‘५ वर्ष भित्र बाह्रै महिना चल्ने मोटरबाटो, आधारभूत खानेपानी, गुणस्तरीय शिक्षा र कृषिमा व्यवसायीकरण र रोजगारको सिर्जना’

(नमोबुद्ध नगरपालिका वडा नं.२ (पात्लेगाउँ)मा जन्मिएका सञ्जीव ढकाल २ नं. वडाको वडाध्यक्ष हुन् । पिता गजाधर ढकाल र माता महाँमाया ढकालको कोषबाट २०३४ साल फागुन ३ गते पात्लेगाउँमा जन्मेका उनी उर्जाशील र नमोबुद्ध नगरपालिकाको विकास र समृद्धिको एक शसक्त योजनाकार पनि हुन् ।

श्रीमती, २ छोरी र १ छोरा गरी जम्मा ५ जनाको सुखी परिवार रहेका ढकालकी श्रीमती गृहिणीको रुपमा घर खेती हेर्छिन भने एक छोरी माध्यमिक तहमा र एक छोरा र एक छोरी आधारभूत तहमा अध्यनरत छन् ।

मध्यम वर्गीय किसान परिवारमा हुर्किएको व्ढकाल मण्डन देउपुर नगरपालिकाको गैरिबिसौना दामपोखरीबाट २०१२।१३ साल तिर बुवा बसाईं सर्दै यहाँ आएका ढकालको बुवा सानै हुँदा हजुरबुवाको स्वर्गारोहण भएपछि पारिवारिक रुपमा लागेको रिन तिर्न नसक्दा त्यहाँको सम्पूर्ण जायजेथा छोडेर उनको बुवाले एउटा खुर्पा लिएर यहाँ आएका थिए ।

आर्थिक र राजनीतिक हिसाबले पारिवारिक पृष्ठभूमि कमजोर भए पनि इमान, मिहेनत र परिश्रमले यहाँका आम जनसमुदायहरुको मन जित्न सफल भएको ढकालको दावी छ । ढकाल भन्छन्, ‘गाउँले दाजुभाइ दिदीबहिनीहरुले माया र बिश्वास गर्नु भएको छ । जीवनको कमाई भनौं वा आर्जन यही नै अहिलेलाई मेरो सम्पत्ति भएको छ ।’

शिक्षक देखि राजनीतिज्ञसम्म ढकाल
बि.सं.२०५६ सालमा आई.ए. पास गरेपछि स्वअध्यन गर्दै भकुण्डेबेंशीको बुद्ध एकेडेमीमा ३ वर्ष मा.बि.मा गणित र सामाजिक शिक्षा अध्यापन गरेका ढकालले त्यस पछि गाउँमा नै स्नो भ्यु एकेडेमी नामको बोर्डिङ स्कुल सञ्चालन गरी पाँच वर्षसम्म फाउण्डर प्रिन्सिपलको रुपमा काम गरेका छन्ं ।

२०६१ सालमा स्नातक गरे पछि २०६३ सालबाट २०७० सालको संबिधान सभाको निर्वाचन पुर्वसम्म जनकल्याण मा.वि.बुचाकोटमा पहिला निजी श्रोत र पछि एकाउण्टेनको दरबन्दीमा रही नि.मा.बि. तहलाई अंग्रेजी र मा.बि. तहलाई सामाजिक र अर्थशात्र विषय अध्यापन गरेका उनले १५ वर्ष शिक्षण पेशामा बिताए ।

ढकालको राजनीतिक यात्रा २०४८ साल देखि २०५० सालसम्म अनेरास्वबियु मथुरापाटी मा.वि.प्रा.क.को सचिव, २०५० साल देखि २०५२ सालसम्म अध्यक्ष २०५३ साल देखि २०५५ फागुनसम्म रत्नराज्य लक्ष्मी क्याम्पस नाइट सिफ्ट प्रा.क.को सदस्य र सह सचिव ।

२०५६ साल देखि एकिकरण पुर्वसम्म माले सम्बद्ध अखिलको जि.क. सदस्य । माले एमाले पार्टी एकिकरण पछि नेकपा एमाले फुलवारी गाउँ कमिटीको सदस्य, सह–सचिव हुँदै २०६४ साल देखि पार्टी अध्यक्षको भुमिकामा काम गर्दै २०७१ सालदेखि नगर कमिटीको महत्वपूर्ण जिम्मेवारी र निर्वाचन क्षेत्रीय कमिटीमा रहेर कामकाज गर्दै आइरहेका छन् । स्थानीय तहको निर्वाचनमा अध्याधिम बहुमतले निर्वाचित भएका वडाध्यक्ष ढकालसँग तेमाल अनलाईनले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।)

