बुबा माईला तामाङ र आमा सञ्चरानी तामाङको कोखबाट २०३५ साल बैशाख ११ गते तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा जन्मनु भएका विकुलाल तामाङ ६ नं. वडाका वडा अध्यक्ष हुन् ।
२०७४ साल जेष्ठ ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट उम्मेदवार भइ विजय प्राप्त गरेका तामाङको राजनीतक यात्रा २०४९ सालमा नेपाली काँग्रेस पार्टीको कृयाशिल सदस्यता लिएसँगै शुरुवात भयो । तामाङ २०६१ सालमा ठूलोपर्सेल गाउँ इकाई समितिको सह–सचिवमा निर्वाचित भएक थिए भन २०६५ सालमा गाउँ इकाई समितिको महासचिवमा निर्वाचित भएपछि २०७१ सालमा इकाई समिति सभापति भएका थिए ।
उनी हाल पार्टीको वडा नं. ६ को गाउँ इकाई समिति सभापति समेत हुन् ।
वडाको योजना निर्माणदेखि कार्यन्वयन, विकास र समृद्धिकै सेरोफेरोमा बसेर वडा अध्यक्ष तामाङसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

० वडाध्यक्षमा निर्वाचित भएदेखि आजसम्मको अनुभव बताईदिनुहोस् न ।
– शुरुको एक वर्ष विभिन्न संरचनाहरु कसरी निर्माण गर्ने र निती नियमहरु कसरी बनाउने, वडाको समस्याहरु पहिचान गर्ने, समाधानको उपाय खोजतलास गर्ने कार्यमा नै वित्यो । समस्याहरुसँग झेल्दै पनि आयौं र समस्या समाधानका केही उपायहरु पनि हामीले पहिचान गर्दै र बुझ्दै आयौं ।
राज्य व्यवस्थाकै नयाँ संरचनामा आउँदैगर्दा आवश्यकता अनुसारको संरचनाहरु निर्माण गर्दै अगाडि बढ्यौं । चुनौति र सम्भावनाको बीचबाट सबै प्रकारको अनुभवहरु बटुल्दै आजको अवस्थासम्म आईपुगेका छौं ।
० वडामा अहिलेसम्ममा विषयगत हिसावले के–के काम भएको छ ?
– म निर्वाचित भएपछि वडामा शाखा सडकहरु प्रायजसो सम्पन्न भएको छ । गाउँटोलहरु सडक सञ्जालले जोडिएको छ । वडा कार्यालय भवन निर्माण तीब्र गतिमा भइरहेको छ । यो आर्थिक वर्ष भित्रै सम्पन्न हुँदै छ । त्यसै गरि ठूलोपर्सेल स्वास्थ्य चौकीको पक्की भवन पनि निर्माण प्रक्रिया अगाडि बढीसकेको छ । कुन्छाङ देछेनलिङ गुम्बा मर्मत, दहसंस्कार गर्ने स्थानमा भवन निर्माण, विभिन्न मन्दिरहरु मर्मत कार्यहरु सम्पन्न गरेका छौं ।
यस वडाका प्रत्येक घरपरिवारलाई फलफूल बोटविरुवा वितरण तथा तालिम कार्यक्रमहरु सञ्चालन गरेकाछौं । अमिलो फलफूलबाट बन्ने खानेकुराका विभिन्न परिकार तथा अचार बनाउने तालिम सञ्चालन गरेर आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यहरु गरेका छौं । वडा भित्रका कृषि सहकारीहरुलाई तालिमको व्यवस्था पनि गरेका थियौं ।
सामाजिक विकास अन्तर्गत वडा भित्रका सबै प्रावि तहमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीको प्रतिभा प्रष्फूटन गर्ने कार्यहरु सम्पन्न गरेका छौं । वडा भित्रका सबै विद्यालयका सबै शिक्षकहरु सहभागी गराई नमुना विद्यालय अवलोकन गर्ने कार्य गरेका छौं । जस्को कारण विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न टेवा पुगेको छ । आधारभूत तहका विद्यार्थीहरुको परिक्षा लिई अन्तर विद्यालय कपि परिक्षण गरी विद्यार्थीको वास्तविक सिकाई उपलब्धी पत्ता लगाउने र प्रतिस्पर्धात्मक सोंचको विकास गरायौं । उत्कृष्ट विद्यार्थीको पहिचान गर्ने कार्य वडाले गर्दै आएको छ ।
विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरुबीच शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अन्तरकृयात्क कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । वडा भित्रको खानेपानीको समस्याहरुको सन्दर्भमा जनताको माग र आवश्यकता अनुसार योजना निर्माण गरि कार्यन्वयन गर्दै आएका छौं ।
वडामा मध्यपान, धुम्रपान तथा जुवातास नियन्त्रण गर्न विभिन्न कार्यहरु गर्दै आएको छौं र यसलाई निरन्तरता दिने पनि छौं ।
० वडा भित्रमा योजनाहरु निर्माण गर्दा कसरी गरिरहनुभएको छ ?
