समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म
लेखक

-मोहन गोले तामाङ

यसबर्षको सोनाम ल्होछार–२८५४ पनि बिगत बर्षमा झैँ नाचगान, साँस्कृतिक उत्सव, महोत्सवको आयोजना गरेर नै मनायौ । यसक्रममा म आधा दर्जन बढी स्थानमा ल्होछार समारोहलाई सम्बोधन गर्न पुगे । जब उद्घोषकले स्टेजमा गीत, नृत्यको लागि कलाकार बोलाउँथ्यो, दर्शकको ठेलमठेल र हुटिङ बेजोडको हुन्थ्यो तर जब म स्टेजमा माइक्रोफोन समात्न पुग्थे । हुटिङ र ताली त कम हुन्थ्यो नै, दर्शकको संख्या पनि क्रमशः घट्दै जान्थ्यो । म मात्र होइन, सबै नेता स्टेजमा पुग्नासाथ यस्तै क्रम दोहोरिएको दृष्य हामीले देख्दै आएका छौ। कार्यक्रम सञ्चालकले नेताको भाषण आउने बेलामा दर्शक भेला पार्न ठीक अगाडि नाम चलेको कलाकारलाई प्रस्तुतीको लागि स्टेजमा उभ्याउथ्यो तरपनि यो सुत्रले काम गर्दैनथ्यो । एकैछिन अघि देखिएको दर्शक नेता उभिनासाथ स्टेज नजिकबाट हराउँदै जान्थ्यो । तामाङको कार्यक्रममा देखिने यस्तो परिदृष्य यसबर्षको मात्रै होइन, बर्षौदेखि हामी यस्तै देखिरहेका छौ ।

तामाङ दर्शक मात्रै होइन, घेदुङमा लागेर बर्षौ बिताएको अग्रजहरु पनि यही सोच, चिन्तनबाट प्रभावित छन् । अझै उनीहरु घेदुङले राजनीतिक कुरा गर्नु हुँदैन, साँस्कृतिक कुरा मात्रै गर्ने हो भन्छन् । अझै पुरानो चेतनाले घेदुङ जस्तो सामाजिक संस्थालाई बिकासे संस्थाको रुपमा दाँजेर हेर्दैछन् । उनीहरु यस्तो आदिवासी जनजाति संगठनलाई अन्तर्राष्ट्रिय मानवअधिकारको दस्तावेजले सामाजिक, साँस्कृतिक सवालमा मात्र होइन, राजनीतिक अधिकार, आत्मनिर्णयको अधिकार र पहिचानको सवालमा आवाज उठाउने अधिकार दिएको कुरा थाहा पाउदैनन् । नेपाल सरकारले आइएलओ १६९ अनुमोदन गरेको र आदिवासी अधिकार सम्बन्धि घोषणापत्रमा हस्ताक्षर गरेको कुरा भुल्छन् । वास्तवमा यसखालको थोत्रो कुरा पञ्चायतकालीन अभिब्यक्ति हो । जुनबेला तामाङ घेदुङ जस्तो सामाजिक संगठनलाई राजनीतिक कुरा गर्नु, आफ्नो अधिकारको कुरा उठाउनु कानुनी रुपमा बर्जित थियो । त्यसताका अग्रजहरु आफ्नो भाषा, धर्म, संस्कृति बचाउने भन्दै तामाङ एकताको कुरा गरेर हिड्नु बाध्य थिए । तर आज दोस्रो ऐतिहासिक जनआन्दोलन सम्पन्न हुँदै मुलुक संघीय लोकतन्त्रात्मक गणतान्त्रिक युगमा प्रवेश गरिसकेको अवस्थामा पनि पञ्चायती युगको भाषा बोलिरहनु भनेको तामाङलाई समयक्रम अनुसार बदल्न नसक्ने चिन्तन नै हो । म घेदुङको नेतृत्वमा आइसकेपछि मैले सबैभन्दा बढी जोड दिएको र तामाङको समस्याको रुपमा देखेको विषय भनेको तामाङले अब राजनीतिक क्रान्ति गर्नुपर्छ भन्ने हो । यसको लागि आठौ राष्ट्रिय महाधिवेशनबाट पारित चितवन घोषणापत्रको जगमा टेकेर हालसम्म सम्पन्न नेपाल तामाङ घेदुङको चारवटा ऐतिहासिक राकास बैठकले राजनीतिक रुपमा अघि बढ्नुपर्ने दस्तावेज पारित गरेको छ । यसरी प्रस्तुत हुने क्रममा मलाई राजनीतिक कुरा बढी गरेको आरोप पनि लाग्यो । तर मैले कुनै एउटा राजनीतिक पार्टीको कुरा गरेको छैन । समग्र तामाङ समुदायलाई सामाजिक क्रान्तिबाट राजनीतिक क्रान्तितर्फ अघि बढेर घेदुङको ६१ बर्षको लगानीबाट प्राप्त सामाजिक उपलब्धिलाई संस्थागत गर्ने भनेको हो । किनकि यो उपलब्धिको रक्षा राजनीतिबाट मात्रै सम्भव हुन्छ । कुनै एउटा संस्थाको ६१ बर्षको त्याग र लगानी भनेको सानो समय होइन । आजसम्म किन यो संस्थागत हुन सकेन त ? राजनीतिक संरक्षणको अभावमा यस्तो भइरहेको छ । त्यसैले आजको यो पंक्तिको शिर्षक नाच, भाषण, राजनीति र ताम्सालिङ राखिएको हो ।