० निर्वाचनमा जनतासँग केके प्रतिबद्धता जाहेर गर्नु भएको थियो ?
–निर्वाचनमा जनताहरुलाई एउटा वडा अध्यक्षको हैसियतले गर्न सक्ने वडाको भौतिक पूर्वाधार विकास, सामाजिक सचेतना अभिबृद्धि, सीप विकास तथा रोजगारीलाई टेवा पुग्ने खालका तालिम, पुन निर्माणमा सहजिकरण, सुशासन र पारदर्शिताको कुराहरु नै मुख्य रुपमा उठाइएको थियो ।

० पूरा भयो त त्यो बाचा ?
–ती मध्ये केही पूरा भए । केही पूरा हुने चरणमा छन् ।

० कहिले पूरा हुन्छ त ?
–ती सबै प्रतिबद्धताहरु पाँच वर्षका लागि थिए । बाँकी साढे तीन वर्षमा सबै योजना पूरा गर्न रणनीतिक कार्ययोजना निर्माण गरी अगाडि बढी रहेका छौं ।

० वडाध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
– जनताको विकास प्रतिको अभिलाषा तिब्र छ । हामी ती अभिलाषालाई सम्मान गर्दै क्रमश पूरा गर्न लागि रहेका छौं । हाम्रा सामु चुनौतीहरु प्नि प्रशस्त छन् । हामी त्यस्ता जनप्रतिनिधिहरु थियौं जो निर्वाचित भएर पस्ने वडा कार्यालय त परै जाओस एउटा कोठा पनि थिएन । आफूले बस्ने कुर्सी मात्र होइन एउटा फाईल र फाईल राख्ने दराज मात्र होइन एउटा कलम पनि आफैले किन्नु पर्ने अबस्था थियो ।

कार्यालय व्यबस्थापन गर्दै आफ्ना योजनाहरु अगाडि बढीरहेका छौं । वडा स्तरीय एकिकृत खानेपानी योजना अगाडि बढेको छ । यसका लागि ३ ओटा डिप बोरिङ गरी ३ ओटा रिजर्भेशन ट्याङ्की सम्पन्न भएको छ । यो योजना आगामी डेढ वर्षमा पूरा गर्ने कार्यक्रम रहेको छ । दुईओटा बस्तीका ६० घर धुरीलाई ट्याङ्की सहित खानेपानीको योजना सम्पन्न गरिएको छ । विभिन्न विद्यालयका ७ ओटा विद्यालय भवनको पच्चिस ओटा कोठाको नव निर्माण र चार ओटा भवनमा आठ ओटा कोठाको पुननिर्माण कार्य सम्पन्न भएको छ ।

ती विद्यालयहरुमा बिभिन्न स्रोतबाट ११ ओटा शिक्षक दरबन्दी थप गरिएको छ । २ ओटा विद्यालयमा बहुकक्षा बहुस्तर (MGML)र टकिङ टिचर बिधिबाट अध्यापन गराईने व्यबस्थाको सुरुवात गरिएको छ । २ ओटा विद्यालयमा निशुल्क इन्टरनेट जडान गरी शिक्षण बिधिलाई प्रभावकारी सञ्चालन गरिएको छ । ४ कोठे स्वास्थ्य चौकी भवनको निर्माण गरी Real Medicine Foundation भन्ने संस्थासँग ५।५ वर्षमा नविकरण गर्ने गरी १५ वर्षको लागि सम्झौता गरी प्रत्येक हप्ता १ जना एमबिबिएस डाक्टर सहित दैनिक ३ जना स्वास्थ्य कर्मीहरुले निशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यबस्था मिलाइएको छ । कृषि उपज संकलन तथा भण्डारण केन्द्र भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