वडा भित्रका योजनाहरु निर्माण गर्दा हामीले साविकको वडाहरु, टोलहरुको भेलाबाट योजनाको छनौंट हुन्छ । ती योजनाहरु हामीले वडामा केन्द्रित गर्ने गरेका छौं । सोही गाउँ वा साविक वडाका जनताहरुलाई नै बोलाएर प्राथमिकताको आधारमा योजना तर्जुमा (निर्माण) गर्ने गरेका छौं । व्यापक जनताको सहभागीतामा नै योजना निर्माण गर्ने वातावरण बनाउँदै आएकाछौं । जनताले बनाएको योजनालाई नै वडाले गाउँपालिकाम पेश गरेका छौं ।
० योजना निर्माणमा सहभागी हुँदा जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
जनताले आफ्नो वडाको योजना आफैले निर्माण गर्न पाउँदै धेरै नै खुशी भएको पाएको छु । जनताको सहभागीतामा योजना निर्माण भएपछि कार्यन्वयनमा पनि कुनै प्रकारको समस्याहरु आएको छैन ।
० जेष्ठ नागरिक, असहय, अपांगता भएका व्यक्तिहरु र दलितहरु लक्षित कार्यक्रमरु वडामा के के भएको छ त ?
हामीले वडा भित्रका जेष्ठ नागरिकहरुको भेला गराई राज्यबाट जेष्ठ नगारिकहरुले पाउने सेवा सुविधा वा सामाजिक सुरक्षा भत्ता कहिले कसरी पाउन सकिन्छ भन्ने कुराको बारेमा अन्तरकृया कार्यक्रम गरि स्पष्ट पार्ने काम गरेका छौं । यस्तो खालको भेलामा वडा भित्रका सवैभन्दा जेष्ठ पुरुषमध्यबाट एकजना र महिला मध्यबाट एकजनालाई सम्मान गर्दै आएका छौं । घर घरमा जेष्ठ नगारिकहरुलाई सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्दै आएका छौं ।
वडा भित्रका अपांगता भएका व्यक्तिहरुको पहिचान गरि पहिला नै परिचय पत्र प्राप्त गर्ने व्यक्तिहरुको नविकरण, आवश्यकता पहिचान गरि ग्रेडबृद्धि गर्ने र परिचयपत्र प्राप्त हुन बाँकीहरुको लागि आवश्यकता र अवस्था अनुसारको परिचयपत्र वितरण हालै सम्पन्न गरेका छौं । त्यसैगरि अपांगता भएकाहरुको हकहितका लागि वडा स्तरीय अपांगता समिति गठन गर्ने र समय समयमा वैठकहरु सञ्चालन गर्दै आएका छौं । अपांगता भएकाहरुको लागि आवश्यकता अनुसारको विभिन्न सामग्रीहरु पनि वितरण गरेका छौं ।
दलित लक्षित कार्यक्रमहरु पनि हामीले वडा भित्र सञ्चालन गर्दै आएका छौं । दलित समुदायको भेला तथा अन्तरकृया गरि आयआर्जनका लागि आवश्यक सामग्रीहरु वितरण गरेका छौं । सो क्रममा लुगा सिलाउने मेसिन र वेल्डिङ मेसिन र ग्रेन्डर मेसिन वितरण गरेका छौं ।
० वडाको विकास निर्माण तथा योजनाहरुमा राजनीतिक दलहरुको सहयोग कस्तो पाउनु भएको ?
