ह्याङ्लेश्याे ढाफुग (गुफा)

पासाङ दाेर्जे लामा (शुक्रवज्र), पल्युल गुम्बा फर्पिङ
यो पवित्र गुफा काठमाण्डौं बाट ३५ कि.मि.दक्षिण–पश्चिम शेषनारायण फर्पिङमा पर्दछ । गुरु पद्मसंभव मारतिका हलेसी पश्चात दोस्रो पटक ८ अाैं शताब्दिमा लगभग सन् ७७७ तिर नेपालमा आउनु भई सम्यक सिद्धि (ह्याङधाक ढुपा) तान्त्रिक साधनाको अभ्यास गर्ने विचार गर्नुभए अनुसार सो सिद्धि प्राप्त गर्न नेपाल आउनु भएर विशेष स्थानको छनौट गर्ने सिलसिलामा सबैभन्दा वाञ्छित स्थान फर्पिङको शेषनारायण गुरु गुफा भएका हुनाले यही गुफा छनौट गर्नुभयो ।
जुन कुरा गुरु पद्मसंभवको जीवन इतिहास पेमा–काथाङ्ग ग्रन्थमा उल्लेख भए अनुसार यो फर्पिङ क्षेत्र मङ्गल सिद्धि र स्वस्तिक सूचक भएको, सिंहको ढाड जस्तो भएको भिर, शिशिर ऋतुमा पनि फूलहरु नओईल्याउने र नर्मुझाउने,यहाँको आकाश अष्टचक्र, भूमि अष्ट पद्म र चारै दिशातर्फ अष्ट मण्डल अंकित भएको, गुफा पछाडिको चट्टानमा गुरु सिंहासनमा छर्ने जडीबुटीहरुको भण्डार रहेको र पवित्र आर्यभूमि भएको बताईन्छ (आर्य भन्नाले दर्शनमार्ग (शुन्यता बोध) वा बोधिसत्वकाेेे १० भुमि मध्ये प्रथम भुमि प्राप्त गरेकोलाई बुझिन्छ)।
यस किसिमको सिद्धि मण्डल गुफामा गुरु रिन्पोछेले साँखुको राजा पूण्यधरको छोरी शाक्यदेवी (शाक्यदेमा पनि भनिन्छ )को साथमा तान्त्रिक सम्यक साधना गर्नुभयो । त्यस साधना गरिरहेको गुरु रिन्पोछे र उहाँको सहचरी शाक्यदेवी जसलाई नेपाल र भोटका दुष्टाचारी सुर असुरहरु र विशेष त्यस क्षेत्रका तीन प्रकारका अरिष्टहरु नाग ग्योङपो, यक्ष गोमाखा र आकाशका लोग्माडिनले देखि सहन नसकी ईष्र्या गरी बाधा व्यवधानहरु खडा गरे ।