तामाङ गीत, नाच संरक्षण गर्न र यसको निरन्तरताको लागि तामाङ समुदायले अबका दिनमा भाषण बुझ्नु जरुरी छ । जो तामाङहरु भाषण आएपछि भागिरहेका छन् र नाच भन्नासाथ झुम्मिरहेका छन् । हामीले आज नाच्न पाएको, गाउन पाएको नै भाषणले गर्दा हो । हाम्रा अग्रजहरुले खोज, अनुसन्धान गरी सोनाम ल्होछारको बारेमा राज्य र समुदायसँग भाषण नगरेको भए यो पर्व स्थापित हुने थिएन । त्यसैले भाषण र नाच बीच अन्योन्याश्रित सम्बन्ध छ । नाच भएन भने भाषण हुँदैन, त्यस्तै भाषण भएन भने नाचको मूल्य÷मान्यता स्थापित हुँदैन । नाच कला÷संस्कृति हो भने भाषण राजनीति हो । कला कलाकारमार्फत प्रष्फुटित हुन्छ भने राजनीति नेतामार्फत समुदायमा प्रवाह हुन्छ । डम्फुरे म्हेमेहरुबाट डम्फू बजाएर तामाङ कला÷संस्कृतिको निरन्तरता हुन्छ र दोस्रो पुस्तामा हस्तान्तरण सम्म हुनसक्छ तर दीर्घकालसम्म यसको संरक्षण हुन सक्दैन । बाजेले डम्पूm बजाएरै कला, संस्कृतिको संरक्षण हुने भए आज ल्होछारमा म जस्ता अभियन्ताहरुले घोक्रो सुकुञ्जेल भाषण गरिहिड्नु पर्दैनथ्यो । हिन्दूले घरघरमा दशैं मानेको जस्तै गरी तामाङले घरघरमा ल्होछार मानेको अवस्थादेखिने थियो होला । त्यसैले यसको संरक्षणको लागि राजनीति चाहिन्छ । राजनीति भनेको सत्ता हो । खसआर्य समुदायले २५० बर्षसम्म एकजाति, एकभाषी, एक धार्मिक र एक साँस्कृतिक राज्यसत्ता चलाएर आफ्नो साँस्कृतिक मूल्य÷मान्यतालाई स्थापित नगरेको भए हिन्दूको पर्व दशैं, तिहारको हालत हाम्रो सोनाम ल्होछार भन्दा पनि गए गुज्रेको अवस्थमा हुने थियो ।

