेशलाई ‘स्वतन्त्र बजारक्षेत्र’ बनाउनुपर्ने बुस (अमेरिकी पूर्व राष्ट्रपति) को प्रस्ताव एक्लैले लत्याएपछि भएको हो । यसपछि ल्याटिन अमेरिकी क्यारेबियन राष्ट्रका बीचमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सहकार्यका लागि क्युबासँग मिलेर गठन गरिएको अल्बाले उनलाई ल्याटिन अमेरिकाको कार्यकारी नेता बनाइदियो । ल्याटिन अमेरिकाका ‘खराब वामपन्थीहरू’ मूलतः उनकै नेतृत्वमा थिए ।

बलियो सामाजिक र मानवीय सारका कारण अल्बा नवउदारवादको साँचो विकल्प हो । अल्बाकै कार्यक्रमअन्तरगत क्युबाले भेनेजुयलाका लागि डाक्टर दिन्छ, भेनेजुयलाले तेल । क्युबा र भेनेजुयलाले अल्बाका सदस्य राष्ट्रहरूमा साक्षरता तालिम पनि सञ्चालन गरेका छन्, जस्तो कि बोलिभियामा । यसले थुप्रै विषयमा अन्तरदेशीय सहकार्य पनि गर्दैछ । औषधि, खाद्यान्नलगायतमा यस्तो प्रयास भएको छ । नाफाभन्दा पनि सामाजिक सहकार्यमा ध्यान दिएको यसले महादेशीय स्तरमा टिभी स्टेसन तेलेसुर र तेल कम्पनी पेट्रोक्यारिब स्थापना गरेको छ । अल्बाले बैंक पनि स्थापना गरेको छ, जसले कृषि औद्योगिक लगानीका लागि सस्तो ब्याजमा ऋण दिन्छ । लाखौं ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रका जनताहरू असाक्षरताबाट मुक्त भएका छन् । स्वास्थ्यमा व्यापक प्रगति भएको छ । त्यसअतिरिक्त भेनेजुयलाले क्युबालाई सस्तो मूल्यमा, ११ क्यारिबियन राष्ट्र र सेन्ट्रल अमेरिकालाई सहुलियत मूल्यमा तेल उपलब्ध गराउने गरेको छ । इक्वेडरका राष्ट्रप्रमुख राफेल कोरीले यी सब कुराप्रति संकेत गर्दै भने पनि, ‘हामी परिवर्तनको युगमा बाँचिरहेका छौँ ।’

चाभेजले अघि सारेको बोलिभारियन क्रान्तिको अवधारणाले सिङ्गो ल्याटिन अमेरिकालाई एकीकृत गर्न र समाजवादी प्रभाव विस्तारमा सघाउ पुर्याएको छ । । चाभेजको निधनपछि ल्याटिन अमेरिकाका वामपन्थी नेताहरूले ‘बोलिभारियन क्रान्ति’ को अपरिहार्यता र त्यसको पक्षमा दृढ़तापूर्वक लाग्ने प्रतिबद्धता जनाउनुले पनि यही कुरा बताउँछ । क्यास्ट्रोले मन्थ्ली रिभ्युको इन्टरनेट संस्करणको नियमित स्तम्भ ‘रिफ्लेक्सन्स अफ क्यास्ट्रो’ मा लेखे – ‘ल्याटिन अमेरिकाका महान् व्यक्ति’ को निधन भएको छ । पछिल्लो समयमा अमेरिकाको आँखी इरानको पक्षमा दृढ पक्षधरता, सिरियामा भइरहेको अमेरिकी हस्तक्षेपविरूद्ध आवाज आदिले चाभेज ल्याटिन अमेरिकाभन्दा बाहिर पनि भूमिकासहित देखापरिरहेका देखिन्थे । इरानका (तत्कालीन) राष्ट्रपति मोहम्मद अहमदिनेजाद चाभेजलाई श्रद्धाञ्जली दिन भेनेजुयला पुग्नुको तात्पर्य यही हो ।’

चाभेज नयाँ समाजवादी अन्तर्राष्ट्रिय गठन गर्ने पक्षमा थिए । जुन २०१० मा भएको भेनेजुयला युनाइटेड सोसलिस्ट पार्टी (PSUV) को सम्मेलनमा उनले पाँचौं अन्तर्राष्ट्रियको आवश्यकता औँल्याएका थिए । पहिलो अन्तर्राष्ट्रियको गठन मार्क्स-एंगेल्सले नै गरेका थिए । दोस्रो अन्तर्राष्ट्रिय १४ जुलाइ १९८९ मा पेरिसमा गठन भएको थियो । तेस्रो (कम्युनिस्ट) अन्तर्राष्ट्रिय मस्को, सोभियत संघमा मार्च १९१९ मा गठन भएको थियो । चौँथो अन्तर्राष्ट्रिय भने स्टालिनसँग भिड्नका लागि ट्रट्स्कीले सन् १९३८ मा फ्रान्समा गठन गरेका थिए । ह्युगो चाभेज भने ट्रट्स्कीले गठन गरेको कम्युनिस्ट अन्तर्राष्ट्रियलाई पनि मान्यता दिएर पाँचौं अन्तर्राष्ट्रिय गठन गर्न चाहन्थे । तर, चौँथो अन्तर्राष्ट्रिय कम्युनिस्टहरूका बीचमा विवादित भएका कारण ‘एक्काइसौं शताब्दीको पहिलो समाजवादी अन्तर्राष्ट्रिय गठन गरौँ भन्ने उनको वैकल्पिक प्रस्ताव पनि थियो । तर यसलाई उनले धेरै अघि बढाउन पाएनन् ।

चाभेज ल्याटिन अमेरिकी समाजवादी क्रान्तिका ‘सिम्बोल’ हुन् । -इमुल्यांकनबाट

Comments

comments