तीन वर्षसम्म आकाशबाट पानी एक थोपा पनि झरेन, बोटबिरुवाहरु सुकेर उजाड भयो, अनिकाल, हाहाकार र महामारी फैलियो । यस किसिमको आतङ्कलाई शान्त पार्न गुरु पद्मसंभवले आफ्ना दुईजना शिष्यहरु जिलाजिसा र कुन्लाकुन्सालाई गुरुदक्षिणा असर्फीका साथ भारतको बुद्धगयामा रहनुभएका महापण्डित प्रभाहस्तीको दर्शनार्थ पठाउनु भयो । यी दुई शिष्यहरुले गुरुको आज्ञानुसार सुनको असर्फीको भेटी चढाई सो महापण्डितको दर्शन गरे र महापण्डितद्वारा बाधा अड्चन हटाउनका लागि गुरु पद्मसंभवलाई दिन भनी महातन्त्र वज्रकिलाको ग्रन्थ हातमा पठाई दिनुभयो ।
दुई नेपाली शिष्यहरुले ग्रन्थ लिई ह्याङलेश्यो फर्पिङ आइपुग्नासाथ वज्रकिलायको मण्डल स्थापना गरेर पुजा गरी देवासुर, यक्ष र नाग, अरिष्ट ईत्यादि सबैलाई ईष्टदेव वज्रकिलाको शक्ति उठाई दमनगरी बाचा बन्धनमा लिएर बुद्ध धर्म (शासन) संरक्षण गर्ने कार्यमा नियुक्त गरे । उत्पन्न महामारी शान्त भई फेरी वर्षा भयो, चारैतिर हरियाली छायो, फूलहरु फूल्नथाले, पशुपन्क्षी चराचुरुङगी रम्न थाले र मंगलमय वातावरण हुन पुग्यो ।
त्यसपश्चात यस गुफामा गुरु पद्मसंभवले डाकिनी शाक्यदेवीको साथमा महामुद्राकाे साधना गर्नु भई देह ईन्द्रेणीसरी तुल्याउनु भई दाहिने भुजाले त्रिपिटकग्रन्थ र देब्रे भुजाले किलायको ग्रन्थ धारण गर्नुभई ती गम्भीर धर्महरु भावनागरी विद्याधर महामुद्रा (क्ष्याग्या छेन्पो) सिद्धि तथा कर्ममुद्राको परमसिद्धि प्राप्त गरी दोर्जे थोड्ठेङ चाल अर्थात गुरु बज्रमुण्ड धारीको नामले प्रख्यात हुनुभयो जुन कुरा मार्गबाधा निवारणी (बर्छेद् लामसेल)मा उल्लेख भएकाे छ । बज्रयान परम्परा अनुसार यस ह्याङलेश्याेमा अमर पद अर्थात बुद्धत्व प्राप्ति गर्नुभएको प्रमुख पर्वोउत्सव भोट मञ्जुश्रि ज्योतिष अनुसार बँदेल वर्ष, आठौँ महिनाको उत्तरायण शुक्ल पक्षीय दशमी तिथि (असाेज महिना) पर्दछ ।
त्यस स्थानमा नागले गुरु रिन्पोछेमाथि आक्रमण गर्न खोज्दा नागलाई सिधै शिलाको रुपमा परिणत गरी शमन गर्नुभएको नागशिला अझै पनि पहरामा झुन्डिरहेको प्रत्यक्ष देख्नसक्नुहुनेछ र गुफा भित्र उर्गेनपेश्यू अर्थात् महागुरुको मुकुटको छाप पनि प्रत्यक्ष दर्शनिय रहेको छ । यस सिद्धि गुफाको बाँयातर्फ महायोगी ज्याडाल रिन्पोक्षेको एक भव्य गोन्पा रहेको छ । यस महायोगीका अनुसार त्यहाँ उत्पन्न भएको पोखरीको पानी गुरु पद्मसंभवले निकाल्नु भएको पवित्र अमृतमय बोधिजल भएको मानिन्छ ।
त्यसैगरी फर्पिङमा गुरू रिन्पाेक्षेले ध्यान गर्नुभएकाे अर्काे चर्चित असुर गुफा फर्पिङको डाँडामा अवस्थित याे असुर गुफा

(असुर डाफुक्)मा तिलस्मी गुरू पद्मसंभवले ३ वर्ष वज्रकिलायकाे साधना गर्नुभएकाे थियाे । असुरको अर्थ राक्षस हो । गुरु पद्मसंभव यहाँ राज गर्नु अघि यस गुफामा राक्षसहरु बस्ने गरेकोले यसलाई असुर गुफा भनेको हो । तत्कालीन समयमा यसक्षेत्रमा दिनानुदिन २, ४ जना मानिसहरु बेपत्ता हुने गर्दथे । एकदिन गुरु पद्मसंभव साधना गरिरहनु भएको बेला प्राणीमांश खाने ५ नरभक्षी राक्षसनी बहिनीहरुले गुरु रिन्पोक्षेलाई खान भनी आएको र महातान्त्रिक वज्रकिलाको ऋद्धिशक्तिद्वारा यी पाँच राक्षसनीहरुलाई वशमा पार्नु भयो र त्यी राक्षसनीहरुले प्राणी हिंसा संस्कार परित्याग गरी गुरु पद्मसंभवको शिष्य बन्ने कबुल गरी वज्रकिलाय तन्त्रकाे संरक्षक धर्मपालको रुपमा मनोनित भएकाे थियाे ।
यस असुर गुफाको ढोकाको दाँया पट्टिको भीरमा महागुरू पद्मसंभवको हस्त छाप र गुफाभित्र स्वउत्पन्न (अा) अक्षर दर्शनिय रहेको छ । हाल यस गुफासँगै उर्गेन टुल्क रिन्पोक्षेको एक ध्यान तपस्या गर्ने गुम्बा निर्माण भएको छ । यस पवित्र गुफाको संरक्षण र सञ्चालन सम्बन्धी कार्य यसै गुम्बाले गर्दै आएको छ । यस गुफाको केही तल एउटा सानो खाेंच छ जसमा माथितिर चट्टानकाे खुल्ला भाग रहेको जुन ठाउँबाट गुरुरिन्पोक्षे ध्यानबाटै उडेर भोटमा जानुभएको भन्ने विश्वास गरिन्छ । त्यसको तल्लाे पट्टि चट्टानमा स्वउत्पन्न आर्यतारा (डोल्मा राङ्ज्युङ)को गोन्पा र त्यस्काे दाँया तिर केही पर पुरानो वज्रयोगीनी (दोर्जे नाल्ज्योरमा)को मन्दिर रहेको छ । सम्पुर्ण बुद्ध धर्मावलम्बीहरु र विशेष ञिङमापा सम्प्रदायले फर्पिङका गुफा क्षेत्रहरूलाई अत्यन्तै पावन र मङ्गल सिद्धिभूमिको रुपमा मान्दछन् ।