त्यसकारण हामीले के बुझ्नुपर्छ भने सत्ताभन्दा बाहिर रहेको वस्तुहरु सबै असुरक्षित हुन्छन् । सत्ताबाहिर रहेको साँस्कृतिक विविधता घरबाहिर छरपस्ट फिजिएर रहेको मालसमान जस्तै हो । जुन कुनैपनि बेला चोरिने, हराउने, मासिने र भेटिएको पनि दुरुस्त रुपमा फेला नपर्ने हुन्छ । आज हाम्रो ल्होछार पर्वको बारेमा माघ ४ कि फागुन ४ भन्नेमा भ्रम फैलियो । केहीले बुझेर त केहीले नबुझेर यही बेलामा माछा मार्न सकिन्छ कि भनेर पानीलाई थप धमिलो पार्ने कोशिस गरे । न्वरानदेखिको बल लगाएर घेदुङको मूल्य÷मान्यता भत्काउने प्रयास गरियो । तर सम्भव भएन । यही मौकामा केही पत्रकार साथीहरुले हामी भित्रैको दुई भिन्न पात्रलाई उभ्याएर सामाजिक सञ्जालमा समाचार प्रकाशित गरे । अन्तर्वार्ता लिएर दुईजनाको लडाइँ भएको हेडलाईन बनाए । तर यो हामी बीचको लडाइँ न कहिल्यै थियो न पछिका दिनमा नै हुनेछ । यो त सत्ताको खेल हो, जुन हामी बुझ्दैनौ । सत्ताले आफ्नो फ्रेमभन्दा बाहिर रहेको उत्पीडित जनतालाई जुधाउनको लागि जहिलेपनि फुटाउ र शासन गर को फर्मुला प्रयोग गरिरहन्छ । यो फर्मुला निर्बाचनमा भोट हाल्ने बेला मात्रै होइन, हाम्रो जीवनको हरेक पक्षमा प्रयोग गर्छन् । जसलाई हामी देख्दैनौ किनकि यस्ता खलपात्र कानुनको पर्दाले छेकिएर सुरक्षित रहेको हुन्छ । कानुनको ठेलीमाथि उभिएको सत्तालाई प्रश्न गरिदैन । यस्तो अवस्थामा दृष्यमा जो पात्र उभिएको देखिन्छ उसैलाई प्रश्न तेस्र्याइन्छ । जसले समस्यालाई सल्टाउने भन्दा बल्झाउन सहयोग पुग्छ ।

हामीले के बुझ्नुपर्छ भने सत्ता सबैको हुँदैन । संसारकै सत्ताहरुबर्गीय हुन्छन् । त्यसमाथि नेपालको सत्ता जातीय पनि भयो । एउटा बर्ग, जातिको स्वार्थ पुरा गर्न उसले अर्को बर्ग र जातिहरुलाई कानुन र सेनाको बलबाट दमन गर्छ । बर्गीय सत्ताले आफ्नो सत्ता इतर संस्कृतिलाई आफ्नो दस्तावेजीकरणको माध्यमबाट कानुनी मान्यता दिलाउँछ । त्यो मान्यता बिगार्न खोज्नेलाईकानुनको डण्डा बर्षाएर दण्डित गर्छ । यो डण्डाबाट पुर्वका दुई किराती सन्तान रामलिहाङ र रिदामा साँस्कृतिक शहिद भएको इतिहास हामी सामु ताजै छ । धर्म निरपेक्ष मुलुकमा अहिले पनि गाई, गोरु काटेर खाएको आरोपमा तामाङहरु जेलमा सडिरहेका छन् । हिन्दू सत्ताले मान्छे मात्र होइन, जनावरसम्म राजनीति जोडेको हुन्छ । यस्तो कुरा हामी थाहा पाउदैनौ किनकि हाम्रो राजनीतिक आँखा छैन । द्वन्द्ववादी ढंगबाट कुनैपनि समस्याको हल खोज्ने भौतिकवादी दृष्टिकोण छैन । रंगरहोसमा भुल्लिन्छौ । लाईब्रेरीमा जादैनौ, लैबरीमा भुल्लिन्छौ । बैचारिक छलफलमा भाग लिदैनौ । यहीनेर ठूलो कमजोरी भइरहेको छ । यही लैबरीमा भुल्लिदा तामाङको सत्ता गुम्यो, सत्ता गुमेसँगै सबैकुरा गुमेको छ । लामो समय हराएर माटोमा मिलिसकेको वस्तु पछि खोजेर पुनस्र्थापित गरिएपनि त्यो प्रश्नै प्रश्नको जालोभित्र जेलिएको छ । कसैले हाम्रै हो भन्छ, कसैले हाम्रो होइन भन्छ । कसैले यस्तै थियो भन्छ, कसैले यस्तो थिएन भन्छ । यसको रुप, आकार, सौन्दर्यता, विशेषतामाथि प्रश्न उठाइएको छ ।

