-बुद्ध योञ्जन तामाङ
काठमाडौ । तामाङ भाषा र साहित्यमा क्रियाशील संस्था तामाङ डाजाङको तामाङ साहित्यिक गोष्ठी तथा १७६ औं ग्योइकाइ गेताङ सम्पन्न भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं.–१ स्थित जय भद्रकाली आधारभूत विद्यालयमा आज (शनिवार) सम्पन्न भएको हो ।

विशेष अतिथि भाषाविद् अमृत योन्जन तामाङले छ्योइमे (दिप) प्रज्ज्वलन गरेर उद्घाटन भएको कार्यक्रममा तामाङ भाषामा कविता, गजल, विभिन्न गीत, मौलिक फापारे गीतसंगै टुङना, डम्फु र बाँसुरीको धुन र तामाङ सेलो नृत्य समेत स्थानीय कलाकारहरुले प्रस्तुत् गर्नु भएको थियो ।

अर्जुन ग्लान, फुलकुमार बम्जन, सजना गोले, मिथिला स्याङतान, ढकबहादुर घिसिङ, इश्वर थोकर, ङेमा गोले, कबिराज काल्तान, सपना तामाङ, राजु मोक्तान, हेम तामाङ, प्रेमलाल दोङ, मिलन ब्लोन लगायतले कविता र गजल प्रस्तत् गर्नु भएको थियो भने तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, सत्तलसिं योन्जन, च्याङबा योन्जन, संगिता थिङ, कृतधावा घिसिङ लगायत ७८ वर्षिय कान्छी तामाङले मौलिक फापारे र ताम्बा गीत प्रस्तुत् गर्नु भएको थियो ।

त्यसैगरी आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका मेयर उत्तम खरेलले हामी अहिले छोराछोरीहरुलाई आफ्नो भाषालाई भन्दा पनि अंग्रेजी भाषा सिकाउन प्रेरित गर्छौ तर त्यो गलत हो । किनकि नेपालमा रहेको आदिवासी जनजातिहरुको पहिचान भनेको भाषा हो त्यसलाई आ–आफ्नो क्षेत्रबाट संरक्षण हुन जरुरी छ । म आफ्नो नगरपालिकाबाट त्यसको संवद्र्धन तथा प्रवद्र्धनका लागि जति सक्दो प्रयास गरिने बताउनु भयो । विशेष

अतिथि भाषाविद् अमृत योन्जन तामाङले भने स्थानीय स्रष्टाहरुबाट नयाँ कविता र गीतहरु प्रस्तुत् हुनु नै कार्यक्रमको सबै भन्दा ठुलो महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा कलाकार दोर्जे तामाङ, समाजसेवी लालबहादुर तामाङ लगायतले डाजाङको यस किसिमको कार्यक्रम प्रति शुभकामना दिनु हुँदै निरन्र्तताको समेत कामना गर्नुभयो ।

त्यसैगरी वीर अस्पतालमा नर्सिङ अध्ययनरत सिन्धुलीका निश्चिता तामाङलाई अमेरिकामा रहनु हुने दिलीप योन्जनबाट प्राप्त ६५ हजार रुपिया विशेष अतिथि अमृत योन्जनबाट हस्तन्तरण गरिएको थियो ।

कार्यक्रमको औचित्य सहित प्रष्ट पार्दै तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोन तामाङले विगतमा विभिन्न गाउँ र जिल्लाहरुमा गरेको साहित्य यात्राको निरन्र्तता स्वरुप आजको कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रम डाजाङकै कोषाध्यक्ष बिना थिङको अध्क्षतामा सम्पन्न भएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला