फाल्गुन १३ गते पनि इलाका प्रहरी चौकी मङ्गलटारमा नै राख्यो । अहिलेको नजिकैको हाइस्कुलमा विद्यार्थीहरुको होहल्ला राम्रैसँग सुनिन्थ्यो । चर्पी जान रोशी किनारतिर जानुपर्ने । चौकिमा चर्पी थिएन सायद । हवल्दारको नेतृत्वमा अरु ३।४ जना जवान प्रहरीहरुको निगरानिमा दिसा पिसाब गर्नु पर्थ्यो ।
म भाग्छ कि भन्ने चिन्ता रहेछ । म भाग्न सक्ने अबस्थामा थिएन । पहिलो कुरो बर्दिधारी प्रहरीको घेरामा, दोस्रो स्वयम् म शारीरिक रुपमा सिथिल थिए । वरिपरि बजारतिरका मानिसहरुले पलक पुलुक हेर्थ्यो मलाइ ।
एक जना बूढो मान्छेले सोध्दै थियो । मान्छे त सानै रहेछ कसको संगतमा माओवादी भएछ ? सायद ती बुढा मान्छेले प्रहरीहरु प्रायः चिनेकै होलान् । सँगैैका प्रहरीले भन्दै थियो, ‘कस्ले बनाउनु, कोशिपारी चौंरीका यान प्रसाद गौतम र चलाख सिङहरुको सङ्गतमा होला नि, यो विद्यार्थीको नेता रहेछ, दौलत सिंको घर लुट्न यिनीहरु सहभागी थियो । मलाई रिस पनि उठेको थियो तर चुपचाप रहे । तिनको मुखमा थुक्न मन लागेको थियो ।
फाल्गुन १३ गते मंगलटार चौकीमै राख्यो । दिनभर सोधपुछ र केरकारमा रमाइलो मनायो तिनीहरुले । एक जना प्रहरी आउँछ एक लात दिएर जान्छ, अर्को आउँछ ‘तै होइनस माओवादी’ भनेर फेरि लात हानेर जान्छ । एवंरितले तिनीहरुको दिनभरिको ड्युटी मलाई लात हान्नु फर्किनु जस्तै भयो । रिस पनि कति उठेको के यी अर्कै ग्रहबाट आएका मानव त होइनन् भन्ने प्रश्न मनमा खेलिरह्यो ।
१४ गते बिहानै धुलिखेलमा चलान गर्यो । त्यही हिजोका १७ जनाको टोलि खडा भयो । सायद चौकीका इन्चार्ज होला । आदेश दिदै थियो ‘दायाँबायाँ भयो भने सुट गरिदिनु ।’ सुट भनेको मैले खासै बुझ्न सकेन । धेरै पछि थाहा भयो सुट भनेको मार्नु भनेको रहेछ । मंगलटारबाट बिहान ७ बजे हिड्यो होला सायद । किनकी भरखर घामको रातोपना बगरतिर छरपस्ट देखिन्थ्यो ।
जिउमा एकसरो सर्ट, पइन्ट र कपडाकै निलो जुत्ता थियो खुट्टामा । बाटोमा खासै दुख दिएन काभ्रेको दाप्चासम्म पैदल हिडायो । त्यहाँ प्रहरीको भ्यान तयारी अबस्थामा रहेछ । जिल्ला प्रहरी कार्यालयबाट पनि थप ८, ९ जनाको टोली आएका रहेछन् ।
खासै म धुलिखेल सदरमुकाम पहिला आएकै थिएन । गाडिमा चढायो । ‘ओइ, बस्नेत माओवादी गाढीबाट भाग्ला है चनाखो हुनु’ अगाडी ड्राइभर बस्ने क्याबिनबाट भुडिवालाको आदेश थियो । झन्डै डेढ घन्टाको भ्यानको यात्रा सकियो । जिल्ला प्रहरी कार्यलयमा गाडी रोकियो ।
मलाई हथकडी सहित ओराल्यो । सरासर एउटा सजिसजाउ कोठामा लगियो । ‘ल भोक लाग्यो होला नेतालाइ कालो सेतो कुन चिया खाने’ भनेर अगाडि घुम्ने मेचमा बस्ने लामो लामो जुँघावाला प्रहरीले भन्यो ।
अगाडि दूधचिया एकगिलास राख्यो । अनि सोध्न थाल्यो ‘ल भन तिम्रा कमान्डरहरु कहाँ कहाँ छ, दौलतको सामानहरु, पैसाहरु कता लुकाइस्, सत्य सत्य बोल्नु तिम्लाई छोड दिन्छौ ।’ ‘मलाई थाहा भए पो भन्नू’ मैले यहि जवाफ दिए । ‘यदि त्यसो हो भने तिमीहरु कति जना गएको थिईस् ? याने कता छ ? तिम्रो दिदी सङ्गिता दोङ कता छन् ?’ त्यसबेला मेरो आफ्नो दिदी पनि प्रहरी र स्थानिय काँग्रेसी गुन्डाहरुका धरपकडका कारण भुमिगत भैसकेको थियो । सायद पार्टी सम्पर्कमा थियो । जब तिनको केरकारमा मबाट कुनै कुराको चित्तबुझ्दो जवाफ नआएपछी २ जना भुसतिघ्रे प्रहरीहरुले कठबासको लौरोले हिर्काउन थाल्यो ।