अब अलिकति गम्भीर भएर एकपटक कल्पना गरौ । अबको सय, डेडसय बर्षपछिका दिनमा तामाङ सन्तानले तामाङ भाषा, संस्कृति, कला, ज्ञानलाई बचाएर निरन्तरता दिन सक्ला ?मेरो अनुमानले भन्छ– यो सम्भव छैन । ल्होछारको बेला एकदिन तामाङ गोइलोमा नाचेर संस्कृति बच्दैन । घेदुङको २, ४ जना अभियन्ताहरु कराएर यसलाई बचाउन सक्ने छैनौ । हाम्रो स्रोतसाधन, प्रकृतिमाथि दिनप्रतिदिन हस्तक्षेप बढ्दैछ । हामी आफ्नै बनपाखा, घरगाउँमा अल्पमतमा पर्दैछौ । आफ्नै घरमा बिरानो हुँदैछौ । हाम्रा पुर्खाहरु आफैले पालेका जनावर, खोला, पखेरी, पधेरीसँग कुरा गर्नु हुन्थ्यो । आज ती प्रकृतिसँगको अन्तरक्रिया, सम्वाद टुटेको छ ।आधुनिकताको नाममा हामी संसारीकरण र बजारीकरणको चपेटामा पर्दैछौ । यतिबेला विश्व साम्राज्यवाद र पुँजिवादको डरलाग्दो हावा बहेको छ । हामीलाई त्यही हावाले उडाउँदैछ । कति उडिसक्यो, कति उड्न नमान्ने महरु पनि लड्खडाइरहेका छन् ।एक्काईसौ शताब्दीको साम्राज्यवाद सिधै लालपूर्जा खोस्न आउँदैन । उसले हाम्रो प्राण झिकेर मुठिमा राख्छ र हामीलाई तामाङ दृष्टिकोणले हेर्दा प्राणहीन बनाईदिन्छ । साम्राज्यवादले हाम्रो नयाँ पुस्ताको जिब्रोबाटतामाङ शब्दहरु खोसेरअंग्रेजी शब्द टंकन गराईरहेछ । अंग्रेजी भाषा बोल्ने सभ्य र तामाङ भाषा बोल्नेहरु असभ्य हुन् भन्ने मान्यताले ठाउँ पाउदैछ । हामीले हजारौ बर्षदेखि खादै आएको ढिँडो, भल्डु, बाबर आज हाम्रो आफ्नै जिब्रोलाई नमिठो लाग्न थालिसक्यो ।