सबै राजनीतिक दलहरुको सहयोग राम्रै पाएको छु । वडा भित्रको योजना तर्जुमा एवं छनौट तथा बजेट तर्जुमा गर्दा राजनीतिक दलका स्थानीय नेताहरुसँग परामर्श तथा अन्तरकृया गर्दै आएकोले मैले सोचे अनुसार नै उहाँहरुबाट सहयोग पाउँदै आएको छ । त्यति मात्र होइन, योजना कार्यन्वयन गर्दा पनि उहाँहरुकै सल्लाह सुझाव र सहभागीतामा गर्ने गरेका छौं । त्यसैले आजसम्म राजनीतिक दलहरुको सहयोग मैले पाउँदै आएको छ ।
० चालु आर्थिक वर्षमा वडा भित्र के–के योजनाहरु रहेको छ त ?
वडा भित्र चालु आर्थिक वर्षमा २९ वटा योजनाहरु रहेका छन् । जस अन्तर्गत भैतिक पूर्वाधार विकासमा सडक निर्माण, सडक मर्मत, भवन निर्माण गरि ७ वटा योजनाहरु रहेका छन् ।
आर्थिक विकास अन्तगर ३ वटा योजना हरुरहेका छन् । सामाजिक विकास अन्तर्गत १८ वटा योजना रहेको छ भने डिपिआरको योजना एउटा रहेको छ ।
० चालु आर्थिक वर्षको योजना कार्यन्वयनको अवस्था कस्तो छ ?
वडा भित्र रहेका सबै योजनाहरु संझौता भइसेकेको छ । कार्यन्वयनको अवस्था हर्ने हो भने यो पटक हामीले चाँडै नै कार्य सम्पन्न गर्ने लक्ष राखेका छौं । ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । अन्य योजनाहरुको कार्यन्वयनकै अवस्थामा छ ।
० पारदर्शीता र सुशासन कायम गर्न के के गर्नु भएको छ ?
प्रत्येक आर्थिक वर्षको अन्तिममा हामीले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएका छौं । सम्पुर्ण वडाबासी तथा सरोकारवालाहरुको सहभागीतामा वडा भित्रको विभिन्न योजनाहरुको सार्वजनिक सुनुवाई गरेका छौं । सार्वजनिक सुनुवाई कार्यक्रममा योजनाका यथर्थ आयव्यय विवरण प्रस्तुत गर्ने गरेका छौं । जनताको गुनासो, समस्या र सल्लाहसुझाव लिई अर्को आर्थिक वर्षको योजनामा कमजोरीहरु सुधर्दै जनताको अपेक्षा पूरा गर्ने प्रयत्न गर्दै आएका छौं । वडामा पारदर्शीता र सुशासन कार्यम गर्न निमय कानून अनुसार आवश्यक गतिविधि गरेका छौं ।
० अन्तमा वडावासी जनताहरुलाई के भन्ना चाहनुहुन्छ ?
सबैभन्दा पहिला त वडामा विनियोजित भएको सम्पूर्ण कार्यक्रमहरुको कार्यन्वयनको विषयमा सल्लाह, सुझाव दिनुहुन म अनुरोध गर्दछु । तपाईंले चाहेको वा सोचेको योजना यो आर्थिक वर्षमा नपरेको पनि हुनसक्छ । यो आर्थिक वर्षमा समेट्न नसकेको कुनै योजना छ भने अर्को आर्थिक वर्षमा समेटेर लैजाने कोसिस गर्नेछु । हाम्रो वडाको आवश्यकता र समस्याको पहिचान गरि तपाईंकै सल्लाह सुझावमा म अघि बढ्नेछु ।

Comments

comments