‘भन्छस् कि पिटाइ खान्छस् ?’ ‘जे हो त्यति हो म अखिल क्रान्तिकारीका सदस्य हुँ ।’ तिनीहरु झन् झन् रातोपिरो हुँदै गयो रिसले । यति रिसायो कि मंगलटारका प्रहरीहरु भन्दा जिल्लाका तेब्बर रिसाहा हुदारहेछन् जस्तो लाग्यो । मानौ जति रिसाउन सक्यो जति पिटन सक्यो त्यति सक्षम होला भन्ने पनि लाग्यो ।
‘साला डाकाहरु ! तिमीहरुले गर्दा हाम्रो निन्द्र भोक सबै हरायो ।’ लौरोले जिउमा बजार्दै कराउदै थियो । मैले सोचे ‘प्रतिक्रियावादी सत्ताको निन्द्र बिगार्न जनयुद्ध सफल पो भएछ ।’
‘सत्य बोल क्रान्तिकारी ! नत्र गोर्खामा जस्तै ज्यान जाला जुँघावालाको धम्की थियो । त्यही दिन अर्थात फाल्गुन १४ गते गोर्खाका कक्षा ४ मा पढ्ने विद्यार्थी दिल बहादुर रम्तेल मारिएको रहेछ, पछि थाहा भयो ।
११ बर्षको सानो मान्छे तर जनयुद्धको प्रथम सहिद । ‘माओवादीको कोको चिन्छस् ? बाबुराम भट्टराई कता छ ?’ मैले बाबुराम देखेको एकपटक म ट्युसन पढ्न आउँदा मशाल जुलुसमा पाटनमा देखेको थियो । एक्कासि बाबुरामको नाम सुन्दा निकै खुसी पनि लाग्यो । मलाइ कुनै थाहा थिएन मेरो आफ्नो गाउँका चिनेका नेताहरुको नाम सोध्दै थियो ।
पालैपालोको पिटाइले होला म बेहोस भएछु । बिउँझिदा उहीँ मंगल्टारको जस्तै खोरभित्र रहेछ । बिउँझिदा मेरो मुखबाट पानी… पानी … आवाज आएछ । सायद एक जना चिनजान स्वरबाट ‘सर, रक्तिम होसमा आयो, पानी खाने रे !’ ड्युटीमा रहेका हवल्दारलाई जानकारी दिदै थियो । ‘ए, जिउदै छस् ? त्यही बाल्टिनमा छ त पानी, त्यही पिलाउनु ।’
बाल्टिनतिर यसो हेरेको सबै थुनुवाहरुले पिसाब त्यही बाल्टिनमा गर्दोरहेछ । दिसा लाग्यो भने चाहिँ निकै अनुरोध पछि ट्वाइलेट लादोरहेछ नत्र त्यहीं । दायाँबायाँ हेरेको कोहि परिचित कोहि अपरिचित । स्वयं दौलत सिं दोङकै जेठा दाजुका काइलो छोरो मानकाजी दोङ पनि त्यही रहेछ । उहाँ त्यसबेला ५५ बर्षको वृद्ध हुनुहुन्थ्यो । उहाँ अध्यात्मिक चिन्तनको भए पनि माओवादी भनेपछि माया गर्नु हुन्थ्यो ।
सामान्य किसानी पेशा । उहाँलाई माओवादीको प्रशिक्षण कार्यक्रम हुँदा सहयोग गरेको भनेर ल्याएको रहेछ । कोशिपारी चौंरीका मानिसहरु पनि थियो । तिनीहरुलाई आगजनी र दौलतकै घरमा डाँका मार्न आएको आरोप रहेछ अर्थात सबै माओवादीकै मुद्दामा ल्याएका रहेछन् ।
अलि हिम्मत बढ्यो मेरो । किनकी ३ दिनसम्म म एक्लो थिएँ, अब त बहुमत पुग्यो जस्तो लाग्यो । संकटमा पनि बर्गिय प्रेम र क्रान्तिप्रतिको निश्ठा झन् कसिलो भयो । रात छिपीसकेको थियो । पालैपालो केरकार शाखामा लान्थ्यो ।
साथीहरु जति जना केरकारमा गएर फर्किन्थ्यो सबै प्रायः लास भएर खोरमा थान्क्याउँथ्यो । म त उठ्न सक्ने अबस्थामै थिएन । तर घिसारेर लान्थ्यो। के के प्रश्नहरु सोध्थ्यो मबाट कुनै गतिलो उत्तर नभेटे पछि पैतलामा रबर्टले चुट्थ्यो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।