बिभिन्न टोलमा ५ कि.मी.मोटर बाटोको ट्रयाक निर्माण र ८ कि.मी.बाटो नगर मापदण्ड अनुसार कटिङ गरी पुन निर्माणको सामाग्री ढुवानीलाई सहज बनाईएको छ । एउटा मन्दिर निर्माण कार्य सम्पन्न र एउटा निर्माणाधिन अबस्थामा रहेको छ । जोखिम बस्ती पैह«ो नियन्त्रण कार्य सम्पन्न भएको छ । मोटरबाटो स्तरीकरण र मर्मत, विद्युत पोल स्तरीकरण, नयाँ ट्रान्सफर्मर जडान लगाएतका काम तिब्र रुपले सम्पन्न हुँदै अघि बढी रहेको छ । ५० जना महिलालाई सिलाइ कटाई र मुडा बनाउने तालिम, ५० जनालाई उद्यमशिलता विकास सम्बन्धी तालिम, १५० जना कृषकहरुलाई अर्गानिक तरकारी उत्पादन झोलमल र घरेलु विषादि निर्माण तालिम सम्पन्न भएको छ । गोठ सुधार कार्यक्रम र प्लाष्टिक पोखरी निर्माण, गड्यौला पालन तथा मल उत्पादन जस्ता कार्यक्रमहरु अगाडि बढी रहेका छन् । खुल्ला दिसामुक्त वडा घोषणाको तयारी चरणमा छौं । वातावरण संरक्षणको काम पनि सँगसँगै लगिरहेका छौं ।

० जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
-निश्चित रुपमा सनातन र पेशागत काम भन्दा सामाजिक काम गर्न केही खालका जटिलता त देखिन्छ नै । यसमा सामाजिक चेतना र राजनीतिक पृष्ठभूमिले पनि प्रभाव पार्छ । कहिले काहिँ राजनीतिक प्रतिसोध र लाभहानीले पनि यस्ता काममा जटिलता पैदा गर्छ । समग्रमा कुशलता पूर्वक कामहरुको व्यबस्थापन गरियो भने जनप्रतिनिधि भएर काम गर्न असहज छैन । राजनीतिक र पेशागत जिम्मेवारीको हिसावले भन्दा जनप्रतिनिधिको रुपमा काम गर्दा सामाजिक उत्तरदायित्वको हिसावले बढी बोझको अनुभूत भइराखेको छ ।

राजनीतिक र पेशागत जिम्मेवारी निश्चित र अलि साँघुरै हुन्छ भने जनप्रतिनिधिको भुमिका फराकिलो र व्यापक छ । राजनीतिक र साँगठनिक जीवनमा असफल हुँदा संगठनमा मात्र असफल हुने हो । पेशागत हिसावमा पनि त्यही हो । तर अहिले जुन भुमिकामा छौं त्यसमा असफल हँुदा आफू मात्र असफल हुने होइन समाजका हरेक इलिमेण्टहरु प्रभावित हुन्छन ।

सामाजिक विकासको गतिमा अबरोध सिर्जना हुन्छ । व्यक्तिको राजनीतिक जीवनमा ब्रेक लाग्छ, उसको कार्यशैली र कार्य क्षमतामा प्रश्न चिन्ह खडा हुन्छ । कतै जिम्मेबारीमा चुकिने पो हो कि भनेर कताकता डर र चिन्ता पनि लागिरहन्छ । फेरी, हामी जुन ऐतिहासिक जिम्मेवारी छौं, त्यो जिम्मेवारीको गरिमाले फेरी सुखानुभूतको महसुश पनि गराएको छ

० विकास निर्माणमा जनताको सहभागिता कस्तो छ ?
–विकास निर्माणमा जनसहभागितालाई वर्गले पनि प्रभाव पार्दो रहेछ । मेरो वडामा उच्च र सीमान्तकृत जनसमुदायको तुलनामा मध्यम वर्गको जनसहभागिता बढी रहेको छ । धनी वर्गहरुको गाउँ र शहर दुबै तिर बसाई रहँदा गाउँको विकासमा जनसहभागिता मात्र होइन चासो पनि कम हँुदो रहेछ । निम्न तथा सिमान्तकृत वर्गहरुको आफ्नै रोजी रोटीको समस्याले विकास निर्माणमा चाहेर पनि सहभागी हुन सकिरहेका हुँदैनन् । यिनै अन्तर विरोधले विकास निर्माणमा गत्यारोध पैदा गर्दो रहेछ ।

० यहाँको वडामा मुख्य समस्या के रहेको छ ?
–यस वडाको मुख्य समस्या भनेको खानेपानी, मोटरबाटो र अव्यबस्थित रुपमा मापदण्ड बिपरित सञ्चालित ईंटा उद्योगहरुबाट सिर्जित धुवा तथा धुलो प्रदुषण रहेको छ ।