बहुराष्ट्रिय कम्पनीको उत्पादनहरु जंक फुड र प्याकेजिङवाला रेडिमेड खानाले हाम्रो जिब्रोलाई लट्याउँदैछ । हाम्रो चुलोमा हाईब्रिड उत्पादनहरु पाकिरहेको छ । अन्तर्राष्ट्रिय कम्पनीको हाइ भोल्टेज विज्ञापनबाट भित्रइएको ब्रान्डेड रक्सीबाटहाम्रो पुर्खाको ज्ञानबाट बनेको कोदोको आइरक लोप हुने खतरामा छ । हामी खान नपाएर होइन, आइफोन बोक्न नपाएर गरीब, दुःखी भएका छौ । हाम्रो ज्ञान र प्रविधिबाट पुर्खाले बचाएर राखेको लोकल जातको बीउ बिजनहरु फापर, कोदो, गहत, घैया, जौलाई हाइब्रिड बीउले सिध्याउदैछ । हामी एकदिन अन्तर्राष्ट्रिय कम्पनीले एकसालको लागि मात्र उत्पादन हुने हाईब्रिड बीउ पठाए बाँच्ने, नपठाएर भोकभोकै मर्ने दिनमा पुग्दैछौ । हाम्रो आउने पुस्ता कलमी आँपको रुपमा जन्मिदैछन् । विश्व पुँजिवादी उत्पादनले हाम्रो नयाँ पुस्ताको खाने, बोल्ने, सोच्ने सर्वाङिण मनोविज्ञानलाई नै प्रभावित गरिरहेको छ ।जसको जरा तामाङ भएपनिहाँगाबिगा तामाङको रुपमा पलाईरहेको छैन । यस्तो स्लो पोइजनको रुपमा भित्रिदै गरेको मिहीन कुराहरुतर्फ हाम्रो ध्यान गएको छैन । मनतातो पानीमा भ्यागुताले आनन्द मानेर बस्दा एकैछिनमा पानी उम्लिन थालेपछि मरे जस्तै विकासको नाममा हाम्रो विनाश हुँदैछ ।

यस्तो चौतर्फी आक्रमणबाट तामाङ जीवनलाई बचाउन दबाब समूहको रुपमा स्थापित घेदुङ जस्तो सामाजिक संगठन र ताम्बा, लामा, बोन्बोहरुको पहलबाट मात्रै सम्भव छैन । यसको संरक्षणको लागि ताम्सालिङ एकमात्र शर्त हो । ताम्सालिङ बिना बर्तमान राज्यसत्ताको किस्तावन्दी वितरणले पनि तामाङलाई बचाईराख्न सम्भव हुँदैन । किनकि यो मुलुक सङ्घीयतामा गएपनि, गणतन्त्रकालमा प्रवेश गरेपनि केन्द्रीय सत्ता सञ्चालकहरु नश्लवादी धङधङीबाट मुक्त छैनन् । उनीहरु एकापट्टि दिएजस्तो गर्छन्, अर्कोपट्टिबाट खोसि रहेका हुन्छन् । सोनाम ल्होछार पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छन् तर त्यो पर्वको आधिकारिक तिथि तोक्ने मञ्जुश्री सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिँदैनन् । यसरी हामीहरुएकातिरतामाङ जीवनको नट कस्दै जान्छौ तर अर्कोतिरको नट राज्यले ढिला गरिदिन्छ । यसकारण तामाङको सबैपक्षको नट कस्ने, बलियो बनाउने भनेको ताम्सालिङ प्राप्तीबाट मात्रै सम्भव छ । यसको लागि ताम्सालिङ प्रदेश निर्माण गरी मुख्यमन्त्री सहित बहुमत सांसद ताम्सालिङ पक्षधर हुनु आवश्यक छ । यो भयो भने शान्तिपूर्ण ढंगबाटै हाम्रो साँस्कृतिक मूल्य, मान्यता राज्यको दस्तावेजमा कानुनद्वारा संरक्षित हुनेछन् । यदि यो नभए द्वन्द्ववादी सिद्दान्त अनुसार तामाङ बिद्रोहबाट ताम्सालिङ निर्माण गर्नु र तामाङ जीवनलाई बचाउनुको बिकल्प हुनेछैन । त्यो ताम्सालिङ राजनीतिक संघर्षबाट मात्रै स्थापित हुनेछन् । ल्होछारमा नाचेर, गीत गाएर पाईदैन । अन्यथा, केपी ओलीजीले साम्यवाद सुन्दर सपना भने जस्तै ताम्सालिङ पनि तामाङको लागि सुन्दर सपना मात्र हुनेछ । धन्यवाद ।।

Comments

comments