‘कार्यालय आउँदा सार्वजनिक गाडी चढ्छु तर जनताको लागि एम्बुलेन्स’ –रोशी गापा उपाध्यक्ष बर्तौंला

(यतिखेर रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला चर्चामा रहेकी छिन् । उनले गाउँपालिकाले दिएको सबै सुविधा गाउँपालिका भित्रका अपंगता र टुहुरा बालबालिकाहरुलाई छात्रबृत्ति दिने तथा आफ्ना लागि गाडी किन्नको लागि विनियोजन गरिएको रकमले रोशी गाउँपालिकाको लागि २ वटा एम्बुलेन्स समेत खरिद गर्ने भएपछि चर्चाको शिखरमा पुगेकी छिन् ।

रोशी गाउँपालिकाको चौथो अधिवेशनमा उपाध्यक्ष बर्तौलालले उक्त प्रस्ताब पेश गरेपछि अनुमोदन समेत भएको छ । आफ्नो व्यक्तिगत सुविधा भन्दा पनि जनताको लागि सुविधा दिने हेतुले उनले यसो गरिएको बताएकी छिन् । यस विषयमा तेमाल अनलाईनका रोशी सम्वाददाता अशोक बुद्ध लामाले उपाध्यक्ष बर्तौलासँग लिएको संक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक)

० तपाईंले गाउँपालिकाले दिएको सुख सुविधा उपभोग नगरेर एम्बुलेन्स खरिदमा किन पैसा खर्चिनुभयो?

–राज्यले दिएको सुविधा मैले उपभोग गर्नुभन्दा मलाई लाग्यो कि गाडी चढ्दा प्राय जसो म एक्ले हिड्ने हो गाडीमा । मैले सुविधा लिनु अघि जनताको लागि मैले सोच्न आवस्यक छ । जनताको अमुल्य मत लिएर आएको जनप्रतिनिधि हुँ । जनता बिरामी परेको अवस्थामा एम्बुलेन्स भएपछि समयमै अस्पतालमा पु¥याइ उपचार सेवा पाउन सक्छ । अकालमै मृत्यु हुनबाट बाँच्न सकिन्छ भन्ने मलाई लागेपछि रोशी गाउँपालिकाको गाउँसभामा मैले प्रस्ताव राखें । गाउँसभाले अनुमोदन गरिएको छ ।

जुन रोशी गाउँपालिकाले सुत्केरी आमा पोसिलो खाना भनी आर्थिक बर्ष २०७४।०७५ मा शुरुमा ५ हजार सुत्केरी भत्ता दिने तर अस्पतालमै सुत्केरी हुनुपर्ने निर्णय भयो । ताकी आमा बच्चा जोखिमबाट बाँचुन भनेर तर उहाँहरुलाई अस्पतालमा आउन साह्रै कठिनाई भएको उवस्थामा यस एम्बुलेन्सले उहाँहरु कठिनाइ भएको अवस्थामा यस एम्बुलेन्सले उहाँहरुलाई पनि सुविधा पुग्ने र सहज बन्ने विश्वास राखेको छु ।

० तपाई गाउँपालिका सम्म के मा कसरी आउनुहुन्छ?

–म गाउँपालिका आउँदा जाँदा सार्वजनिक गाडी चढेर आउने गर्छु र गरिरहेको छु । सार्वजनिक गाडीमा जनतासँग हिड्न पाउँदा खुसी छु र जनता पनि खुसी हुनुहुन्छ ।

० एम्बुलेन्स व्यवस्थापन कसरी हुन्छ?

–एम्बुलेन्स वडामा रहेको स्वास्थ्य चौकीको रोहवरमा राखेर सञ्चालन गरिनेछ । त्यस वडाका वडाअध्यक्ष र त्यस स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष राखेर सञ्चालन हुनेछ ।

० शुल्क निर्धारण कसरी हुन्छ?

–स्वस्थ चौकीको व्यवस्थापन समितिले शुल्क निर्धारण गर्दछ र समन्वय गाउँपालिकाको रहनेछ ।

० चालकलाई कसरी नियुक्ति गरिन्छ?

–नियुक्ति चाहिँ कायविधि बनाईन्छ । त्यसपछि नियुक्ति गरिन्छ ।

० अन्यमा तपाईंको केही भन्नू छ कि?

–मलाई जनताले सेवा गर्न पठाएको हो । म जनताको सेवाको लागि हरदम तयार र तत्पर रहनेछु । धन्यवाद ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।