० तपाईंको वडामा २०७२ सालको भुकम्पबाट पिडित भएकाहरुको अबस्था कस्तो रहेको छ ?
–भुकम्प पिडित जनताको आबास पुननिर्माणमा समस्या देखिएको छ । तेस्रो किस्ता लिने लाभग्राही २९ प्रतिशत र तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ४७ प्रतिशत मात्र छ । घरहरु ढिलासुस्तीले निर्माण भइरहेका छन । जनताहरुले बिछट्टै दुख पाएका छन । प्राधिकरणले किस्ता वितरणमा ढिलासुस्ती गर्दा आबास निर्माणमा पनि ढिलासुस्ती हुन पुगेको छ । निर्माण सामाग्रीको भाउ आकाशीयको छ । जनताको घर चाहिँ बन्ने तर जग्गा जमिन हिड्ने खतरा छ ।

० वडामा गरिब, बेरोजगार र सीमान्तकृत वर्ग पनि छन, उनीहरुको जीवनस्तरमा कसरी सुधार ल्याउनु हुन्छ ?
–गरिब, बेरोजगार र सीमान्तकृत जनताको जीवनस्तर उकास्नको लागि हामीले बिभिन्न सीपमुलक तालिम तथा Small Grand अनुदानको व्यबस्था गरेका छौं । तालिम पश्चात उद्यम गर्न चाहाने युवा महिला तथा अपाङ्गहरुलाई उनीहरुको योजनाको आधारमा यस्तो Grand उपलब्ध गराउने कार्यक्रम राखेका छौं । लायन्स क्लब अफ काठमाण्डौसँग हामीले यस्ता Grandहरुका लागि सम्झौता समेत गरिसकेका छौं ।

० तपाईंको कार्यकाल भित्रमा वडालाई कस्तो वडा बनाउने सपना देख्नु भएको छ ?
–समयको थ्रेसहोल्डले गर्दा धेरै सपना पूरा गर्न नसके पनि मेरो कार्यकालमा वडा भित्रका बासिन्दाहरुलाई आधारभूत खानेपानीको व्यबस्था गर्न सकिएको होस् । वडा भित्रका मुख्य मुख्य टोल तथा बस्तीमा बाह«ै महिना एम्बुलेन्स चल्न सक्ने स्तरको बाटो निर्माण भएको होस् । सरकारी विद्यालयहरुको पठनपाठन र भौतिक तथा प्रबिधियुक्त बनाई गुणस्तर अभिबृद्धि गर्दै अभिभावकहरुको विश्वस्नियता पुनजागृत गराई खचाखच विद्यार्थी भरिएको होस् ।

किसानहरुको पशुधन सुरक्षण गर्दै उनीहरुका कृषि उपजहरुको विचौलिया बिहिन बजारिकरण गर्न सकियोस । रोजगारको लागि युवाहरु बाहिर भौंतारिन नपरोस । पुन निर्माणले गति लिंदैं आबास निर्माणमा सतप्रतिशत प्रगति हाँसिल गर्न सकियोस । वातावरण मैत्री र पूर्ण साक्षर वडा घोषणा गर्न पाइयोस । सहज र वैचारिक हिसावले वडाको नेतृत्व भावी पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् । एउटा सफल नेतृत्वले यिनै सपना देख्नु पर्छ भन्ने लाग्छ ।

० अन्त्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
–अन्त्यमा तपाईंको यो लोकप्रिय अनलाईन संचार मार्फत आम वडाबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई के भन्न चाहान्छौं भने हामीले हाम्रो वडामा समृद्धिको जग हाल्दै छौं । तपाईंहरुको धुरी खोज्ने अभिलाषालाई हामी सम्मान गर्न चाहान्छौं । पूरा गर्न चाहान्छौं तपाईंहरुको सपनालाई । केबल चाहिएको छ साथ तपाईं सम्पूर्णको भन्दै, आफ्नो लोकप्रिय अनलाईन पत्रिका मार्फत जनतामा हाम्रो कुरा राख्ने सुनौलो मौका दिनु भो यसका लागि हार्दिक आभार प्रकट गर्दै धेरै–धरै धन्यबाद व्यक्त गर्दछु ।

Comments

comments